आफू आमा भइसकेपछिका हरेक वर्षझैं मेरा लागि सामान्य रहेन यसपालिको मातातीर्थ औंसी। असामान्य हुँदा अझ बढी चिज हुने रहेछ। भर्खर चार वर्ष लागेकी छोरीलाई उनको बालसुलभ मस्तिष्कमा संस्कृतिबारे ज्ञात गराउन खोज्ने म, न त छुनै पाएँ, न त मुख देखाउनै पाएँ। बस् उनले टाढाबाट हामी आमाबाको अर्धअनुहार हेरिन्। मातातीर्थ, कुसेऔंसीआदि पर्व नबुझ्ने हाम्री छोरीका लागि सायद, हामी निको भएर मास्क खोलेको दिन सबै चाडपर्वको ओइरो लाग्छ होला। किनकि हामी दुवै कारोना संक्रमित।
अहिलेको यो जटिल अवस्थामा घरबाट शिक्षा आर्जन गर्न या कामको सिलसिलामा टाढा बसेका अधिकांश परिवारको कथा हामीले भोगेको जस्तै अवस्था होला। अभिभावक संक्रमित भए बच्चा कसरी जोगाउने ?, बच्चा संक्रमित भएँ के गर्ने ? घरका सबै संक्रमित भए के गर्ने ? गर्भवती महिला, वृद्धवृद्धा कसरी जोगाउनेजस्ता असंख्य चिन्ताका विषय बनेको छ। यसो हेर्दा महामारीले शारीरिक चिन्ता त छँदै छ, थुप्रै मानसिक चिन्ता उत्पन्न गर्न पनि मलजल गरेको छ।
अवश्य पनि हाम्रो तत्कालीन परिस्थितिमा यो सार्थक भएझैं लाग्छ। हामी चाल्र्स डार्विनको सिद्धान्त ‘जो जुध्न सक्छ, त्यही बाँच्छ‘ सार्थक पारिरहेका थियौं। हामी रोगसँग जुध्दै थियौं भने छोरी परिस्थितिसँग जुध्दै थिइन्।
हामी दुवै कोभिड संक्रमित भएपछि अब बच्चालाई कसरी जोगाउने भनेर एकातिर चिन्तित भएका थियौं भने अर्कोतिर तत्कालीन समयमा छोरी स्वस्थ छिन् भनेर ढुक्क पनि थियाैं । हामीलाई लक्षण देखिएर शंका लाग्नेबित्तिकै हामीले सुरक्षाका उपाय अपनाउन थाल्याैं। उनले खाने र हामीले खाने भाँडा, मन्जन, टावेल अलग पार्यौं। उनलाई खाना खुवाउँदा फेससिल्ड, डबल मास्क, पन्जा र सुरुको एक हप्ता त हेलमेटसम्म लगाएर खुवायौं। ऊ बेग्लै कोठामा बस्ने, खेल्ने, खाने र सुत्ने गर्न थालिन्। मामुबिना एकछिन बस्न, सुत्न नसक्ने छोरी एक्लै सुतेको देख्दा मन भक्कानिएर आउँथ्यो तर उनी हाम्रा मातृसुखबाट अलग रहेर लडिरहेकी छिन् भने हामीले वात्सल्य प्रेमलाई अँगालोमा बेर्ने चाहना हुँदाहुँदै पनि उनका त्यो प्रेमलाई परैबाट हेरेर मनमा दबाएर राख्थ्यौं। सानैबाट उनलाई हामीले सिकाइमा कन्जुस्याइँ नगरेकाले होला, उनले त्यो असामान्य वातावरणलाई सामान्य बनाउनमा होस्टेमा हैसे गरिन्।
मारिया मोन्टेस्वरीका अनुसार, ‘बच्चाले आत्मनिर्भरतालाई अनुभव गर्दै हुर्किनु एउटा खेल मात्र होइन। यो एउटा यस्तो कार्य हो, जुन उमेरसँगै पूरा गर्दै जानुपर्छ।’ यसका लागि बच्चालाई माया, स्नेह, उचित शिक्षा, प्रभावकारी मार्गनिर्देशनको आवश्यकता पर्दछ। बच्चालाई तिमी सानै छौं भनेर हत्तोसाहित गर्नुभन्दा आफू पनि संलग्न भएर प्रोत्साहित गर्नाले आत्मबल बढेर आउँछ।
कोरोनाको पहिलो लहर सुरु भएदेखि नै हामीले छोरीलाई कोरोना के हो ? कसरी सर्छ ? यसबाट बच्नका लागि केकस्ता उपाय अपनाउनुपर्छ भनेर सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइरहेका थियाैं। अझ अहिलेको परिस्थितिमा कोभिडबारे बच्चालाई ज्ञान दिन अत्यन्त आवश्यक देखिन्छ। विभिन्न वैज्ञानिकहरूको प्रक्षेपणअनुसार कोरोना सातौं लहरसम्म चल्ने कुरालाई आत्मासात् गरी बच्चालाई मानसिक र शारीरिक रूपमा बलियो पार्न कोभिडसम्बन्धी ज्ञान अनिवार्य रहेको छ।
कुनै पनि घटना घट्न नदिनु महत्वपूर्ण हो। तर यदि घटिहाले त्यसका लागि कसरी आफू पूर्वतयार रहने भन्ने कुरालाई ध्यानमा राखेर छोरीलाई हरेक दिन, प्रत्येक गतिविधिबाट ज्ञान दिन थाल्याैं। खाना खानु र खाइसकेपछि साबुनपानीले हात धुने, बाहिरबाट सामान ल्याइसकेपछि सिधै नछुने, खाद्यान्न घामले देखिने ठाउँमा राख्ने र प्याकेटका सामानलाई साबुनपानीले धोएर प्रयोग गर्ने विधिमा उनलाई पनि सामेल गराउन थाल्यौं। जसले गर्दा उनले ज्ञान र मनोरञ्जन दुवै पाइन्। कोरोनाको चित्रलाई रंग लगाउन दिँदै यो भाइरस आएको छ, हाच्छ्युँ आउँदा कुहिनाले मुख छोप्ने वा टिस्युले पुछेर डस्बिनमा फाल्ने, बाहिर हिँड्दा मास्क लगाएर हिँड्ने र हातले आँखा, नाक, मुख छुनुहुँदैन, घरमा गएर साबुनपानीले हात धोेएर मात्र छुने, त्यसले भाइरसलाई ढिसिऊ पारिदिन्छ भनेर सिकायौं।
कहिलेकाहीँ अफिसमा अन्य संक्रमित हुँदा शंका लागेर आइसोलेसनमा उनको बाबा बसेका बेला उहाँको रुममा जानुहुँदैन। कोभिड भाइरस छ, बाबालाई नछोऊ, भाइरसलाई ढिसिउ पारेपछि छुनु भन्दा उनी भाइरस लाग्दा छुनुहुन्न र नजिक जानुहुँदैन भनेर बिस्तारै व्यावहारिक ज्ञानमा परिपक्व हुँदै गइन्। हरेक दिन हामी बाहिर जाँदा मास्क, फेससिल्ड, पन्जा लगाएको देखेकी छोरीले यो कोरोनामय वातावरणलाई बिस्तारै सहज रूपमा लिन थालिन्।
हामीले बच्चा सानै छ र के बुझ्छ ? भनेर गुजी, किरा या अन्य शब्द प्रयोग गरेर बच्चालाई बुझाउनु भन्दा पनि भ्रममा राख्ने कोसिस गर्छौं। जसले गर्दा बच्चाको ज्ञानको दायरा सीमित त हुन्छ नै तर त्यस अर्धज्ञानबाट निस्कन बच्चालाई सकस पनि पर्दछ।
हामीले बच्चालाई सिकाउँदा सही शब्द, सही ज्ञान, सही उच्चारण गर्न अत्यन्त जरुरी छ। जसले गर्दा उनी बिस्तारै ती शब्दलाई जोड्न, खेलाउन सक्षम हुन्छन् र हुन्छिन्। बच्चाले आज नबुझ्ला तर बिस्तारै उसको त्यस ज्ञानले अज्ञात मस्तिष्कमा सही ज्ञानको बिउ भने पक्कै उमार्न सहयोग पुर्याउँछ।
छोरीले पनि हामीले समयसमयमा दिएको ज्ञानको उपयोग गर्न थालिन्। हाम्रो कोठामा आउनु अगाडि नक गर्ने, फेससिल्ड खोलेको देखे ढोकाबाट फेससिल्ड लगाउनु म भित्र आउँछु भन्ने, हाम्रो बेडलाई नछुने, हामीले खाना लिएर रुममा आउँदा म अर्को रुममा जान्छु खाइस्यो भन्दै जाने जस्ता व्यवहारले हामीलाई सहज बनायाे र थप ऊर्जा पनि। छोरीले हामीलाई सहज मात्र बनाइनन्, रोगसँग लड्ने ऊर्जा पनि दिइन्। नेपालीमा भनाई छ, ‘छोराछोरी बुझ्ने भए भने आमाबाबुले सुख पाउँछन्’। अनि अवश्य पनि हाम्रो तत्कालीन परिस्थितिमा यो सार्थक भएझैं लाग्छ। हामी चार्ल्स डार्विनको सिद्धान्त ‘जो जुध्न सक्छ, त्यही बाँच्छ‘ सार्थक पारिरहेका थियौं। हामी रोगसँग जुध्दै थियौं भने छोरी परिस्थितिसँग जुध्दै थिइन्।
परिवार, आफन्त, साथीभाइ, छोरीको असहज घडीमा न्यानो साथ पाउँदा एकातिर खुसी, हौसला र रोगलाई परास्त गर्ने आत्मविश्वास पाइरहेका थियौं। अर्कातिर छोरीलाई छुन नपाउनु, टाढाबाट नियाल्नु र उनैको सुरक्षाको लागि हरेक श्वासमा बस्ने छोरीलाई श्वासबाट छेक्नुको दुःख अवर्णनीय छ। तर हाम्रो दुःख र छोरीको दुःख न्यायोचित नै रह्यो किनकि उनी एकदम स्वस्थ छिन्।
काठमाडौंका खुम्चिएका कोठा अनि भाइरसले खुम्चिएको हाम्रो मन। कयौंपटक छोरी लड्दा, रुँदा, एक्लो फिल गर्दा, झ्यालबाट बन्दी जसरी बाटो नियाल्दा बेस्सरी अँगालो मारेर माया गर्न मन नलाग्या कहाँ हो र तर ‘युर आर स्ट्रोङ गर्ल, माई गुड गर्ल’ भनेर सान्त्वना दिँदै टार्नुपथ्र्यो।
यो लेख तयार पार्दासम्म हामी कोरोनाविरुद्ध लडिरहेका छाैं। जिउ नराम्रोसँग दुख्ने, आँखाको नानी झर्ला झैं हुने, टाउको दुख्ने, स्वाद हराउने, जिउ उठाउन गाह्रो हुने, श्वासप्रश्वासमा समस्या हुने जस्ता समस्या बेहोर्नु परे पनि अहिले हाम्रो स्वास्थमा धेरै सुधार आएको छ।
अहिले हाम्रो जस्तो समस्या खेपिरहनु भएका या नखेप्नुभएका अभिभावकलाई के भन्छु भने ‘बच्चा नादान हुन्छन् तर नासमझ हुँदैनन्’ त्यसैले सही साथ, ज्ञान, निर्देशनले ढिलोचाँडो सही ठाउँमा अवश्य पनि त्यस ज्ञानको प्रयोग गरेर बच्चाले धेरथोर सहयोग गर्दछन्। हरेक बच्चा बगैंचाका ती फरक फरक सुन्दर फूल हुन्, जोकोही छिट्टै फुल्छन्, कोही ढिलो तर सबैको काम सुन्दरता ल्याउने हो। तर मालीले ढिलो र चाँडोको विभेद गरेर गोडमेल गर्न छोड्नु भएन। कोरोनासँग र परिवारलाई भेट्न लडिरहेका हरूलाई शीघ्र स्वास्थ्यलाभको कामना।
प्रकाशित: २९ जेष्ठ २०७८ ०३:२४ शनिबार