कला

अब संकटकाल लगाउनु छ

कविता

लक्ष्मी पाण्डे

 

अब फेरि नमाग्नु अक्सिजन किन्ने पैसा  

किनकि लगातार चुनाव गराउनु छ

नमाग्नु आइसियु र भेन्टिलेटर  

जे छ त्यसैले  काम चलाउनु छ

बिरामी भए घरमै बस्नु आफैं निको हुनु

किनकि अस्पताल थप्ने पैसाले चुनाव गराउनु छ

कर तिर्न नछाड्नु है देशको ढुकुटीमा पैसा जम्मा गर्नु छ

किनकि फेरि लगातार दुई वर्ष चुनाव गराउनु छ

मर्न पनि पाउँदैनौ तिमी अब आफ्नो खुशीले  

किनकि मतदाता नामावलीमा नाम लेखाउनु छ  

एकएक जनता प्रिय छन् मेरा लागि अब त  

किनकि तिनै पुराना काला अनुहारमा रातो अबिर लगाउनु छ

मैले भनेको मान्नैपर्छ तिमीले  

किनकि ६०१ ले दुई पटक लगाएर बनाएको संविधान बचाउनु छ

कति प्यारो छ मेरा लागि देश र संविधान  

बालुवाटार र शितल निवासको दराजमा खोल्न नमिल्ने गरी सजाउनु छ  

जुन धारा खोले पनि उस्तै खोली बगाउनु छ  

चूपचाप बस्नु है प्रिय  जनता जनार्दन  

किनकि अब संकटकाल लगाउनु छ  

मध्य रातमा खुल्ने कार्यालयका  

सबै चौकीदार जगाउनु छ

फेरि पनि गरुँगो लालमोहर लगाउनु छ

फेरि पनि एक पटक अमृत पिलाएर मद होस बनाउनु छ

दश औंला जोडी घोषणा पत्रका कुरा सुनाउनु छ  

लगातार चुनाव गराउनु छ

फेरि अबिर र माला लगाउनु छ।

चिताको चित्र कोरेको कपडा कुर्सीको खोल बनाउनु।

प्रकाशित: ८ जेष्ठ २०७८ ०७:३१ शनिबार

अक्षर