कला

अभिभावकलाई चिठी

दीपशीखा घिमिरे

  

प्यारा अभिभावक,

 भाइबहिनीहरू  विद्यालयमा छैनन्। आफ्ना साथीहरूलाई खुब याद गरिरहेका छन्। उनीहरू तपाईको अनुहारमा हेर्छन्, चिन्तित देख्दछन्। लकडाउनले सबैलाई गम्भीर असर परेको छ। झन् बालबालिकालाई धेरै। उनीहरूलाई कसरी तपाईहरूले यस असरबाट जोगाउन सक्नुहुन्छ भन्ने केही टिप्सका साथ ध्यानाकर्षण गदै यो चिठी लेखेकी हुँ।

तपाई केटाकेटी न हो भनी उनीहरूको कुरालाई वास्ता नगर्न सक्नु हुन्छ । तर, बुझ्नुहोस् आमा वा बुबालाई के भइरहेको छ भनेर चिन्ता लागेको छ भने छोराछोरीले त्यो कुरा थाहा पाउन सक्छन्। बालबालिकाहरू अभिभावक सधैं साँचो र इमानदार भएको हेर्न चाहान्छन्। तपाईका लागि पहिलो टिप्स भनेकोे उनीहरूसँग कुराकानी गर्नुहोस्, यी आइपरेका घटनाको विवरण उनीहरूलाई सुनाउनुहोस्, कसरी सामना गर्न सकिएला भन्ने विषयमा उनीहरूसँग छलफल गर्नुहोस् । यस्ता छलफल गर्ने बानीले उनीहरूलाई भविष्यमा आइपर्ने दुःखकष्टको सामना गर्न मद्धत गर्ने सीपहरूको विकास गरिदिन्छ।

तपाईका लागि अर्को टिप्स भनेको बालबालिकालाई आफ्नो भावनाहरूलाई कापीमा कैद गर्न सिकानुहोस् र भावना अभिव्यक्तिका लागि उनीहरूसँगै विभिन्न कलात्मक कार्यमा सरिक हुनुहोस्। अभिभावकले उनीहरूलाई सधैं सकारात्मक दृष्टिकोण देख्न सिकाउनुपर्छ। उनीहरूलाई बताउनुपर्छ वैज्ञानिकहरू, जिम्मेवार व्यक्तिहरू सकारात्मक काम गरिरहेका छन् र हामी चाँडै यो परिस्थितिबाट बाहिर निस्कन सक्नेछौं। बालबालिकालाई यस्तो समयमा भावनात्मक समस्या आइरहेको हुन सक्छ, तपाईले आलोचनात्मक नभएर उनीहरूको अभिव्यक्ति सुन्नुहोस् र उनीहरूलाई व्यक्त गर्ने अवसर दिनुहोस्।

तेस्रो टिप्स तपाईका लागि घर वा आँगनमा व्यायाम गर्नुहोस्। उनीहरूलाई व्यायामको महत्व बुझाउनुहोस् । व्यायाम गर्दा तपाईले संगीतकोसहारा पनि लिन सक्नुहुन्छ। यसले उनीहरूको आत्मविश्वासलाई बढाउने कार्य गर्दछ जसले गर्दा व्यायामसित सकारात्मक सम्बन्धको विस्तार पनि हुन्छ। संगीतले आफूले गरेको कामप्रति ढुक्क हुन पनि प्रोत्साहन गर्दछ।  

अब अन्तिम टिप्सको कुरा गर्छु है । उनीहरूलाई समयतालिका बनाउन मद्धत गर्नुहोस्। घरभित्र बसेर गर्न सकिने कार्यहरूको सूची बनाई दिनचर्या बसाल्ने कोसिस गर्नुहोस्। अनलाइन, टेलिभिजनका लागि कति समय हो र पढाइका लागि कति समय छुट्टयाउनु जरुरी छ। यी दैनिक क्रियाकलापलाई आफ्नो छोराछोरीका लागि सिक्ने मौकाका रूपमा प्रयोग गर्नुहोस्। सम्भव भएसम्म यो योजनाहरूसँग सहभागी हुन कोसिस गर्नुहोस्।

प्रिय अभिभावक, आजको चिठीमा यति नै लेखें, अर्को पत्रमा नयाँ कुरा सहित आउनेछु । आफ्नो ख्याल राख्नु होला।

तपाईको शुभचिन्तक

दीपशीखा घिमिरे

सदस्य, नेपाल मनोविद संघ ।

प्रकाशित: ९ जेष्ठ २०७८ ११:२२ आइतबार

अक्षर