कला

आज म कस्तो हुन्थे होला ?

कविता

रमेशचन्द्र  अधिकारी  

 

ऊ बेला  

 सानै छँदा  

धागोले बाँधेर उखेलेको दाँत  

डल्लो पारेर गोबरमा धुरी कटाइन्थ्यो,

अनि रोमाञ्चित भइन्थ्यो,

छुट्टिन खोज्नेहरूसँगको बिदाइ  

नरमाइलो नभएजस्तै।

 

धुरीबाट कराउने पापको  

छायाको आकार नियाल्ने  

असफल प्रयास गरियो कैयन पटक  

छानैमाथि चढेर।

 

पानीमा आहाल बसेका  

भंैसीका जिउमा झुन्डिएका भ्यात्लुङहरु  

हातले तानेर  

छोपिन्थ्यो नुनले  

छिनभरमै  

नुनिलो नुनमा नुनिलै खुन मिसिन्थ्यो  

अनि चहरयाउँथ्यो मनको कुनाकानी।

 

अवसरहरूले पनि खराब नियत राखेर हुनुपर्छ सायद  

हातहरू आउँथे खेलहरूमा  

साथी बनेर  

तानेर पछार्थे अनि आउट पार्दिन्थे  

छुवाएर रेखा।

 

झोकहरूको हुरी चल्थ्यो त्यतिबेला  

जतिबेला  

माछालाई थापेको लोथामा  

उनिन आइपुग्थ्ये ब्याङ्गनाहरू  

अनि बजाइन्थ्यो भकुन्डोलाई झैं लात्तीले ,

भ्यागुतो बनेर उनिन आइपुग्थ्यो भाग्य ,

माछो – माछो भ्यागुतो ....... ।

 

चोके पसेका ,

अप्ठेरा अनि अभावहरूले घोचेका  

खतहरू प्रष्टै छन् खुट्टामा,

हातमा, शरीरभरि  

जिन्दगीका नपुरिने डोबहरू।

 

यादहरू नाच्ने आँखामा  

नाचिदिन्छन् यादहरूका चित्र

जस्तो कि  

लाज र डरलाई खल्तीमा राखी  

कैयन पटक  

कक्षाकोठामा कुखुरा बनियो ,

भ्यागुता बनियो  

रमाएरै।

आजभोलि सोच्ने गर्दछु  

माउसुली भई  

पुच्छर खसाएर हिँडेको भए ऊ बेला  

आज म कस्तो हुन्थे होला ?

प्रकाशित: २ असार २०७८ ०८:३४ बुधबार

अक्षर