कला

तिमी युद्ध र शान्तिको अम्लेट बनाएर खाँदै छौ

कविता

राजेन्द्र कोजू

 

यहाँ मान्छेसँग सिटामोल किन्न पैसा छैन,  

तिमी भने खाली चुनाव चुनाव मात्र भन्छौ।  

सास फेर्ने अक्सिजन किन्न सकेको छैन,  

तिमी भने ठिकठाक छ सबै यहाँ भन्छौ।

सयौं लास जलिरहेको छ यता चित्तामा,  

छोइला पोलेर तिमी दरबारमा चुस्की लिँदैछौ।  

जनता आफ्नै घरमा कैदी छन् महिनौंदेखि,

तिमी भने स्वतन्त्र उड्छौ गिद्ध स्वरूपमा।  

तिमी युद्ध र शान्तिको अम्लेट बनाएर खाँदैछौ,  

मित्रता र शत्रुताको कक्टेल बनाएर पिउँदै छौ।

प्यारले सुम्सुम्याउँदै छुरा हान्ने तरीका सिकेका छौ,

उचाल्दै थचार्ने, फुलाउँदै निचोर्ने जानेका छौ।

सबैजना यहाँ पानी पानी भन्दै तिर्खाइरहेका छन् ,

तिमी भने विषको घैलो सजाएर बेच्न व्यस्त छौ।

यहाँ मान्छेसँग सिटामोल किन्नलाई पैसा छैन,  

तिमी भने खाली चुनाव चुनाव मात्र भन्छौ।

प्रकाशित: ११ जेष्ठ २०७८ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App