कला

मनको मुरली

कविता

 दीपेन्द्रसिंह थापा

 

जीवन उपहार पाएदेखि नै

बजिरहेको छ मनको मुरली

म आफैँभित्र।

 

सचेत र संवेदनशील

सानासाना औंलाहरूलाई

अलिकति नचाएर

अलिकति उफारेर

मनको मुरली

गाउँछ माटोको गीत

उराल्छ मुक्तिको ध्वनि।

 

औँलाहरू आफैँ अभ्यस्त छन्

संयमित र संस्कारित छन्

सुरताल मिलाउन

गति,यति र लयमा हिँडाउन

जीवनको व्याकरण बुझ्न र बुझाउन

अनि त गाउँछ  

आमाको गीत

मनैदेखि मनाउँछ  

धरतीको उत्सव।

 

कोमलताभित्र झन् कोमल बनेर  

सूक्ष्मता र संवेदनशीलताभित्र

झन् सूक्ष्म र झन् संवेदनशील भएर  

गाउँछ मुटुको लय

फैलाउछ अनुभूतिको आयतन

खोज्दै समय र सम्भावनाको झङ्कार

बोलिरहेको छ मनको मुरली

म आफैँभित्र।

प्रकाशित: २० जेष्ठ २०७८ १२:१३ बिहीबार

अक्षर