कला

जानेको काम

लघुकथा

सीताराम नेपाल  

 

‘थाह पाउनु भो बैठक गर्ने भएछन् नि ?’कानमा एअरफोन कोचेर समाचार सुन्दै सीमाको छेउमा गएर रिमेक्सले कुरा झिक्यो।

‘कसले बैठक गर्न लागेछन् त नि ?’ सीमाले हेर्दै गरेको प्रतिष्ठित दैनिक पत्रिका बन्द गरी सोधिन्।

– ठूलाबडाले !

– ठूलाबडाले त हो नि बैठक बस्ने, गफ गर्ने, कैले बाझाबाझ गर्ने ....! अरू के नै जान्या छन् र तिनले ?

–यो कोरोनाको महामारीमा बोलचालै हुन छाडेका बीचमा बैठक हुनु ठूलो कुरा हैन त ? –रिमेक्स

‘मैले त कोरोनाको कहरमा परेका वा कोरोना सर्ने निहुँमा अस्पतालहरूले उपचार नगर्दा अकाल मृत्युवरण गरेकाहरूका शोकाकुल आफन्त वा बाढीपहिरो पीडित वा काम नपाई भोकै बस्न बाध्य मजदुर, किसान र खेताला– गोठालाहरूले पो बैठक गर्न लागेछन् कि भन्ठानेकी...। ठूलाले गर्ने त त्यही बैठक त हो नि। तिनले खुबै गरे भने बैठकपछि सानालाई आदेश दिने, निर्देशन दिने र अरौपरौ गर्ने त हो नि।’

बीचैमा रिमेक्सले भन्यो–‘समाचारले जाँदाजाँदै भर्खरै प्राप्त खबर भन्यो–भो पुग्यो अति भो ...।’

–‘अब सहन सकिन्न ...। एक मात्र समाधान लकडाउन होइन ...।’

लामो बन्दाबन्दीले कुँजिएका बेरोजगार युवायुवतीको लस्कर ठूला शहरका सडकमा छरपस्ट भए रे।  

‘जाऔं हामी पनि मास्क लगाई दूरी कायम गरी गरिएको प्रदर्शन हेर्न। ।’ – रिमेक्स

‘होइन बरु खान नपाएका मान्छेलाई सकेको सहयोग गर्न जाऊँ ।’– सीमा।

‘हो ठिक भन्नुभयो !’

दुवै जना सीमाको प्रस्ताव कार्यान्वयन गर्न निस्के।

प्रकाशित: १३ जेष्ठ २०७८ ०८:५९ बिहीबार

अक्षर