कला

एक्काइसौं शताब्दी

लघुकथा

ऋषि तिवारी 

 

उनी ज्योतिषी बा । धर्म कर्ममा बढी विश्वास । गाउँघरकै विशिष्ट । उनको धर्म भनेको नै मानव जातको कल्याण गर्ने। उनी अधिक समय चिनाटिपोटमा ध्यान केन्द्रित गर्थे। समय आफ्नो पक्षमा हुँदा साइकल लिएर छरछिमेकी तथा शहरी क्षेत्रसम्म पुग्थे। समयले पर्खाल नाघ्न थाल्यो । उनी बुढा हुँदै गए। घरमै चिना टिपोट बनाउन थाले।

मेरो चिना पनि केरमेट थियो । थोत्रो भैसकेको थियो। नयाँ चिना बनाउनुपर्यो भन्दै पत्नीसँग सल्लाह गर्दै गाउँ जाने है भन्न थाले । उनी पनि हुन्छ जाउँला भन्न थालिन् । बाइकमा गाउँघरतिर  हुइँकिइँदै लाग्यौं हामी दम्पती।

गाउँ हो। सुन्दर वातावरणको गाउँ। लोभलाग्दो भैसकेको थियो मेरो गाउँ । नहर कुलोमा सललल बगेको पानी । वरिपरि वरपिपलको चौतारी। खेतमा हरियाली फाँटहरू। कतै उखु बारी त, कतै पटुवा बाली। कतै धानका बीउका हरियाली सिरिरी हावाले हल्लाएको। आहा कति राम्रो।

 पत्नी पनि मुग्ध भएकी थिइन्। रमणीय दृश्य हेर्दै जाँदा उनै ज्योतिषी बाको आँगनमा टक्क अडियौं। उनी बुढा भैसकेका थिए । मलाई चिनें चिनेन । त्यो म भन्न सक्तिन। तर दमाई काका, दले कामी दाइ, सार्की काका, थुप्री भाउज्यू, राई कान्छा दाइ सबैले चिनिसकेका थिए । यिनी भाष्कर बाबु हुन् । म मनमनै खुशी थिए। यो एक्काइसौं शताब्दीमा पनि ज्योतिषी आचार्य बाको आँगनमा कुनै दलित रहेनछन् । सबै मान्छे जातका रहेछन्। कोही आइमाई जातका थिए, कोही पुरुष जातका । सबै आआफ्नो भुक्तभोगीको भविष्य चिनाटिप्पणी हेराउन आँगनमा पालो पर्खिबसेका थिए। म पनि उहाँहरूको बिचमै पसें । किन न पस्नु ? यो एउटा एक्काइसौं शताब्दीको युगान्तर हो । मान्छे जातभित्र म  एउटा मान्छे जात मिसिन पुगेको थिएँ। आफ्नो चिनाटिपोटको भविष्य हेर्ने पालो कुरिरहेको  थिएँ।  

प्रकाशित: २३ जेष्ठ २०७८ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App