कला

बिछोडिएको माया पुकुली

कथा

होमनाथ खनाल

 

ऊ एकोहोरो फेसबुकमा व्यस्त छ । कहिले मुसुक्क हाँस्छ। कहिले अँध्यारो मुख लगाउँछ।  पल्लोघरको कान्छो उसलाई नियालिरहेको छ तर ऊ आफ्नै धुनमा व्यस्त छ। आज शंकरले आफ्नो धेरै दिनदेखि हराएकी प्रेमिकालाई फेसबुकमा भेटेछ। आज उसको खुशीको सीमा छैन। त्यसैले वरपर कतै नहेरी आजसम्मका बिछोडका पीडा पुकुलीसँग पोखिरहेको छ । उसलाई पल्लो घरको कान्छो आएको पत्तै भएन।

‘दाइ तिमी मोबाइलमा किन व्यस्त हो’ भन्दा मात्र उसको ध्यान खुल्यो। हैन पुराना साथीहरूसँगको भेटघाट हो कान्छा । म भरे तिमीसँग कुरा गर्छु है भन्दै पुकुलीसँगै कुरा गर्न थाल्यो । पुकुलीलाई भन्दै छ – हैन आजकाल तिमी पहिलाभन्दा पनि निकै राम्री पनि भइछ्यौ । मोटाइछ्यौ पनि के गर्दैछ्यौ आजकाल । तिमी हराएदेखि तिम्रो सम्झनामा म कति भौतारिए –भौतारिएँ । कति खोजे। कति दिनसम्म सुत्न सकिन तिम्रो यादमा छटपटाइरहें। मनलाई शान्त राख्न सकिन। मन रोइरह्यो, हृदय जलिरह्यो। त्यो समयको मेरो पीडा म कसरी पोख्न सकुँला ! 

पुकुली के भन्नु , भनेरै नसकिने, बोकेर नसकिने पीडै पीडाको गह्रौं भार  यो जिन्दगीले आजसम्म पनि बोकिराखेको छ। हिजोको त्यो कसम, तिमीहामी कहिल्यै नछुट्टिने सुन्दर भविष्यको कल्पना गर्दै चाँडै दाम्पत्य जीवनमा बाँधिने हामीले खाएको कसम झन्डै अस्ताएको । जेहोस् आजको भेटले पुनः हाम्रो मिलनलाई  निरन्तरता दिनेछ । अब हामीले पहिला गरेको  बाचा पूरा गर्नुपर्छ।तिमी भोलि पहिला हामी भेट हुने  त्यो घुमाउने चौतारीमा आऊ है अनि त्यहीँ दुखमसुखमका कुरा गरुमला है पुकुली!

पुकुलीले भनी, ‘म पनि त तिमीलाई धेरै सम्झन्छु । भेट गर्न पनि कति मन छछ नि के गर्नु भोलि डाक्टरले डेलिभरीको समय दिएको छ।’               

प्रकाशित: २१ जेष्ठ २०७८ १३:३१ शुक्रबार

अक्षर