कला

म होसमा छैन

कविता

पवित्रा सुनार  

 

म सहनशील बनेर नै हो  

यो जातको हिमाल अग्लिएको  

मेरो मौनताभित्र हाँसेका हुन्  

यो विभेदका हिमालहरू  

जब पोहोर साल  

नवराज भाइ

तिमीले उनलाई पे्रम गरेबापत  

तिमीलाई हत्या उपहार मिल्यो  

तिमीसँगै भेरीमा बगे  

ती  युवाका  सपनाहरू पनि  

म त्यही दिनदेखि निदाउन छोडेकी छु  

म त्यही दिनदेखि मौन बस्न छोडेकी हुँ  

मलाई यो विज्ञानको युगमा  

अछुत कसले बनाइरहेछ ?

अछुतको जन्म दिने  

आमा को हुन् ?  

मैले वर्षौदेखि नियालिरहेछु  

मेरै जिन्दगीमा  

घोर अन्यायका बादलहरू  

कति निर्दयी ?  

कस्तो बेथिति ?  

अनेक चस्मा लगाएर हेरेकी छु  

यो विसंगतिको धुवाँ  

यो बेथितिको सभ्यता  

ओ हो कस्तो अँध्यारो युग ?  

म माथिका तमाम विभेद

निर्मुल गर्ने सपना देखाउन  

यहाँ धेरै आए  

कोही मार्क्सवादी बनेर आए

कोही माओवादी बनेर आए

कोही समाजवादी बनेर आए

मेरै  जिन्दगीमा कति व्यवस्था फेरिए

भूगोलको रूप फेरियो  

आकाशको रंग फेरियो  

यो अछुतको दाग फेरिएन  

ए सभ्यताका ठेकदाहरू हो  

मलाई सधैं दलित  बनाएर  

कस्तो सभ्यताको हल्ला गरिरहेछौ ?  

मलाई सधैं अलग्गै राखेर  

कस्तो समान समाज हुन्छ ?

मलाई सधैं भोकै राखेर  

कस्तो समृद्धिको चर्चा चल्दै छ ?  

जबसम्म म  

तिम्रो मूलढोकामै रोकिन्छु  

जबसम्म मलाई मान्छे मान्दैनौ ?  

मैले तिम्रो समाजवाद

तिम्रो माक्र्सवाद  

तिम्रो माओवाद  

यी सबै सबै दर्शनहरूमा  

कालो धब्बा देखिरहेछु  

मलाई मानवता थिचिरहने  

कुनै दर्शन

विचार

र मान्छेहरू  

मेरा दुस्मनझैं लाग्छन्  

फगत दर्शनको खोल ओढेर  

मेरै रगत पिउन आउने  

नक्कली मानतावादीलाई  

मेरो मनमा निषेध छ  

फगत वाचा गरेर  

मलाई झक्काउनेलाई  

यसपालि भोट नदिने कबुल छ  

मैले यतिखेर बुझेको छु  

म यतिका वर्ष  

चुपचाप हुनाले  

यो सामन्ती ब्यवस्था  

बाँचिरहेको हो  

मेरो सहनशीलताले  

यो विभेदकारी व्यवस्था  

मौलाइरहेको हो  

याद गर !  

मैले सहन छोडेको दिन  

तिम्रो विभेदको सत्तामा  

आगो झोसिदिन्छु  

जतिबेला सामन्ती सभ्यताका  

हाँगा

पात  

जरा  

पूरै जलेर खरानी हुनेछ  

होस गर  

म होसमा छैन !

प्रकाशित: १२ जेष्ठ २०७८ ०७:४० बुधबार

अक्षर