कला

घुन

कविता

सोनाम सज्जन किराती  

 

 

मुटुमा छ खुन  

मकै पिस्दा घान परेछ घुन

ठिकै छ यो पिसिनै पर्ने हो बैगुन  

 

यो सानो जन्तु हो  

यसका हरेक काइदामध्ये  

बाँच्ने काइदाबाहेक  

अरू कुनै पनि काइदा ठिक लाग्दैन  

 

घुन यसरी फैलन्छ

कसरी फैलन्छ थाहै पाइँदैन  

खोस्टाभित्र  

हुँदै भकारी छिर्छ

चामलका बोरा हुँदै  

ढिकुटी पस्छ

अनि आक्रान्त भएर फैलन्छ

अन्नका तन्तु निलेर  

कति सखाप पार्छ  

घुनले घिन जन्माउँछ

यसलाई पिस्नुबाहेक  

के विकल्प होला र सरकार  

यस्तो पीडा कस्ले नभोगेको होला ?

 

 

सक्नेले विषादि हालेर खेदो गर्लान्  

नसक्नेको अन्न जोखिममा छ

के छर जाबो घुनविरुद्ध

त्यसपछि  

जाँतो मिलहरूबाहेक  

यसर्थ सोध्न चाहें सरकार तिमीलाई  

 

तिमीले पहिले

लोकतन्त्र भन्थ्यौ

अनि समृद्धि भन्यौ

र केही मुनाफा पिएर

महँगी दियौ

 

यसरी त सरकार जनताको ढाड भाँचिरहेछ

 

अनि त्यसरी जम्मा गरेको धनलाई  

मेरुदण्ड भन्यौ

मलाई त छक्क लागिरहेछ

 

जुन दिन सिंहासन बस्यौ

एउटा बदमास हात्ती जङ्गलमा  

पैदा भए जस्तो लाग्थ्यो

 

जो लागिरहेछ  

त्यही सत्य देखिँदैछ

 

सायद तिम्रो हविगतमा

त्याग भन्ने जिनिस छैन

सत्ताका लागि भत्ता  

भत्तापछि मत्ता  

यो कोरोना सङ्कट निप्ट्याउन  

कुनै पहल जरुरत देखिएन  

किन सरकार  

यतिसारो मतिछाडा बनेको प्रश्न छ

 

हामी सानासाना नानीबाबु हुनेहरू यसरी रुँदैछौ

जोखिम मोलेर कमाइएको पारिश्रमिक  

कालो बजारतिर पोख्छौ

विवश छौं यो इलिगल लुटबाट ठगिन

कि सरकार  

तिम्रा पनि गोजीहरू भरिन्छन्  

र चुपचाप बस्छौ

बिडम्बनाको काकाकुलबाहेक हामी के व्यक्त गरौ

कोरोना भाइरसले लिएको ज्यानभन्दा चर्काे  

यो फत्तुर रच्ने धन्दा बन्द गर  

ती अत्याचारी पाखण्डहरूलाई  

तातो तेलमा चोबलेर सोध

यस्तो कुकर्म गर्ने राक्षसहरूलाई  

किन गर्छस् भनेर

सुध्रिंदैनन् भने पिसिदिए हुन्छ  

कारागारको मिलमा लगेर

(जो राष्ट्र सिध्याउने असली घुनहरू हुन  

पाठ पढाएर नबस)–२

प्रकाशित: २० जेष्ठ २०७८ ०७:४७ बिहीबार

अक्षर