कला

उपवास

लघुकथा

देवेन्द्र अर्याल ‘आँसु’  

 

समयको क्रममा आमाका दुवै छोरा छुट्टिएर बस्ने निर्णयमा पुगे। पैतृक सम्पत्तिको बराबर अंशवन्डा भयो । तिलको दाना पनि बाँकी नराखी सबै भाग लगाइयो। उनीहरू बिचको अंशवन्डा एउटा कुरामा गएर अड्किएको थियो । जन्म दिने आमालाई कसरी भाग लगाउने ?एउटाले वृद्धाश्रममा लगेर राख्ने प्रस्ताव गरयो। अर्को छोराले महिनामा पन्ध्रपन्ध्र दिन दुवैले आमालाई पाल्ने प्रस्ताव राख्यो । दोस्रोको प्रस्ताव परिवारका सदस्यले करबल र समाजका लागि पनि उपयुक्त हुने ठानी लागू गरे।  

निर्णयपछि बुढी आमै महिनाको पन्ध्र दिन एउटा छोराको घरमा र बाँकी पन्ध्र दिन अर्को छोराको घरमा बस्न थालिन् । तर, कहिलेकाँही कुनै महिना एकतीस दिनको पर्दा दुवै छोराको बिचमा आमाको खानपिनका सम्बन्धमा चर्काचर्की पर्दथ्यो। आमाका साथीहरू कहिलेकाहीँ भेट्न आउँदा उनी घरमा हुन्नथिन्। त्यतिबेला घरका छोराबुहारी आमा मन्दिर जानुभएको छ, उपवास छ भन्ने जवाफ दिन्थे। उनका साथीहरू यो बुढ्यौलीमा पनि के उपवास बस्नु परेको होला भन्दै फर्कन्थे।वास्तवमा आमाको कुनै उपवास थिएन। जुन महिना एकतीस दिनको हुन्थ्यो त्यो दिन उनी दर्शन गर्ने  निहुँमा बिहानै घरबाट मन्दिरतिर जान्थिन् र पेट भर्ने प्रयास गर्थिन्। 

प्रकाशित: ८ जेष्ठ २०७८ ११:३७ शनिबार

अक्षर