कला

बा देश बोक्नु पहिले भोक बोक्नु सिक

कविता

राजबाबु श्रेष्ठ ’सागर’

 

रुँदै सेता हातहरूले ओखती होइन

जब फोक्सोका कथा लेख्छन्

जब कविहरू रगतमा चोपेर अक्षरहरू

कविता होइन मुखबाट राँको ओकल्छन्

महजोडी  कलाकार हाँस्न छाडेर

भरोसाको अस्पतालमा बिस्कुनझैं सुकाइएका  

ती सेता लासहरू देखेर जब रङ्गमञ्चमै ढल्छन् ।  

तब बुझ्नुपर्छ बा तिमीले,

‘कठै मेरो देश आईसीयुमा छटपटाइरहेछन्  

मेरो बेहोसीमा भित्रिएका मृत्यसँगै’

एक अञ्जुली रगत आँखाबाट उबाउँदै

जब सहिदहरू रुँदै भन्छन् –

‘साँच्चै भनूँ,

कोमामा गए हाम्रा भरोसा र विश्वासहरू

विभूति भएछन् हाम्रा सबै ती त्याग र बलिदानहरू।’

ए बा ! सुन्दैछौ तिमी ....

उदास छन् मेरा देशका लालीगुराँसहरू  

गाउन बिर्सिएका छन् ती कोइलीहरूले

आफ्नै देशका ती मौलिक संस्कृतिहरू

बिर्सिएका छन् माउहरूले आफ्नो लाम्टो चुसाउन

आफ्नै काखका बचेराहरूलाई।

 

ए बा ! सुन्दैछौ तिमी ....

टेक्न बिर्सिएका छन् ती कङ्गारूहरूले  

आफ्नै घरको प्राङ्गण पनि  

बिर्सिएका छन् बिहान बिउँझाउन देशलाई

अचेल ती राता भालेहरूले पनि।  

 

ए बा ! सुन्दैछौ तिमी ....

उदास छन् ठिङ्ग उभिएका ती सालिकहरू

अलमलमा छन् अहिले सबै

शहरका ती भोकका फुटपाथहरू।  

ए बा ! भन न तिमी

कसलाई जोडूँ म ती अक्सिजनको नली ?

तड्पिरहेका देशलाई कि;

देशसँग बाघचल खेलिरहेका खेलाडीलाई ?

ए बा भन न तिमी

म कसलाई जोडूँ ती अक्सिजनको नली ?

भो ! बा !

अब छाडिदेऊ देश बोक्न तिमी

अब बिर्सिदेऊ उखान खोक्न तिमी

सबै बिर्सी उठ जुरुक्क जीवनको बीउ रोप्न तिमी

साँच्चै भनूँ बा,

खाएर देशले अघाउन्जेल  तिम्रो भाषण

छादिरहेछन् अहिले लासहरू।

ए बा ! साँच्चै भनूँ,

देश बोक्नुभन्दा पहिले

तिमी भोक बोक्ने भरिया हुन सिक

जब पिठ्यूँमा भोकको भारी

तिमी बोक्न सक्छौ नि बा  

म बुझ्छु कि;

तिमी त्यस दिन देश बोक्न सक्छौ।

प्रकाशित: ११ जेष्ठ २०७८ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App