कला

रीति–स्थिति

लघुकथा

लक्ष्मी पोखरेल 

 

नैनकला विकट गाउँबाट भोजराजको घरमा एघार वर्षअघि आउँदा ऊ आठ वर्षकी थिई । छिट्टै उसले घरको साराका थन्कोमन्कोदेखि भाँडा माझ्ने, लुगा धुने, पुछ्ने गर्दागर्दै खाना पकाउन सिकी।

भोजराज र सीताको छोरा जीवन पढ्न सिपालु थिए । कक्षैपिच्छे उनले पाएको पुरस्कार देखेर नैनकलाको मनमा पनि पढ्ने रहर जागेकाले घरपतिले छेवैको सरकारी विद्यालयमा भर्ना गराइदिएका थिए । सबै काम सकेर ऊ राति बाह्र–एक बजेसम्म पढ्थी ।  मिहिनेतको फल मीठो, कक्षामा अब्बल बन्दै गई।

पढाइ साथै जीवनको सोख संगीत थियो जसले उसलाई अबेर राति घर फर्काउँथ्यो । जीवन राति घर फर्कदा ढोका खोल्ने, खाना तताएर दिने, उसका जूठाभाँडा माझ्ने  जिम्मा नैनकलाकै थियो।

विवेकी जीवन उसको दुखःको ख्याल गर्दै भन्थ्यो, ‘नैनकला तँ जा ! बरु पढ् । म भात आफैं तताएर खान्छु ।’

‘किन दाजु?’ ऊ इमानी आँखाले प्रश्न तेस्र्याउँथी।

तेरो आफ्नो भन्नू तैंले आर्जेको शिक्षा मात्तै हो । बरु अझ ध्यान दिएर पढ्। 

‘हुन्न  दाजु । म त काम गर्न नै बसेकी, मैले नै गर्नुपर्छ।’ उसलाई स्वाभाविक र स्वतः स्थापित मालिक र नोकरको भेदले बकाउँथ्यो।

‘दिनभरि काम गर्दछेस्, हामी सबैको स्याहार गर्दछेस्, थाक्छेस् पनि त होला ! मैले खाएको म माझेर राखिदिन्छु।’

‘मैले  कहिले अल्छी लाग्यो र गलें भन्नुहुन्न, यति जाबो काम केही होइन ।  अब मेरो त ठूलो परिवारमा विहे हुन लागेको खबर आएको छ । त्यहाँ गाउँमा हुने नै भनेको खेती किसानीको काम हो । यतिका जाबो कामले कहिले गल्दिनँ । यहाँ मीठो खाएकी छु त्यहाँ  त ...!’ उसका आँखा डबडबाए।

विहानपख जीवनले आमाले बुवालाई भनेको कुरा सुन्यो, ‘नैनकला तरुनी भै । अब यसलाई कामको लोभले रोक्नुहुन्न । यस्ले अप्ठेरोमा पार्नसक्छे हजुर।’

फुत्त बाहिर आएर जीवनले भन्यो, ‘जब यो काम गर्न नसक्ने थिई गाली गरीगरी सबै काम सिकाउँदै अह्राउनुभयो । अब यसले हाम्रो घरको मानमर्यादा, नियम, रीतिरिवाज सबै बुझिसकी अनि चाहिँ नराख्ने ! किन आमा?’

‘नैनकलाले जे पनि भन्नसक्छे। यसको आटँ बढदै गएको छ बाबू।’  

‘तपाईले दिएको संस्कार सिकेकी छ, नैनकलाको होइन आँट मेरो पो बढेको छ त आमा।’

प्रकाशित: १९ जेष्ठ २०७८ १२:५६ बुधबार

अक्षर