दामोदर न्यौपाने
रामु र दामु मिल्ने साथी थिए । १० वर्षका रामु र दामु स्कुल पनि सँगै जान्थे।
सँगै आउँथे । सँगै खेल्थे । खेल्दाखेल्दै एक दिन छिमेकीको गहुँबारी पुगे। छिमेकीको गोठ यहाँ थियो। घरचाहिँ एक घन्टा पर थियो। छिमेकी गोठमा नआएको बेला थियो !
रामु र दामु पाकेर लहलह परेको गहुँबारीभित्र छिरे। दुई जना बाटो बनाउँदै हिँड्दै गरे। बाटो बनाउँदा पनि गहुँ माडेर बनाए । सय मिटर पार गरे पछि लडीबडी गर्दै झन् धेरै गहुँ माडे । फेरि उठ्थे । सय मिटर हिँड्थे । अनि फेरि लडीबडी गर्थे। यसो गर्दागर्दै लामो पाटोको पल्लोछेउ पुगे।
गहुँ फाँडेर घर आए दुवै !
एक हप्तामा गहुँको मालिक गोठमा आए। लहलह परेको गहुँबारी घुमे। लामोपाटोको गहुँ सत्यानास भएको देखे। गहुँ माडिएको देख्दा दुखी भएका गहुँ साहु दामुको घर आए पानी खान। दामुको आमालाई सुनाए– बाघ जुधेर गहुँ सत्यानास पारिदिएछ !
गहुँ साहुजीका कुरा सुनेर दामु मुसुमुसु हाँस्द भन्यो, ‘मामु, बाघ कहिले हामी केटाकेटीजस्तै ज्ञानी हुन्छ ?’
प्रकाशित: २१ जेष्ठ २०७८ १०:२७ शुक्रबार