कला

बरु एकैचोटि मारिदिनु

लघुकथा

तुलसीराम खरेल

 

कोरोना सङ्क्रमणको कारण प्रशासनले निषेधाज्ञाको समय प्रत्येक हप्ता  थपिरहेको थियो। बजार ठप्प थिए। सडक सुनसान देखिन्थ्यो । मदन स्थानीय युरेका स्कुलका शिक्षक थिए। स्थानीय नगर शिक्षा समितिले आधारभूत तहको अन्तिम परीक्षा विद्यालयले लिएका आन्तरिक परीक्षा तथा अन्य क्रियायाकलापहरूको आधारमा गर्ने निर्णय गरिसकेको थियो। मदनलाई कक्षा आठ र अन्य कक्षाका विद्यार्थीको मूल्याङ्कनको सबै कुरा मिलाउन विद्यालय जानुपर्ने भयो। उनी युरेका स्कुलका पुराना शिक्षक थिए। जमानाका विए पास। निकैपछि अंग्रेजÞीमा एमएड गरेका। विद्यालयको प्रशासनिक काममा उनको संलग्नता अपरिहार्य जस्तो हुन्थ्यो।

आफ्नो मोटरसाइकल दुईजना  प्रहरीले मूलबाटोमा   रोकिदिए। बाटोमा पत्रकार र स्वास्थ्यकर्मीका केही निजी सवारी चलेको देखिन्थ्यो। किन, कहाँ , कसरी जस्ता अनेकौं प्रश्नको उत्तर दिइरहेका थिए मदन। दुई हजारसम्म त नियमानुसारकै जरिवाना गर्न सकिने धम्की दिनथाले प्रहरीहरू। मदन भन्दै थिए, ‘विगत दुई वर्षदेखि म बेरोजगार जस्तो छु, कमाइ केही छैन, स्कुल टाट पल्टन लागेको छ।’  ‘रिजल्ट बनाउन मैले स्कुल जानै पर्ने भएकाले म जाँदै छु।’ एकजना प्रहरीले भने, ‘धेरै कुरा नगर्नु नत्र थुनामा राखिदिन पनि सक्छु।’

मदनका मस्तिष्कमा आफूले पच्चिस वर्ष अघि विए पास गरेको सम्झना आयो। त्यसबेला बुढा आमाबुवाको सहारा समेत हुने भन्दै जागिरका लागि टाढा गएनन् । आज आफ्नै ठाउँमा हजारौं विद्यार्थी उत्पादन गरेका मानिस पुलिसको केरकारमा बिनाकसुर परिरहेको दृश्यले आफैंलाई खिसी गरेझैं भयो। उनले आफ्नो परिचयपत्र खल्तीबाट निकालेर देखाए।अर्को प्रहरीले भने, ‘ए तिमी बोर्डिङको मास्टर होइन? केको काडसाड देखाको ?’

मदनको धैर्यको सीमा सकिनै लागेको थियो।

‘हामी पनि यस्तो सङ्क्रमणको समयमा ज्यानको बाजी लाएर देशका लागि काम गर्दै छौं। हामीले पनि छोराछोरी पाल्नुपर्छ नि!’ एकजना प्रहरी रातोरातो आँखा पार्दै बोले।

मदनले उनीहरू पैसा खोज्दै छन् भन्ने बुझिहाले। मदनले भने, ‘म निजी स्कुलको शिक्षक, कोरोनामा स्कुल बन्द छन्, मेरो तलव पनि छैन।’

 ‘तपाईंहरूको त तलव बढ्यो होला तर म दिनैपिच्छे मर्दै बाँच्दैछु।’  

‘बरु प्रहरी साहेप, मलाई गोली ठोकेर एकैचोटि मारिदिनु नि।’

प्रकाशित: २० जेष्ठ २०७८ ११:३७ बिहीबार

अक्षर