अभिसु घिमिरे
कक्षा –२
सृजना आवासीय माध्यमिक विद्यालय, पोखरा, कास्की।
मेरो नाम अभिसु घिमिरे हो। म पोखरामा बस्छु । म २ कक्षामा पढ्छु। मेरो विद्यालयको नाम सिर्जना आवासीय उच्च माध्यामिक विद्यालय हो। कोरोना भाइरसले गर्दा विद्यालय जान पाइएको छैन। अनलाइनबाटै कक्षा लिइरहेको छु । परीक्षा पनि अनलाइन हुँदैछ।
मेरो मिल्ने साथी सुशान्त गिरी हो। ऊ र मेरो कुराकानी मिल्छ। खाजा बाँडेर खान्थ्यौं । तर, कोरोना भाइरसले गर्दा आजभोलि विद्यालय जान पाएको छैन। अनलाइन कक्षामा सुशान्त भने कहिलेकाहीँ आउँछ। ऊ आउँछ कि भनेर हेर्छु । सायद इन्टरनेटको समस्या होला। ऊसँग बोल्न मन छ तर फोन नम्बर छैन। एक दिन विद्यालयमै हुदाँ उसको बुवाको फोन नम्बर लिएर आएको थियो। कता हराएछु। फेसबुकमा उसको प्रोफाइल देखिँदैन। उसको बुवाको नाम त थाह छ। कसरी सम्पर्क गर्ने होला त्यही सोचिरहन्छु।
विद्यालयमा हुँदा साथीहरूसँग बोल्न खेल्न पाइन्थ्यो। ‘नेपाल स्टव’ खेल खेल्न पाइन्थ्यो। विद्यालयमा गएर पढ्न छुट्टै रमाइलो हुन्थ्यो । शिक्षकहरूले विषयवस्तुसंग रमाइलो गरी पढाउनुहुन्थ्यो । हँसाउनुहुन्थ्यो। खाजा ब्रेकमा साथीसाथी मिलेर, बाँडीचुँडी खान्थ्यौं । राति सुत्ने बेला त्यही यादहरू आउँछ। कहिले विद्यालय खुल्छ होला, रमाइलोसंग पढ्न र खेल्न पाइन्छ होला? कोरोना कहिले सकिन्छ थाह छैन । योे वर्ष त अनलाइनबाटै कक्षा पढ्दापढ्दै सकिन लाग्यो । अब ३ कक्षामा जाने हो । कोरोना सकिए हुन्थ्यो। कक्षा तीनमा विद्यालय नै गएर पढ्न पाए हुन्थ्यो।
मजस्तै धेरै साथी घरमै हुनुहुन्छ होला। घरबाट बाहिर ननिस्कनुहोला। निस्कन परेमा मास्क लगाउनुहोला। म त पढाइ सकेपछि हजुरआमा, ड्याडीसँग चेस अनि लुडो खेल्छु । घर नजिकै ठुलो चौर छ । कोही मान्छे नआएको बेला ड्याडी र म, हजुरआमा ब्याडमिन्टन वा कहिलेकहीँ फुटबल खेल्छौ। कोरोनाको चिन्ता लिएर केही हुने रहेनछ । सुरक्षित बस्ने हो । खाने हो । पढ्ने हो । घरभित्र रमाइलो गरी बस्ने हो ।
प्रकाशित: २१ जेष्ठ २०७८ ११:१५ शुक्रबार