कला

लोककथा

दशा

बोधराज पौडेल  

 

     एक समयको कुरा हो । ब्रम्हाद्वारा दशाको उत्पति गरिएछ । यसलाई के काम दिऊँ भनी सोच्दै थिए तर दशा नै ब्रम्हाकोमा मेरो काम के हो ? भनी सोध्न गएछ । तर त्यो कुरा ब्रम्हासँग सोध्न नसकी त्यसै फर्किएछ । र, विष्णुको तपस्या गर्न थालेछ । उसको तपस्याबाट विष्णु भगवान् खुसी भएर वर माग्नलाई भनेछन् । दशालाई के खोज्छस् कानो आँखो भनेझैं भएछ । दशाले “म हरपल पृथ्वीमा रहेका प्राणीहरूलाई दुःख दिन पाऊँ र मेरो दुःखको कारणले नै उनीहरूको मृत्यु होस् भन्ने वर मागेछ ” विष्णुले पनि तथास्तु भनी वरदान दिएछन्।

उता विष्णुले दशालाई वरदान दिएको देखेर ब्रम्हा छक्क परेछन् । उनी विष्णुको आज्ञा पनि उल्लङ्घन गर्न सक्दैनथे।

वरदान पाएपछि दशाले आफ्नो कामकाज गर्न थालेछ । दशा जसलाई लाग्छ उसले दुःख, पीडा, क्षति र मृत्यु समेत व्यहोर्नुपथ्र्यो । अनि उसले आफूले पाएको वरदान शक्तिशाली भएको पायो। दशाको यो अत्याचार देखेर सबै प्राणीहरू मिलेर विष्णुको तपस्या गरेछन् । तिनीहरूको तपस्यादेखि विष्णु भगवान् खुसी भएछन् । विष्णुले तिमीहरूको तपस्यादेखि म खुशी भएँ के वर माग्छौ भनी भनेछन् । दशाले ज्यादा नै दुःख दियो। त्यसैले उसको हरण गरियोस् भनी वर मागेछन् । मैले दिएको वरदानले गर्दा दशाले यो दुःख दिएछ । अब यसको शक्तिहरण गर्नु पर्यो भन्ने लागेछ र तथास्तु भनी वरदान दिएछन्।

यता दशाले पनि आफ्नो शक्तिहरण गर्न लागेको कुरा थाहा पाएछ। तर, आफूले तपस्या गरी पाएको वर हो कहाँ त्यसै हरण होला भनेर  विष्णु भगवानलाई भेट्न गएछ । अब त यो शक्ति अरूलाई हैन पहिला विष्णुलाई नै देखाउनुपरयो भन्ने लागेछ । दशा मनुष्यको रूपधारण गरेर एउटा गरीबको घरमा गएछ। त्यो बेला गरीबको घरमा टपरीमा राखेर खोले खान लागेका थिए। त्यसै बेला दशा त्यहाँ पुगेको हुनाले उनीहरूले खाँदै गरेको खोले पोखिएछ। ला दशा लागेको बेला यस्तै हुन्छ भनेर घरवालाले भनेछ। त्यसपछि दशाले तँलाई अझै लाग्न बाँकी छ भनेछ। त्यसबेला विष्णु भगवान् पनि यो दशाले के गर्न लाग्यो भनी विचार गर्न मान्छेको भेषमा त्यही पुगेका थिए । उनले यो सम्पूर्ण कुरालाई हेरिरहेका  थिए । त्यस पछि विष्णु भगवान्ले यस्तालाई होइन । सक्छस् भने मलाई लाग । तँ पाजीको शक्तिको परिक्षण गर्छु भनेछन् । त्यो दशाले तपाईको आज बेला भएको छैन भोलि बाह्र बजे तपाईलाई लाग्छु भनेछ । विष्णु पनि मलाई दशा लाग्छु भनेको छ त्यो आउनुभन्दा पहिल्यै म सँ सुँगुरको भेष बदलेर मजाले आहालमा बसिरहन्छु भन्ने सोचेर सुँगुर बनेर आहालमा बसिरहेका थिए । त्यसबेला दशा पनि आएर हेरेछ।

विष्णु भगवान् त मजाले सुँगुर  भएर आहालमा नुहाइरहेको देखी त्यहाँबाट अलिपरको चौतारीमा गई आराम गरेछ । यतिबेला भइसक्यो तर पनि दशा आएन ।अब त आफ्नो रूप धारण  गर्नुपर्यो भनी आफ्नो रूपधारण गरेर यसो विचार गर्छन् त दशा त चौतारामा आराम गरेर बसिरहेको छ। विष्णु पनि दशालाई भेटौं भनेर त्यतै लागेछन् । त्यहाँ पुगेर दशालाई खै त तिमी आएको भनी सोधेछन् । दशाले पनि म तपाईलाई भेट्न दिएको समयभन्दा अगाडि नै तपाईमा लागे। त्यसपछि तपाई सुँगुर बन्नुभयो ।  मलाई तपाईं विष्टा खाने सुँगुर बनेको देखेर घिन लाग्यो र यहाँ आएर बसिरहेको छु । त्यसपछि आफूले दिएको वरदानको शक्ति विष्णुले पनि थाहा पाएछन् । विष्णुले दशालाई बिदा दिएर आफू पनि बैकुण्ठ गएछन् । दशाले विष्णु भगवान् माथि त विजय गरेको छ भने हामी जस्ताको त के लाग्छ । त्यो समयदेखि आजसम्म पनि दशाले आफ्नो बलले झगडा, रीस र धनजनको क्षति गरीरहेको छ।

(नोट – यो कथा मैले खम्बराज राईबाट लिएको हुँ। )    

प्रकाशित: ६ जेष्ठ २०७८ ०७:२३ बिहीबार

अक्षर