कला

प्रशान्तको किनारमा

सस्मरण

उदय निरौला  

 

कैद गर्ने म्युजियममा सँगै राखेका छन् कि त किरिया गर्ने गराउनेहरूलाई दिएर कर्मकाण्डको खण्ड बनाएका छन्। धर्म नामको सम्प्रदायको एक खण्ड बनाएर हुर्काएका छन् अनि जनताले चुनेका निरोहरू बाँसुरी फुकेर बसेका छन्, सुतेका छन् र उता रोम जलिरहेकै छ निरन्तर– निरन्तर ! उनीहरू चुपचाप हरिरहेका छन् चुपचाप। उफ्  प्रशान्त! यी वेदनाहरूको साँझले मेरो माटो पहेँलै पोतिएको छ, हलेदो र बेसार बनेको छ र पारिजात दिदीले भनेजस्तो निकोटिन ग्रस्त छन् मेरा माटाका औंलाहरू। कसरी खोस्रन हुन् खेत, बारी र आलीकान्लाहरू , कसरी छिचोल्ने हुन् घुम्ती र पच्याङहरू।

ऐले प्रशान्त! म यो कोरोना कैदमा तिम्रै किनारामा उभिरहेको छु र हेरिरहेछु त्यो तिमीले हुर्काएकी अनि पालेकी छुच्चो सिइगल बाजलाई र उसको पर्यटकलाई जिस्काउने कला र खानेकुरा खोस्ने तिखा नंग्राहरू। कति सुन्दर छ ऊ रूपमा ठ्याक्कै परेवा जस्तो र आकारमा पनि दुरुस्त परेवै जस्तो तर कहाँ शान्त परेवा र कहाँको आक्रामक सिइगल मात्र आका र मुहार उस्तै स्वभाव बिलकुलै उल्टो।

 सिइगलका पर्याय त प्रशान्त ! मेरो माटोमा दुर्योधन र शकुनिहरूका भेडाहरू छन्। तिमीलाई पर्याप्त ज्ञान हुनुपर्छ किनकि भेडा पालनपोषणको नगरी तिम्रो किनारामा उभिएको छ, हुर्किएको छ र समृद्धितिर लम्किरहेको छ दिनानुदिन लगातार अविच्छिन्न। यी भेडाहरूको प्रकृति पनि अनौठो हुन्छ एउटाले भिरबाट हामफाल्यो भने सबै उसकै पछि लागेर जाकिन्छन् र सखाप हुन्छन् । ऐले मेरो माटोमा यस्तै स्वभावका भेडाहरू छन् तर सम्पन्नता हैन कंगलता दिने किनकि ती शकुनि र दुर्योधनका भेडाहरूको न त ऊन छिल्न मिल्छ न त मासु खान । तसर्थ यिनीहरू त मेरो देशको माटो नै खाइरहेछन् कतै सुस्तामा कतै लिपुमा र कतै सन्दकपुरमा केबेर? बिस्तारै – बिस्तारै बुद्धको सालनाल बेडाको मेरो मातृभूमिको रुपन्देही र सधैं अस्तित्व सिउरिरहेको सगरमाथालाई पनि भजाई खान अनि उलुकहरूको इच्छा पूर्ति गर्न र पटरानीहरूको ब्युटीपार्लरको दैनिकी जुटाउन बैना पो गरिसकेका छन् कि? यो कोरोना कहरमा अनि कसरी चल्न सक्छ र निमुखा अशेषहरूको शेष थिएटर पनि।

कसरी बल्नसक्छ ती घले बाहरूको चुल्हो । कसरी हिंड्न सक्छन् कवि विमल कोइरालाका बिर्खबहादुरहरू। अनि कसरी मुहार फेर्ने ‘कवि मिनबहादुर विष्टको साला पहाडमे क्या है’ कविताले बोलेको पहाडले। यस्तै छ प्रशान्त ! मेरा माटाका कविहरूका सुकिला विम्बहरू र प्रतीकहरूको हाल। यहाँका कवि एडम आइक्टेनहरू।

प्रशान्त !खै कहाँ छाड्न सकिन्छ र तिम्रो किनारालाई यो शिशिरको घाममा, तिम्रो बालुवा उष्ण बन्दै जान्छ र मेरा शरीरमा जाडोले उठेका काँडाहरू, मनका गर्तमा गडेका असंख्य अतीतका काँडाहरू र सँगसँगै फुलका कोपिलाहरू पनि उभर्छन् तिम्रो समीपमा। यसर्थ म हिजो जस्तै टुप्लुकिएको छु ,तिम्रा ती परपरसम्म छचल्किँदै जाने छालका संवेगहरूसँग मेरो माटोको विम्बहरू भर्न, कोलाजहरू अनि पोट्रेटहरू सजाउन । झर्को मानेकी भए पनि म अलि बढ्तै आग्रही छु अनि थोरैथोरै जिराहा र एकोहोरो पनि छु । तिमी यसको स्वभावै हो भनेर मलाई क्षमा गरिदिन्छौ भन्ने मैले सोचेको छु, ठानेको छु , प्रशान्त मैले! भालुबाँसको कट्कट् गायनसँगै मैले खोल्साखाल्सीका सुन्दर चित्रहरूका साथमा मेरो माटोमा उम्रिएर, हुर्किएर अरूहरूलाई शीतल छहारी दिने, प्रेरणा र हौसलाले सदैव आत्मोन्नत गराइरहने गणेश निरौला र नरहरि शर्मा अनि दुर्गा शर्माहरूलाई राम्ररी पट्याएको छु भित्र कताकता। शहरको स्वार्थी घना जंगलभित्र पनि स्नेहका पाठहरू सिकाउँदै हिँड्ने सहयोगका औंलाहरूले चित्र कुँदी नै रहने कुँदी नै रहने अथक भगवती नेपाल र पारू नेपाल, खग नेपाल र प्रेम नेपाल अनि ठूलै ओहोदामा पुगेर पनि नामसालिङे कोपिलाहरूलाई सदैव स्नेह बाँडेर जमिन टेकाउन मद्दत पुरयाउने अंहकारलाई किमार्थ पनि ओहोदाको तराजुमा नहाल्ने टनभन्दा बढ्तै मन भएका खेमराज नेपालहरूलाई पनि मनैमन नमन गरिरहेका भावहरूको कोलाज पनि त भित्र संगेटको छु प्रशान्त! मैले कसरी भुल्न सक्छु र म उनीहरूलाई भन प्रशान्त ! के भुल्नु राम्रो होला र? के मान्छेले अरूको गुनलाई नुनमा मिसाएर घुल्नु अनि आफू मात्र पिएर पल्टनु राम्रो हो त? वर्तमानमा त्यस्तो पन बढ्दो छ अपितु म भने किमार्थ ती उदाहरणका नायकहरूलाई मेरो रंगमञ्चमा नसमेटिरहन सक्दिन। ती उदाहरणहरू पनि मेरै माटोले समेटेका विम्बहरू हुन् जसलाई हामी सबैले प्रतिबिम्बित गर्नु, टल्काउनु र उज्यालो निर्माण गर्नु र गरिरहनुपर्छ जस्तो लाग्छ।

होइन र प्रशान्त ! अँ प्रशान्त! तिमी सदाबहार छ्यौ, तिमी वरिपरिको मौसम पनि समशीतोष्ण शान्त र स्निग्ध छ तर मानिस बढ्दै वैयक्तिक । कोरोना पनि यहाँ हराइसकेकी छ, शून्य भएकी छ, आवागमन अनि कर्ममा मानिसहरू जुटिसकेका र पठनपाठनमा नानीहरू पाठशाला जाँदै गरेका दृश्यहरू पनि देखिरहेका छन् तर मेरो माटोको सरकार हामीलाई भित्रयाउने क्रममा मौन छ म तिमीलाई बाहेक अरू कसैलाई निवेदन गर्न पनि सकिरहेको छैन। बस् खालि तिमी नै सुन्न सक्छ्यौ किनकि तिमी शंका र बेतुकका तर्कहरूलाई महत्व नदिई अगि बढिरहन्छ्यौ मान्छे तर्क गर्छ किनकि उसित हरामी मन छ। त्यसैले तिमीलाई मात्र निवेदन गरें मात्र तिमीलाई। फगत् तिमीलाई। यो तिम्रो किनारमा तिमीले निर्माण गरेको बालुवाको पहाडमा बसेर आँखा अघिका रेस्टुरेन्ट र पर्यटकहरू अनि मेरो माटोबाट रहरहरू सजाएर कामको र अध्ययनको क्रममा तिमीछेउ ओत लाग्न आएका कलिला मुनाहरू पनि एक हुल देखिरहेछु। बस् देखिरहेको छु। कलिला मुनाहरू पर्यटकको निम्ति चिया खाजाहरू तैयार गर्दै र खुवाउँदै गरिरहेका दृश्यहरूले मलाई खेतालाहरू, परेलीहरू, रोपाहारहरूको याद दिइरहेछ। आलीको डिलमा बसेर लहरै खाजा खाइरहेका खेतालाहरू।

प्रशान्त ! मेरो माटोमा असंख्य पर्यटकहरू रमाउने रारा र फेवाहरू छन्, सगरमाथा र आमदब्लङ्हरू छन्, अन्तु र सन्दकपुरहरू छन् अनि असंख्य संस्कृतिहरू बोकेर उभिएका मन्दिरहरू पनि छन् र छन् थान्काहरू, कलाहरू र सीपहरू, अनि छन् ढुंगे धाराहरू टोड्केका झर्नाहरू अनि अनेकन् सभाका पोखरीहरू, डाँफे र मुनालका गुञ्जनहरू तिलचोका उचाइहरू र फोकोसुण्डोका गहराइहरू र छन् आइफिल ओझेल पार्ने भीमसेनका धरहराहरू यद्यपि छैनन् तिनलाई पढेका सरकारहरू, छैनन् तिनको मर्म बुझेका शासकहरू नत्र तिम्रा किनाराकोस्टुरँमा खेताला बन्नु विवश हुनुपर्दैनथ्यो ती ओठमा आमाको दूध बोकेका कलिला मुनाहरूले यो सबै जानेर पनि बुझ पचाएकाहरूको इतिहास पढ्न बाध्य छन् मेरो माटोका पाठशालाहरू, विद्यालयहरू र विश्वविद्यालयहरू।

 अनि के गर्नु डा.तारानाथहरू, मोहन शर्माहरू र अभि सुवेदी , राजेन्द्र सुवेदीहरूले कति एक्लो पहल गर्न सक्छन् र नई जोडीहरूले तापनि यद्यपि थाकेका छैनन् तिनका अदम्य साहसहरू र पौरखहरू अनि सुकेका छैनन् कर्मका मसीहरू र च्यातिएका छैनन् भावका बहीखाताहरू पनि। अनवरत छन् र छन् तपस्यारत सत्यको उद्घोषमा लागेका तिनका समर्पणहरू पनि। समयहरू बल्छीमा माछा पर्खिरहन्छन्, घाटमा डुंगाहरू यात्री पर्खिरहन्छन् र दोकानमा वुनियाँहरू ग्राहक पर्खिरहन्छन् पिखुवा खोलाको जँघार तरिहेको र माथि पहाडको देउरालीको लक्ष्यको सिस ताकेको बटुवाले झैं। अँ प्रशान्त! तिमीलाई अलिकति त मैले पिखुवा खोलाको कथा पनि सुनाऊँ जस्तो लाग्यो । पिखुवा त बगिरहेको छ अनवरत अरुणलाई गलाउने धुनमा राईघाटतिर। मात्र म छैन ऊ कलकलाएको हेर्न र छाम्न। कथा २०३९ सालको मंसिरतिरको हो । सरकारी जागिरे, कुनै एक चाकरीका अभ्यस्त उपसचिव, दरबार  र रञ्जनराज खनालहरू अनि गाउँ फर्क र नुतनदेव खनालहरू त्यस्तै चिरन शमसेर थापाहरू उनका देवता थिए। तिनलाई खुशी पार्नु नै मानौ उनको जागिर हो, ऐलेका सिडिओहरूले गृहमन्त्रीलाई खुसी पार्न ठेकेदारहरूको चाकरी गरेजस्तै ठ्याक्कै, उस्तै र दुरुस्तै। ती उपसचिवले काज खटाए भोजपुरको, त्यतिबेला त तिनीलाई सरा पो मेरो मनले, मैले होइन । ऐले तिनले ठिकै गरेछन् भन्ने लाग्छ। किनकि यो प्रशान्त महासागरको किनारामा उभिएर म पिखुवा, राईघाट र देउराली अनि मसँग सँगसँगै भोजपुर साथी बनेर चताराबाट कोसी किनार हुँदै एक दिनभरि र एकबिहान हिँडेर राईघाटमा डुंगा चढेर पिखुवा खोलामा कट्टू मात्र लाएर जँघार तर्दै, अर्काको खेती खोला किनाराको काँचो बदाम उधिन्दै र खाँदै १४–१५ जँघार हो? वा १७१८? तर सकेपछि मात्र पिखुवाखोला देब्रे मोडिएर हामीबाट छुट्टियो र हामी दाहिने उक्लँदै र चुलिँदै गएको पहाडतिर लाग्यौं। उकालोमा म र मेरा साथी दिपक काफ्ले भाइलाई स्वागत गरेको थियो घना बाक्लो पारिजातको जंगलले सम्झिँदैछु म यो प्रशान्तको किनारबाट। त्यो उकालीको दुखले सायद दिपकलाई ऊर्जा दिएको हुनुपर्छ त्यो २०वर्षे वयमा । ऐले उनी त्यो झापाको ईँटाभट्टा सिर्जना नगरकै धनाढ्यमा गनिन्छन्, उनलाई त्यो बेला ओई दिपक भन्नेहरू दिपक बाबु भनेर सम्बोधन गर्छन् जागिर नखाएर बेपार गरेको उनको कर्म र मिहिनेतले ऐले उनी सामाजिक कार्यहरूमा लागेको नाम पनि आर्जन गरेको सायद पारिजातको वन र पिखुवाको आशीर्वाद होला सम्झिन्छु म।

 अँ त! प्रशान्त ! कस्तो आशीर्वाद! मेरा माटाकी सुन्दर खोली पिखुवा र वनभरि सुवास छर्ने पारिजातको। कहिलेकाहीँ नसोचेको भइदिन्छ र सोचेको जति सबै सुदूरतिर दर्गादिशा पनि छरिन्छ। एक मध्यान्ह ब्रम्हपुत्र किजारनमा उपन्यास तथा कथाकार दाजु स्वर्गीय अर्जुन निरौला भन्नुहुन्थ्यो, ‘हेर भाइ म मेरा पिताजीको बतास हुइँक्याइसँगै उडेको मान्छे त्यसैले म कल्पनाका उडानहरूमा बतिएँ अनि समाउन नसकेर आफैं कुनै अध्यात्मको लौरो खोज्दै हिँडे तर भेटिन कुनै दरो लाठी जो फलाँठकै होस्, मैले त बुझ्यौ भाइ केवल सिप्लिकानेहरूका लौरोहरू भेटेँ थाहा छ तिमीलाई सिप्लिकाने कति सजिलो भाँचिन्छ, कमिलाहरू बटुलेर डंगुर माटो उठाइबस्छ।’ दाइ गम्भीर देखिनुभयो र म छेवैमा टोलाइरहेँ । उहाँको ‘शिशिरको बतास’ उपन्यासको नायक खेमलाई सम्झेर उता ब्रम्हपुत्रको पानी भने एकदम चलायमान थियोे एक पछि अर्को छाल निर्निमेष उठ्दै बस्दै गर्थ्यो। म घरी दाईलाई र घरी त्यही छाललाई हेरेर आफैंमा मनैमन प्रश्न सोधिरहेको थिएँ वाक्यांशको अर्थ र तात्पर्य के होला?  मैले पछिसम्म दाइको भनाइको अर्थ खोजिरहें– खोजिरहें। अब प्रशान्त ! यो हिँउदको याम तिम्रो न्यानो बतास चिसिएको छ र मैले टेकिरहेको बालुवा पनि ठिही जमाएर सेक्न थालेको महसुस भैरहेछ । आज धेरै गनगन सुनाउन भाव पनि चिसिएरै होकि? मन लागि नरहेको झैं गर्दैछ यो मन पनि। तिम्रो किनाराको यो रेस्टुरेन्टमा मेरै माटोको एउटा मीठो गीत सुन्दैछु बजिरहेछ अति नै मिठो ‘केही मिठो बात गर।’

भरे फेरि एकान्तमाएउटी नेपाली नानीको मोबाइलबाट। वस् फेरि भोलि भेटौंला वाई । प्रशान्त ऐलेलाई वाई। 

प्रशान्त !अँ हिजो समय चिसियो तिम्रा किनारामा र अधुरै कथा छाडेर म तिमीलाई एक्ल्याँउदै पन्छिएँ ।ऐले तिम्रो गमन अलिकति कथातिर, अलिकति वर्तमान र थोरै भविष्यको भुगोलतिर पनि वेगहानिरहेको तिम्रा स्निग्ध र गतिवान छालहरूले तिनका छलाँगका उछिट्टिरहेका बाछिटाहरूलेआभास गराईरहेको यश क्षण तिम्रै किनारामा उभिएर उड्दै बस्दै गर्ने यी सिइगल्स अनि किनारामा उच्छिट्टिँदै आउने र जाने संङ्खेकिराहरूले पनि मलाई कताकता इन्ट्युसन गराएको महशुस भैरहेछ।त्यसैले तिमीलाई सुनाइदिँउ मेरा माटोमा फलेका ,फुलेका र हुर्कँदैगरेका वट– वृक्षका नितान्त नुतन नमुनाहरू, नुतन शिपहरू र नुतन पर्फ्युम र अत्तरका चुवाहरू, सुनक्यावराहरू अनि कनकचम्पाहरूका सुवासहरू पनि ताकि समेट तिमी तिम्रो अनन्त फैलिएका धारहरूमा,छालहरूमा र छरिदेउ कण्कण् बालुवाका ढिस्काहरूमा र उमारीदेउ आउने घामका आँखाहरूमा।यहि छ, प्रीय प्रशान्त !मेरो निवेदन तिमीलाई।दर्ता गरेको छु तिम्रो निलो जलाशयमा।देखिरहेछु प‘र आइरहेको बीसौं तलाका पानी जहाजहरू अनि झ्यालबाट हात हल्लाइरेका पर्यटकीय किरणहरूलाई पनि बेलाबेला ,सायद तिम्रो ऊ किनाराकाहरू यश किनारामा छाडिरहेछौ तिमी संबृद्दिहरू। आदान प्रदानका हातहरू हुनसक्छन् ,ती हल्लाउँदै जहाजका खाँखीझ्यालहरूमा।यश नगरीबाट उस नगरी पुन उस नगरीबाट यश नगरी खेलाईनै रहन्छौ तिमी , यही नै तिम्रो उत्कट उत्कृष्टता पनि हो र हो नुतनता पनि उहीँ पुरातन लयमा सजिँदासजिँदै पनि।

प्रशान्त !सुनाउँदै थिएँ ,हिजो मैले अनवरत तपस्या रत ती मेरै माटोले सजाएका बाँसका चोया र बातामा,साल र नरीवलका पातहरूमा सजिएका घलेबाहरू र असंख्य मगरनी दिदीहरूका शीपका कथाहरू ,व्ययथाहरू अनि कागज र मशीले पोतिएका कैयौं श्रष्टाका माउ लागेका प्रतिभाहरूका सिर्जनाहरूको बिषयमा र सजाईनै रहेछु अहिले पनि तिनीहरूकै नथाक्ने जीवनशैली तिम्रो यो निलो पानीमा ताकि छचल्किरहुन सदैव उनका प्रतिवम्ब आउने पुस्ताहरूका निमित्त अर्जुनहरूको गाण्डिव र धनन्जयझैँ युगयुगसम्म।अँ !छुट्टिने बेलाको साँझ हिजो नारायण गोपालको अमिट र सुमुधुर श्वर बजिरहेको थियो ,तिम्रा यस किनाराको रेस्टुरेन्टमा ,कुनै मेरै माटोबाट सपना बोकेर तिमीसम्म आईपुगेकी नेपाली अवलाको मोबाइलबाट।रातभरि पनि त्यही धुन गुञ्जिनैरह्यो गुञ्जिनैरह्यो मेरो कानमा , छातीमा र गलामा। गुञ्जिरहन्छ मेरै माटो कानमा थाहा छैन किन होला!जब कि तिम्रा किनारका हातहरूले सजाएको यो डार्लिङ् हार्वर बोन्डाइ र म्यान्ली यति धेरै सुन्दर छन् तापनि बुझ्नै सकिरहेको छैन मैले म भित्रको मान्छे ,जान्नै सकिरहेको छैन मैले म भित्र कस्तो कान भएको मान्छे छ देख्दैन याँहा गुडिरहेका ट्रामहरू, मेट्रोहरू अनि सुन्दर अनुपम गगनचुम्बि महलहरू अनि कस्ता आँखाछन् उसका देख्दैन यहाँका विज्ञानको आभुषणले सजिएका अनेकन सुन्दर पार्कहरू ,सडकहरू अनि शान्त ट्राफिकहरूले पनि र छुँदैन उसलाई ढकमक्क फुलाइएका ती रेष्टुराँ र होटलका प्लास्टिकका फूलहरूले पनि।आश्चार्य लागरहेछ मलाई प्रशान्त मलाई ।किनहोला?प्रश्नको उत्तर खोजिरहेछु म तर दिनसकेका छैनन् म्याकमा रमाउँदै र खेल्दै गरेका ती ससाना बालकहरूले पनि अनि दिइरहेका छैनन् ती पपमा वाइन पिइरहेका ती वृद्धवृद्धहरूले पनि अनि त्यो सुन्दर स्टेडियममा खेलिरहेका युवयुवतीहरूले पनिसायद यो प्रश्नको उत्तर नपाएरै र नलिएरै म फर्कनेछु मेरो माटोको पहाड।

अँ प्रशान्त !तिम्रो काखको वैलिङगङ् पनि कति सुन्दर सजिएको छ मन्दिर पार्कहरू, बगैँचा र प्रस्तरहरूले बनेको छ मेरै माटोले हुर्काएको, बढाएको र पुजेको विष्णु मन्दिर सम्पन्न, शान्त अनि स्निग्ध तर पनि म भित्रको मान्छेलाई छुन सकेको आभास मैले पाइरहेको छैन ती बिम्ब र प्रतीकहरूले पनि। सुन्दरता सबै थोक भएर पनि केही केही चैँ होइन रहेछ अलिकति मममता स्नेहमा माटो नै नजिकहुँदोरहेछ भन्ने कताकता भित्र भैरहेछ, नहुुनसक्छ सबैलाई त्यो मेरो नितान्त अनुभूति पनि हुन सक्छ ,नितान्त निजि गुण र नैसर्गिक स्वभाव।

म पनि गजवकै मान्छे कताहराउन पुगेँछु म “साँझसँङ्सँगै –उपन्यासका श्रष्टा अर्जुन निरौला” र ब्रम्हपुत्रको किनारातिर थिएँ अनि उपन्यासकारको मन गोड्न अक्षम बनिहेको थिएँ अनि उनकै शिशिरको बतास उपन्यासका नायक खेमुलाई नियालिरहेको र पर्गेलीरहेको थिएँ ।कति दार्शनिक र भावुक त्यो नायक।जीवनको अन्तिम चरणको अर्जुन निरौला हो वा हुनपर्छ नायक खेमु निचोडमा लाग्छ मलाई ।प्रशान्त यस्तो छ,यो साहित्यको यात्राको पच्याँङ।धेरै कुईनेटाहरू , खोंचहरू, र नदी गड्तीरका गोरेटोहरू हिँड्नु पर्छ पिठ्युँमा थुप्रै भोक्चा र बोराहररू लादेर,कठिन छ हिँडिरहन र छिचोल्न कुइनेटाहरू।यात्राकै क्रममा २०५१तिर समालोचक राजेन्द्र सुवेदीले भन्नुभएको थियो”उदयजि तपाईं निबन्ध पनि लेख्नुहोस राम्रो छ लेखाइ”मैले लेखेँ पनि। सायद वहाँ प्रखर निवन्धकार भएर पनि हुनसक्छ वहाँले मलाई भनेको पनि।वहाँ उत्साहको पेट्रोल खन्याईरहने एक विद्वान श्रष्टा मेरालागि नमन छ वहाँलाई।

 क्रमभङ्ग भएछ म त २०४५सालतिर मात्र पुगेको थिएँ, सरि। अब मलाई सदैव लेख्न ऊर्जा प्रदान गर्ने मध्येका स्वर्गीय कवि तथा बगर साहित्यिक पत्रिकाका सम्पादक नकुल सिलवाल पनि थिए। झोला सायद उनको कविताको शीर्षक हो सर्वप्रथम। साहित्यमा उनले धेरैलाई प्रोमोट गरेका छन् लेखमा मैले नाम लिँदा कसैको अहंकारमा बिर्को लाग्न सक्छ। तसर्थ नलिऊँ ऐले लिनपर्ने उपयुक्त समय आएछ मान्छेको स्वार्थी र अहंवादी प्रवृत्तिले बढ्तै हाँक दिन थालेछ भने तीनताका छापिन नपाएर बगर पत्रिकाको शरणमा पुगेका ऐले मै हुँ भन्नेको नाम लिन पनि पर्ला। अन्यथा नलिऊँ ती नामहरू तर तिनीहरूलाई साहित्यमा बामे सार्न सिकाउने एक दर्जन बढीले उनका निम्ति दुई थोपा मसी पनि खर्चन नसकेको देख्दा साहित्यभित्र पनि यस्ता कुप्रवृत्तिहरू हावी भइरहेको पनि दावी गर्न सकिन्छ। जेहोस नकुल आफू कवि भएर कवितामा नै सुत्ने कवितामा नै उठ्ने मान्छे थिए। उनले २०४५सालमा ‘आजको मान्छेको कविता शीर्षकमा बगरको विशेषाङ्क प्रकाशन गरेको छ ,यो नेपाली साहित्यको कविता विधामा प्रथम माइलोस्टन विशेषाँङ्क होइन भनेर कसैले भन्ने ठाउँ छैन ।यो विशेषङ्क नै बगरको खास पहिचान हो अरू विशेषाङ्कका तुलनामा। नकुल सिलवाल मार्फत मैले पनि धेरै साहित्यकार मित्रहरू र पुराना केही हस्तीहरूलाई चिन्ने अवसर पाँए। तीमध्ये एक थिए स्व कवि लोकेन्द्र शाह पनि। उनको एक्सिडेन्टमा निधन भएको थियो । उनका मृत्यु शीर्षकका दमदार कविताहरू छन् नेपाली साहित्यभित्र । प्रशान्त ! उफ राम्रा र प्रतिभाशालीहरूलाई किन गाँज्छ चाँडै मृत्यु ? एक अनुत्तरित प्रश्न तिमीलाई यो मध्यान्हमा तिम्रै किनाराबाट।

न्यानो घाम यो हिउँदको चिसो बतासका साथमा परसम्म फैलिँदै गएको निलो जल प्रशान्तमहासगरको यो किनारबाट सिधै दक्षिण किनारामा न्युजिल्यान्ड छोइरहेको हुनुपर्छ पानीले त्यसै भन्छन् रैथानेहरू गुगल नक्शा पनि त्यस्तै बोल्छ। आँखादेखि आँखासम्म पानी, पहाड उठाउँदै र थन्क्याउँदै गर्ने अनन्त निराकारको विन्दुमा हराइरहेका श्वैरकल्पनाहरू किनाराका असंख्य मानिसका अनि आकाशमा कावा मारिरहेका अनेकन् पक्षीहरू,उडिरहेका हवाईजहाजहरू र गुडिरहेका स्टिमर ठूलाठूला पानीजहाजहरू एकनास समाहित भइरहेका छन् हृदयमा। खामिरहेछन् कतै अवचेतनमा सायद ती सफ्टवेयर बनेर बस्नेछन् मस्तिष्कको हार्ड डिस्कमा। मानिसको मस्तिष्कमा टाँसिएर बसेका राम्रा र नराम्रा कर्मका कल्पनाका र सपनाका ती सफ्टवेयरहरू नै मानिसका जीवनमा भोग बनेर प्रकट हुन्छन्। राम्राले सुख दिन्छन् भने नकारात्मक विषाद बनिदिन्छ। सबै आफैंले बनाएका सफ्टवेयरका परिणामहरू हुन्। त्यसैले साना नानीहरूका अघि भयका, कुण्ठाका र ईर्ष्याका अनि द्वेषका तानाबानाहरू बुन्नु हुँदैन तर हामीकहाँ त पाठशालाहरूले नै दाँजिन सिकाँउछ अनि त्यही कुण्ठित मनसायले पछि गएर प्रकटित हुँदा नराम्रो परिणाम बेहर्नुपर्छ स्वयं व्यक्तिले, परिवारले, समाजले अन्तमा राष्ट्रले र समष्टिमा विश्वले।

प्रशान्त ! वर्तमान विश्वजगतमा त तिमी जस्तै निर्मल, स्वार्थभन्दा पर र संसारभन्दा माथि उठेको मानिस त कल्पनै गर्न सकिन्न होला सायद। महाभारतमा त्यस्ता ज्ञानी भिष्मलाई सङ्कल्पले बाँध्यो गुरु द्रोणाचार्यलाई ईर्ष्याले करयाप्प पार्यो अनि ठूलाठूला ऋषिमुुनीहरू पनि कामको तृष्णामा फसेका उदाहरणहरू छन् प्रशस्तै तसर्थ नबँधिन त सायद मुर्ति नै बन्नुपर्छ होला वा त ढुंगा, पानी, माटो, हावा नत्र मन भएकाहरू त कसरी उठ्न सक्छन् र? मनलाई अलग बस्तु भनेर अनुभूत गरेकाहरू जंगल पसिहाल्छन् अनि संसार चलाउनेहरू तिमी जस्तो कसरी बन्न सक्छन् र मान्छे त पसल खोल्छ, र बेपार गर्छ। तसर्थ कल्पना कल्पनामै सीमित बन्छ , सपना बाहिर रमाउनै सक्दैन मान्छे, चल्नै सक्दैन मान्छे अनि एक श्रष्टा पनि उहीँ मान्छे नै त हो, मात्र अरूलाई नोक्सान पु¥याउने चित्त नहुन सक्ला त्यो पनि कमै अझै पनि हामीहरू आशा गर्छौं राजनीति गर्ने मान्छेको र टन्टलापुर घाममा, दर्के झरीमा अनि कठ्याङ्ग्रिने ठिहीमा पनि हामी भोट हाल्न पुग्छौं, अब संसारको मजा नै यही त हो भनेर रमाउनु नै पर्दो रहेछ हैन त प्रशान्त।

प्रशान्त कै ढिस्कोमा उभिएर प्रशान्त !बेलिबिस्तार लगाइ नै रहेछु म मेरै माटोको। भोट र कोटका पीडादायी कथाहरू, समानताका घन्किएका सारेगमका ढोलकहरू, अनि गरीब किसान र मजदुरहरूले कहिल्यै प्राप्त गर्नै नसक्ने उनकै नाममा खिपिएका, बुनिएका र तुनिएका सपनाहरूको माला जो सपना देखाउनेहरू नै गुथेर हिंड्ने गर्छन् ।तैपनि ढाँटिएरै, लौरो बनेरै, भ¥याङ भएरै पनि जीवन यापनका क्रममा निर्वाचनको पर्वहरू मनाउने बानी परिसकेको छ ,थप थप ती जुकाहरूलाई हामी सबै भोट हाल्छौं, हाली नै रहन्छौं अनि पट्याइनै रहन्छौं गोजीमा । समानताका नाराहरू पनि मेरो माटोमा सस्तै किन्न पाइन्छ मात्र महँगो पर्छ शिक्षा, स्वास्थ्य ,कृषि ,यातयात लगायत कमिशनले ढाडिएर फुलेका गरिबले खाने चामल र दालका दानाहरू। महँगो पर्छ, नानीका नानाहरू र महँगो पर्छ नानीका पाठशालाहरू अनि पर्छ महँगो अस्पतालहरू, पाइन्छ सस्तो सपनाहरू अनि मजदुर , किसानका पसिना र रगतहरू। तैपनि नि ! प्रशान्त शान्त नै छन् उनीहरू बालेका छैनन् आक्रोशका दाउराहरू र पिसोल्टिएका छैनन्,

आशा छ अझ खस्लान् कि सपनाहरू।

 अँ यो तिम्रा किनारमा म देखिरहेछु श्रमको राम्रो मूल्य र कामको सम्मान। कम्युनिस्ट सरकार हो कि के हो? तिम्रा किनाराको सरकार। सुनेको थिएँ पुँजीवादमा त यस्तो मूल्य र मान्यता, मिलेको सिस्टम अनि मानिस मानिसका बीच कानुनी समानता केही हुन्न ? सुनेका कुरा र देखका कुरामा कति फरक है प्रशान्त ! हैट कहाँ राजनीतिक जंगलमा पसेंछु म। म त सिर्जनाका र सर्जकका कथाहरू पो तिमीलाई सुनाउँदै थिएँ, तिम्रा छेउमा उभिएको सुन्दर शहर, बजार, गाउँ र बस्तीका सडकहरू पो नाप्दै थिएँ र पढ्दै थिएँ। अचानक घिनलाग्दो जंगलमा हराएँछु। सरी प्रशान्त! माफ गर है। कति मिलाएर बनाएका यी तिम्रा किनाराका गाउँवस्तीका घरहरू, नाच्न उभिएका परीहरूको पंक्ति जस्तो मिलेको । घर अगाडि आँगन र मिलाएर सजाएको फल र फूलका विरुवा अनि वृक्षहरू। चुवा, जाई, चमेली, सयपत्री, नीलकाँडा, वेगन वेली, गुलाफ, कमल, ईन्द्रकमल, कनकचम्पा, गोदावरी, मखमली, सुन क्यावरा, हात्तीबारे, सजियन, कदम, सुनाखरी, करविर, बार्हैमास विविध रङ्गमा फुलिरहने दुर्गा माताको प्यारो भनिने त्यो जपाकुसुम, कनेर,अत्तरवर्षी, काँसी फूल, टुकी फूल, ग्रेडिवलस, बुकी फूल, लाजवर्षी, सिउँडी, कालो तुलसी, कोइली फूल, लसुने फूल र अरू मैले नजानेका कैयौं सामुद्रिक फूलहरू मेरा आँखाको क्यामराले किटिक्ककिटिक्क फोटो खिच्दै रहे, पैदल यात्रामा कतै विहानीमा कतै साँझदेखि साँझसम्मको हिंडाइमा कतै।

यस्तै यो समशीतोष्ण भूमिमा मैले सरकारले र नागरिकले संरक्षण गरेका यी विरूवा र वृक्षहरू पनि कतै घर आँगनमा सजाइएका र कतै पार्कहरूमा मिलाएर हुर्काएका र बढाइएका देखें ।(जस्तो ःक्यामुना,जमुना,विवध जातका धुपीहरू र सल्लाहरू, बकैनो, सिसौ, कालो निम,टाँकी, कोइरालो, बयर,काँसी बयर,वर,पिपल, शमी, रंङ्गेली, राजवृक्ष, टोटला,सिमल, दुधिलो, कट्टुस,ओखर, शिरीष, गुलमोहर,कटहर,भैं धँगेरो, रुख धँगेरो, अम्बके, बान्द्रे, पटपटे,पाँचपाते,गुँयेलो, अँगेरी, गिँदेरी र अरू मैले नजानेका र नचिनेका असंख्य वृक्षहरू। यस्तै फलफूलमा अंगुरको त यो भूमि जंगलै भयो , यस्तै एबोगार्डो किबी र सामुद्रिक ड्रय्गनफलहरू पनि यहाँको प्यावानै भयो ।अरू हाम्रा माटोमा पनि हुर्कन रमाउने यी आँप,अम्बक, हलुवाबेद ,शुन्तला, कागती , मौसम, जुनार,काली ज्यामिर,नाइटे ज्यामिर,निबुवा,भोगटे,जातजातका आरू,नास्पती,स्याउ, आरूचा,बखडा,जामुन,र मेवा त घरघरमै फलेका र फुलेका देख्दा कतै म मेरै माटोमा उभिएर मुस्कुराइरहेको इलाममा नै त छैन भनेर अहिले आँखाको चस्मा पुछ्दै नियालिरहेछु ।क्यामुन, मलिंम्डो, चारपाटे, हाम्रा चुरेभावरमा पाइने जातजातकाका थाकल, फ्याक्रे, पान,चाबो, कनाखे ,सनासे,भोर्ला र देब्रे ।यस्तै भारत तिर पाईने रसगुला, र आँट्टे। मात्र यो भूमिमा मैले ठुला जातका रूखहरूमा साल(सखुवा) बज्राँठ,फलाँठ,फलामे, साज,चिलाउने, मगरात,बडहर,मलाते,उतिस,मउवा,लाँकुरीहरू देखिन र भेटिन ,सायद अनुमान गर्न सकिन्छ यहाँको घना जंगलभित्र पनि यी विरूवाहरू छैनन् होला तर मात्र अनुमान।

 कँगारूको देशमा कुश, बाबियो, बाँस, सालिम्बो,काँस प्रसस्तै पाइने रहेछ।  बनौषधिमा बोके टिम्बुर पाखन बेत, सिँउडी, क्याक्टस, भृंगीराज, पुनरनवा, जातजातका कण्ठकारीहरू, भृष्म, घृतकुमारी, मदाने, टुके र बुके, विष्मा, आँक श्वेत र रक्त दुवै,अर्जुनकुमार, श्रवणकुमार दुवै, इन्द्रेनी, शिवलिङ्गी, कामख्यबेली, पँहेली, अमृतकुमार, अश्वगन्धा, सर्पगन्धा, नागफेनी, माधुरी, गजफेनी, अडिर, रूख धतुरो, चुत्रो, लज्जावती, खडरस, सोमरस बेली, टुकी फूल,अमरबेली, पध्मचाल,भाटे, बेथु, मेथी, गोरखमुन्डी, अनार, दारिम कतिकति रहेछन्। लसुने त अझ घरघरै बाटोघाटो जतातता भेटिन्छ । यद्यपि यो सम्पन्नताले छर्लप्पै ढाकेको देशमा हाम्रा घले बाहरूले जस्तो यी ओखतीहरूको प्रयोग यहाँ गरिन्न तर प्रकृतिले भने वरदान नै दिएको रहेछ। सरकारको सिस्टम र कानुनको राम्रो पालनको कारण अनि बेफुर्सदीले पनि देशलाई उन्नकिो पथतिर डो¥याउन सक्दो रहेछ भनेर लख काट्न सजिलै सकिन्छ। यहाँका मानिसहरूलाई देख्दा , होइन त! प्रशान्त ! समृद्धि महल र हवेली अनि सुन्दर पलङ र विछ्यौनाको सपना देखाएर, झुटका आश्वासनहरू बाँड्दैमा कहाँ आउने हो र ? निस्वार्थ नेतृत्वले खिपेको र बुनेको राज्यप्रणाली र त्यसको समुचित व्यवस्थापनले मात्र ल्याउन सकिन्छ भनेर नजान्नेहरू त अवश्य पनि लगाम हाँक्न इतिहासदेखि वर्तमानसम्म पुगेका हैनन् नि ! राजसिंहासनमा तर कसैले पनि जनता र देशको विषयमा नसोच्नुको पछाडिका कारणहरू के हुन सक्छन् प्रश्न गम्भीर र अनुत्तरित नै छ अझसम्म । खैर!  यस विषयमा मैले माथापच्चीसी गरेर टाउको दुखाउनु छैन। यो त उनीहरूकै विषय हो  तथापि प्रशान्त !तिम्रा किनारामा काम गरिरहेका मेरा माटोका युवायुवतीहरूको श्रमको बाध्यताले मलाई पनि लेख्न बाध्य तुल्यायो र तिमी समक्ष यति बोलें मैले। झर्को लाग्यो होला यी बेफ्वाँक र बेतुकका गनगनहरूले।

 अब म तिम्रा किनाराबाट कल्पनाको बाईपंखी विमानमा चढेर पुनः मेरो सम्झनाको तरेलीमा हेलिन पुगेको छु। २०४५सालमा एकपटक ‘गरिमा’ को कार्यालयमा सम्पादक कवि दाइ विष्णु विभुले चिनाइदिनुभएका कवि कृष्ण प्रसाईं पुतली सडक थापा सरको स्टेसनरी पसलतिर दारी बनाएर बसेका उनीनिर पुगेको छु। बगर पत्रिकाले निकालेको कविताको विशेषाङ्कपछि प्रसाईले प्रकाशन गरेको कविताहरूको सँगालो ऐलेसम्मकै ठूलो दस्तावेज हो नेपाली साहित्यमा। उनले नेपाल, असम, डुवर्स, मेघालय र सिक्किमसम्मका तीनताकासम्म लेखिरहेका, लेखेका र ऐलेसम्म लेख्दै गरेका कविहरूका कवितालाई संगेटेका छन्। यो संग्रहमा सम्पादकले कुनै विचार, वाद र नातागोतालाई अनि आग्रह पूर्वाग्रहलाई स्थान नदिई समेटेका छन्। अब प्रकाशन गर्न चाहनेहरूका लागि यो ग्रन्थ एउटा मार्गदर्शक बन्ने कुरामा दुई मत छैन नै। प्रसाईले नेपाली साहित्यलाई यसर्थमा ठूलै गुन लगाएका छन्। उनीसँगको सामीप्यले पनि मेरो कलम माझिन ठूलो भूमिका निर्वाह गरेको छ। २०४५सालमा नै कवि, कथाकार ध्रुव मधिकर्मीलाई मैले मेरै घर भक्तपुरमा चिन्न पाँए। कसरी भन्दा, मेरो छिमेकी र नातामा भिनाजु प्राध्यापक उपेन्द्र रिजाल भक्तपुर कलेजमा नेपाली पढाउने अलिअलि ऐलेका समालोचकहरूले झैं पाठ्यक्रममा समावेश भएका कथा, कविताको पाद टिप्पणी लेख्ने र ध्रुवको साहित्यिक त्रैमासिक पत्रिका आरोहणमा छपाउने गर्नुहुँदो रहेछ र केही कपी विद्यार्थीहरूलाई सजिलाका लागि दिनुहुँदोरहेछ जसले प्रकाशनमा पनि अलिअलि मद्दत पुगोस् उहाँको सोच रहेछ। हो त्यही सोचले उहाँले नै मलाई चिनजान गराउन मधिकर्मीलाई लिएर दशैतिहार अङ्कका लागि केही विज्ञापन जुटाउने विचारले घरसम्म आउनुभएको र बिस्तारै उनीसँग नजिकिएको सम्झना पनि आइरहेछ। साहित्यिक पत्रिका निजी क्षेत्रबाट निकाल्न अति नै कठिन थियो, जो ध्रुवलाई ऐलेसम्म पनि रहरकै बाध्यता भैरहेको ठान्छु म। मेरा केही कविता पनि उनको पत्रिकामा छापिएका छन् ,तीनताका र ऐले २– ३ वर्षअघि पनि।

अब केही गैर साहित्यका सम्झना सुनाउने विचार जाग्यो प्रशान्त मलाई ।

एसएलसी परीक्षा दिएपछि प्रायः हामी गाँउलेहरूलाई कतै न कतै स्कुल पढाउने रहर हुन्थ्यो किनकि माहौल नै त्यस्तै थियो उतिबेला गाउँतिरको। सबै शिक्षक बनिहाल्ने। यो क्रममा मलाई इलाम जिल्ला शिक्षा कार्यालयमा हाम्रा चन्द्रशेखर खतिवडासरले देखेर ‘किन उदय तिमी यहाँ’  ?सोध्नुभयो ।

मैले मरो इच्छा प्रकट गर्नासाथ तुरुन्तै प्रतिकार गरेर काठमाडौ जाने सल्लाह दिनुभएको थियोे । उहाँ मेरा आदरणीय हुनुहुन्छ तर उहाँले गणेश निरौला, दुर्गा शर्मा भट्टराईलाई जस्तो कक्षा शिक्षक भएर अंग्रेजी पढाउन पाउनु भएन हामीलाई ,जस्को प्रभाव (अंग्रेजी सिकाउने कला प्रखर थियोे अरे उहाँसँग भन्थे, उहाँसँग पढ्नेहरू)। वर्तमानसम्म पनि महसुुस भैरहेछ ,मलाई । उहाँलाई अचानक त्यहाँ देख्न नचाहनेहरूले सरुवा गरिदिए र हामीबाट थुतेर टाढा पु¥याइदिए। उहाँ सदैव अरूको उन्नति चाहने मान्छे र हाम्रा अभिभावक नमन छ उहाँलाई। अर्को प्रसंग काठमाडौ कारणवश आउन नमिलेपछि मलाई आइएको प्राइभेट परीक्षा दिनका लागि प्रेरणा प्रदान गर्ने दाजु प्रेम नेपाल मेरो अति स्नेही निकटकै दाजुजस्तो बन्नुभयो । सायद काल्पनिक पूर्वजन्मको मेरो नजिककै कुनै प्रिय हुनुहुन्थ्यो कि? उहाँले काठमाडौंबाट घर नामसालिङ आँउदा अराए जस्तै गरेर फारम भर्न हुलाकमार्फत कागजातहरू पठाइसकेपछि सबै सहयोग गरेर फारम भरिदिएर , परीक्षाको सूचना लगायत मार्कसिट निकालेर पठाइदिनुभएको पनि म सम्झिरहेछु। पछिल्लो वर्षको फारम भर्न२०३५ सालको हिँउदमा म आफैं काठमाडौं आएको र दाजु प्रेमले जमल लगेर फारम भर्दा काम नसकेर दाइ भवानी शंङ्कर सुवेदीलाई लगाइएको,उहाँ र म गएर सानो ठिमीमा एसएलसीको प्रोभिजनल सटिफिकेट निकालेको अनि ट्रलिबस चढेर भक्तपुर गएको र तीनताकाको फोहरले खुट्टा टेक्न पनि घिनलाग्ने अनि ऐले उपत्यकाका तीन शहरमध्ये सबैभन्दा सफा र सुन्दर भक्तपुर घुमेको पनि याद आलै आँखामा घुमिरहेका प्रतिबिम्बहरू खोजिरहेको छु। इस घडी तिम्रो यो निलो पानीमा प्रशान्त । ती विम्बहरू! ऐले तिम्रो पानीको गर्तमा, गर्भमा र यो बादलछायामा कतै ओझलमा हल्लँदै होलान् र यो सुन्दर नगरीको सुन्दर भूगोलको ऐनामा कतै टलक्क , झलक्क र खक्रक्क टल्कँदो पनि हो। यस्तै यस्तै छ मेरो सपनाको देश,भेष र केश क्रमशः ...!

प्रकाशित: १२ जेष्ठ २०७८ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App