कला

बालकृष्ण पोखरेलसितका सम्झेबिर्सेका बातहरू

प्राध्यापक बालकृष्ण पोखरेलसित मेरो पहिलो भेट सन् १९७२ मा विराटनगर जोगबनी छेउको पुरानो हवाई अड्डामा भएको म सम्झन्छु। सन् १९७२ लाई राष्ट्रसंघले अन्तर्राष्ट्रिय पुस्तक वर्ष घोषणा गरेको थियो। त्यसै सिलसिलामा युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगले पुस्तक प्रवद्र्धन तथा अध्ययनशीलता सम्बन्धी एउटा अन्तर्राष्ट्रिय संगोष्ठी राखेको थियो। साझा प्रकाशनको आयोजनामा काठमाडौंमा सम्पन्न हुने उपरोक्त चारदिने गोष्ठीमा भारतबाट दार्जिलिङका इन्द्रबहादुर राई, तुलसीबहादुर छेत्री, सिक्किम गान्तोकबाट काशीराज प्रधान अनि असम, भनौँ समग्रमा पूर्वाञ्चल भारतबाटै म एकजना गरी जम्मा चारजना थियौँ। अवश्य साथमा मेरी श्रीमती पनि थिइन्। भारतबाट निम्त्याइएकाहरूका निम्ति काठमाडौं जान विराटनगरबाट हवाई जहाजको टिकट आरक्षण गरिएको रहेछ, विराटनगर साझा प्रकाशनको क्षेत्रीय कर्यालयका प्रबन्धकद्वारा। श्रीमतीको आरक्षण थिएन, तापनि हवाई अड्डामै त्यसको व्यवस्था मिल्यो।  

त्यसताका विराटनगरको हवाई हड्डा जोगबनीको छेउ खुला टहरामा अस्थायी रूपमा थियो। हालको कञ्चनबारी हवाई अड्डा चालू भइसकेको थिएन। हामी सबै विराटनगर हवाई अड्डामा भेला भयौँ। विराटनगरबाट हामीसित अरू एकजना केही होचा, छरितो जिउडालका व्यक्ति थपिए, जोसित मेरो परिचय थिएन। जहाज आउन अलि ढिला भएकाले भूूमि छुनेबित्तिकै जहाजबाट ओर्लिने यात्री ओर्लिइ सक्तानसक्ता चढ्नेहरू धमाधम चढ्न थाले। हामी पनि ठेलठाल गर्दै चढ्यौँ, त्यहाँ कसैसित केही कुरा हुन पाएन।  

काठमाडौं गौचर हवाईअड्डामा जहाजबाट आर्लंदा हाम्रो अगुवाइ गर्न आउनेमध्ये अहिले दुईजना विद्वान् व्यक्तिलाई सम्झन्छु। एकजना शिक्षाविद्, अग्रज सुसाहित्यिक डा. तारानाथ शर्मा (ताना शर्मा) अनि अर्का साझा प्रकाशनका तत्कालीन प्रमुख व्यवस्थापक श्री नरेन्द्रविक्रम पन्त, परिचयको आदानप्रदान हुन्छ। विराटनगरबाट हामीसित साथ लागेर आउने व्यक्ति रहेछन् भाषा साहित्यका प्रकाण्ड विद्वान् प्रा. बालकृष्ण पोखरेल, नाउँसित र उनका कृतिसित खुबै परिचित तर व्यक्तिगत रूपमा साक्षात्कार नभएका व्यक्ति। नरेन्द्रविक्रम पन्तजीले मेरो परिचय लीलबहादुर ‘बसाइँ’का लेखक भनेर दिने बित्तिकै पोखरेलजी भन्छन्— पुस्तकमा कतै एक ठाउँ कालिकोटे लेख्नुभएको छ कालीकोटेहरूको गोत्र आत्रय हुन्छ र पाखे्रेलको पनि गोत्र आत्रय हुन्छ। त्यसैले हामी सगोत्री हौँ, गोत्राया दाजु भाइ ओहा ! पहिलो भेटमै उनले त नातेदार पारे, एउटै परिवारका सदस्य जस्तो यो उनको आफ्नै वैशिष्ट्य हो। मलाई पनि एउटा जानकारी के भयो भने, हाम्रा सगोत्री पौडेल, पोखरेल, बगाले थापा आदि थुप्रै रहेछन् जससित कुटुम्बेली सम्बन्ध भनौँ वैवाहिक सम्बन्ध जोड्न मिल्दैन।

मैले राति यसो पोखरेलज्यूको कोठातिर चियाउँदा उनी केको आराम गर्थे ! ओछ्यानमाथि गजधम्म बसेर केही लेख्नमा तल्लीन देखेँ। मैले पनि उनको ध्यान खलबल्याउन चाहिनँ र आफ्नै कोठातिर लागेँ। मनमनै विचार गरेँ, नेपाली भाषा साहित्य वाङ्मयमा स्रष्टा त धेरे बनेका छन् तर बालकृष्ण पोखरेल बन्न सानो लगनशीलता र अध्यवसायले हुँदैन।

आइ.बी. राई दाइ, तुलसी सर, काशीराजज्यूका काठमाडौंमा आफन्ती मानिस थिए क्यार र उनीहरू बाटो लागे। पोखरेलज्यू र हामी दुई दम्पतिलाई भने डा.ताना शर्माले एउटा ट्याक्सीमा राखेर महेन्द्र युवालय आतिथिशालामा पुर्‍याए। भर्खरै बनेको त्यो अतिथिशालामा एकल बेडवाला ६ नम्बर कोठा पाख्रेलज्यूलाई सुम्पेर दुई बेडवाला ९ नम्बर कोठा हामीलाई देखाइदिएपछि डा. शर्मा बिदा हुनुभयो। यो आजभन्दा अर्धशताब्दी अघिको कुरा हो, अर्थात् अंग्रेजी सन् १९७२ को कुरो। उपरोक्त संगोष्ठीमा भाग लिन जाने काठमाडौं बाहिरका प्रतिनिधित्वलाई आउने जाने खर्चबाहेक दैनिक भत्ता रु. ४० र स्थानीय निवासी काठमाडौंकालाई रु. २० दिने गरेको थियो। अवश्य, लजको कोठाभाडा हामीले दैनिक भत्ताबाट आफैँले तिर्नुपथ्र्याे। अनि भाडा थियो हाम्रो कोठाको  ९, पोखरेलज्यूको एक कोठाको रु. ६।  

काठमाडौंमा पोखरेलज्यूका धेरै परिचित व्यक्ति हुने नै भए। काठमाडौं उनको निम्ति पानी–पँधेरो जत्तिकै ठहरियो। त्यसैले कोठामा बेग थन्क्याएर ताला मारेपछि ‘म एकछिन साथीहरूसित भेटेर आइहाल्छु’ है भनेर निस्की प्रायः दुई घण्टापछि उनी फर्केर सिधै हाम्रो कोठामा पसे। अनि ‘बसाइँ’ उपन्यासमाथि मैले पनि समीक्षा लखेको छु, यी हेर्नुहोस् त्यसको खेस्रा लेखेको खाता मसित छँदैछ’ भनेर एउटा लामो आलेख पढेर सुनाएको म सम्झन्छु। त्यो कुनै पत्रिकामा प्रकाशित भएको कुरा पनि गरेजस्तो लाग्छ। जो अब त्यति सम्झना छैन। भाषा र साहित्यसम्बन्धी निकै रसिला गफ भएपछि हामीलाई पुष्टकारीका एक एकवटा कुकडा चुस्न दिराखेर उनी आफ्नो कोठातिर लागे। यो पुष्टकारीको नाउँ मैले पहिलोचोटि बालकृष्णबाटै सुनेको र लोजेन चुसेजस्तो चुसेको पनि हो। पोखरेलज्यूका कुरा जति रसिला छन्, यो पुष्टकारी पनि निकै रसिलो लाग्यो मलाई। पछि पछि काठमाडौं आउँदा मैले पनि नयाँ सडक गुँदपाकको पसलबाट किन्ने गर्थें र मेरो मूलथलो गुवाहाटीसम्मै पुर्‍याउने गर्थें।  

दिउँसो बेलैमा सकिने यो चारदिने संगोष्ठीका दुई साँझ त तत्कालीन माननीय मन्त्री श्री रुद्रप्रसाद गिरी तथा साझा प्रकाशनका तत्कालीन अध्यक्ष कमलमणि दीक्षितका भव्य रात्रिभोजमै बिते। कतिपयले भोज खाए, निकैजसोले भोज खाए पनि भोज पिए पनि। केही व्यक्तिले भने भोज खाएनन्, हदै नाघ्ने गरी भोज पिए मात्र र व्यवस्थापकलाई डेरामा पुर्‍याइदिन कर लाग्यो। पोखरेलज्यू भने दुवै भोजबाट अलि चाँडै निस्कने गरेका हुन्। हामी लजमा पुग्दा उनी सुतिसकेका हुन्थे। संगोष्ठीको तेस्रो साँझ हामीलाई कमल दीक्षितज्यू भनौँ देवीस्वरूप उनकी धर्मपत्नीको निम्तो थियो चियो चमेनाको। गुवाहाटीमा भएको भेटघाटको नवीकरण गर्न खोजिएको पनि होला। 

भनाइ ‘चिया चमेना’ भए पनि विभिन्न परिकारको चमेनाले राति फेरि भोजनको कल्पनै गर्न नसकिने गरी भुँडी टन्न पारेर हामी बिदा भयौँ। कमलजीले आफ्नै कारमा हामीलाई युवालय पुर्‍याउँदा त्यहाँ के थाहा लाग्यो भने एउटा अटो दुर्घटनामा बालकृष्ण पोखे्रल पनि जख्मी भएकाले प्राथमिक उपचारका निम्ति उनलाई साथीहरूले अस्पताल पुर्‍याएका छन्। यो समाचार सुन्नेबित्तिकै कमलजी आत्तिएर तपाईंहरू बस्तै गर्नुहोस् म अस्पताल पुगेर आउँछु, भनेर कारमै निस्के। 

यो दुर्घटनाको समाचारले हामी पनि निकै चिन्तित भयौँ र आफ्नो कोठामा पनि नपसी बाहिर बरन्डाको एउटा बेन्चीमा गुमसुम बसिरह्यौँ तर झन्डै एक घन्टाजति पछि कमलजीले आफ्नै कारमा पोखरेललाई लिएर आएको देख्ता मन ढुक्क भो। खुट्टामा लागेको चोट त्यति घातक रहनेछ र सामान्य जाँच र उपचारपछि खुट्टामा लागेको चोटमा हल्का पट्टी बाँधेर केही औषधि दिएपछि डाक्टरले बिदा दिएछन्। साथै, एक साता जति आराम गर्ने सल्लाह पनि दिएछन्। हामी दुई दम्पतीलाई राति यसो पोखरेलज्यूको ख्याल राख्ने सुझाउ दिएर कमलजी बिदा भए। मैले राति यसो पोखरेलज्यूको कोठातिर चियाउँदा उनी केको आराम गर्थे ! ओछ्यानमाथि गजधम्म बसेर केही लेख्नमा तल्लीन देखेँ। मैले पनि उनको ध्यान खलबल्याउन चाहिनँ र आफ्नै कोठातिर लागेँ। 

मनमनै विचार गरेँ, नेपाली भाषा साहित्य वाङ्मयमा स्रष्टा त धेरे बनेका छन् तर बालकृष्ण पोखरेल बन्न सानो लगनशीलता र अध्यवसायले हुँदैन।  भोलिपल्टको साँझ उनले हामीलाई एउटा कथा सुनाए। त्यो हिजो राति लेखेको कथा रहेछ। अघिल्ला दिन उनीसित जोडिएका घटना भनौँ वा दुर्घटनालाई लिएर बुनिएको कथा रहेछ त्यो। अर्थात् आफ्नै घटेको अटो वा टेम्पो दुर्घटनामा परेर आफैँलाई पनि चोट लागेको घटना त्यसै साँझ बाटाका छेउमै आगलागी भएर घर जलेकाले धेरै परिवार बासहीन भएको दुर्घटनासित त्यस्तै मार्मिक तेस्रो घटना जोडेर रचिएको थियो कथा। तीन कथा, एक व्यथा भएझैँ लाग्छ, भोलिपल्टै उनको त्यो कथा कुनै पत्रिकामा प्रकाश भएको पनि सम्झना हुन्छ मलाई।  

यसरी पहिलो भेटमै एउटा अतिथिशालाका जोडिएका कोठामा चार रात पोखरेलज्युसित सँगै बिताउने सौभाग्य जुट्दा उनको सान्निध्यले मलाई पहिलोचोटि पुष्टकारीको नाउँ सुन्ने र त्यसको रस चुस्ने, विविध थरमा पाइने आफ्ना सगोत्रीहरू चिन्ने र कथा सुन्ने अनि फूलको माला गुथेझैँ सिपालु स्रष्टाको निम्ति कथा बुन्न जाने कथावस्तु भनौँ कथामा चाहिने घटनाहरू क्षणक्षणमै आफ्नै जीवन वरिपरि घुमिरहेका हुँदारहेछन् भन्ने बोध पनि मलाई भयो।  

बालकृष्ण पोखरेलज्यूसित त्यसपछिका भेटघाट केवल जम्काभेट भन्ने खालका छन्। कुनै सभासमारोहमा बाटाघाटामा केवल संयोगले भएका भेटघाट र भलाकुसारी अवश्य कुनै कार्यवश विराटनगर पुग्दा। दुईचोटि म विराटनगर उनको बास भवनमा पनि गएको हुँ। एकचोटिको भेटघाटमा श्रीमती पनि साथमा थिइन् र हामीले आलु उसिनेर भाजेको खाजा पनि स्वादले खाएको कुरा सम्झन्छुु, पोखरेलज्यूले ‘आलु मेरो ज्यादै रुचिको वस्तु हो यो आलु आफ्नै बारीको हो’ भनेका हुन्।  

काठमाडौंको पहिलो भेटमा चार रात एउटै लजमा बिताएको धेरै वर्षपछि पोखरेलज्यूसित एउटा लजको एउटै कोठामा सिंगो रात बिताउने अनुकूल पर्छ धुलाबारीको एउटा समारोहमा। यो सन् १९९७ मार्चको कुरा हो ! नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले एउटा बृहत अन्तर्राष्ट्रिय कथा संगोष्ठी भेलाको आयोजना गरेको थियो। २८ फब्रुअरी र १ मार्च १९९७ को दुईदिने कार्यक्रममा निम्त्याइएका कतिपय अग्रज साहित्यिकको बस्ने अवस्था धुलाबारीको सेरे पञ्जाब लजमा गरिएको रहेछ र संयोगले एउटा डबल बेडवाला कोठा बालकृष्णज्यू र मेरो भागमा परेको रहेछ।

दिनभरि गोष्ठीका विभिन्न कार्यक्रममा भाग लिएपछि हामी दुवैले उपरोक्त कोठामा रात बिताएका हौँ गफगाफ र पोखरेलज्यूका जाति, भाषा, वंश, थर, गोत्रको उत्पत्ति र विकासका कुरा सुन्दासुन्दै रातको तीन चौथाइ बितेको थाहै पाइएन, बिहान भनौँ ब्रह्म मुहूर्ततिर मात्र आँखा लागेछन्। यी कुरा मैले उक्त कथा संगोष्ठी विषय लेखेको संस्मरण ‘धुलाबारीको कथा संगोष्ठी भेला: मेची वारिपारिको रमाइलो मेला’ मा पनि छोएको छु जो पत्रपत्रिकामा बाहेक मेरो निबन्ध सँगालो ‘सिमलको भुवा’मा पनि संकलित छ।  

पोखरेलज्यूको देहवसान हुनुभन्दा त्यही डेढ दुई महिनाअघि हो क्यार चलभाषामा (मोबाइल) मा उनीसित केही समय कुरा भएको हो। प्रसंग के थियो भने डा. गोविन्दराज भट्टराईले मेरो सम्झना गरेर लेख्नुभएको एउटा लामै आलेख ‘अथक साधकप्रति शब्द पुष्पाभिनन्दन’ जो काठमाडौंबाट प्रकाशन हुने द्विमासिक पत्रिका रचनामा प्रकाशित थियो, बालकृष्णज्यूले त्यो पढेर निकै प्रशंसा गरी, डा. भट्टराईमाथि लेखिएको भीमकाय ग्रन्थमा टिप्पणी लेखेका छन्, जसमा मेरा कालिकोटे थर गोत्रमाथि पनि टिप्पणी व्याख्या छ।  

त्यही कुरालाई लिएर उनलाई धन्यवाद दिँदै मैले फोन गरेको थिएँ र यो पनि भनेको थिएँ कि कुनै दिन भेटेर कुरा गरौँला। त्यतिखेर मलाई के थाहा उनलाई भेट्ने कुरा त परै उनको बोली पनि अब सुन्न पाउनेछैन। उनीसित मेरो यो अन्तिम कुरा हुँदै छ। मानिस आखिर कति लाचार छ कति विवश, सारा विश्व ब्रह्माण्डको रहस्य जान्ने मानिस भोलि के हुन्छ त्यस विषय त सदा अनभिज्ञ रहन्छ।  

बालकृष्ण पोखरेल हामीमाझ नरहे पनि भाषा, साहित्य संस्कृति, जाति वंश, परम्पराको इतिहासभित्र उनी सदा जीवित छन् र जीवन्त रहनेछन्। मेरो आन्तरिक नमन उनको पवित्र आत्माप्रति, अनि जातीय जीवनलाई सदा अमर पारिराख्ने भाषा संस्कृति, वंश परम्पराको क्षेत्रमा उनले दिएको ऐतिहासिक अवदानप्रति असीम कृतज्ञता र अमेट श्रद्धा। गुवाहाटी, असम

प्रकाशित: ८ जेष्ठ २०७८ ०४:१० शनिबार

बालकृष्ण पोखरेलसित सम्झेबिर्सेका बातहरू