कला

लाकोजूको ‘घाम फुल्ने याम’ बजारमा

नेपाली साहित्य र पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका कवि सूर्यप्रसाद लाकोजूको पाँचौं कवितासङ्ग्रह ‘घाम फूल्ने याम’ प्रकाशित भएको  छ। ‘घाम फूल्ने याम’का अतिरिक्त उनका ‘भावनाका फूलहरू’, ‘फूलहरूको मेला’, ‘शाश्वत स्वरहरू’ गरी अन्य चारओटा कवितासङ्ग्रह प्रकाशित छन्।  

लामो समयदेखि नेपाली भाषा र साहित्यमा समर्पित लाकोजूको ‘घाम फूल्ने याम’भित्र ५८ ओटा विविध विषयका कविताहरू समावेश गरिएका छन्। नेपाली कविता विधामा आफ्नो फरक प्रवृत्ति बनाइसकेका सूर्य लाकोजूको प्रस्तुत कविता कृतिमा वर्तमान नेपाली समाजको यथार्थ चित्रण रहेको छ।

समाजमा रहेका विकृति, बेथिति कविताका विषय बनेका छन्। असन्तुष्टि र निराशामा बाँच्न विवश देशका युवाहरूको प्रतिनिधि आवाज पनि हो उनको यो कविता सङ्ग्रह। मानवीय संवेदना र यथार्थबोधी भावना बोकेको प्रस्तुत कवितासङ्ग्रह नेपाली साहित्यको पठनीय कृति  बनेको छ।  

कविताका साथै निबन्ध, हाइकु, मुक्तक, नियात्रा, अनुवाद, अनुसन्धान विधामा कलम चलाउँदै आएका लाकोजूका ‘स्पर्श’, ‘मेरो मन मेरो मीत’, ‘पनौती’, ‘पनौतीको बाह्वर्षे मकरमेला’, ‘स्मृतिका आलेखहरु’, ‘प्रेरणाको चौतारी’,  ‘गुराँस फुल्ने मन’, ‘कोपिला’, ‘केही काभ्रेली अक्षरकर्मीहरु’, ‘घामको चुम्बन’, ‘अक्षरका स्वरहरु’, ‘सुसेली’, ‘यःमरी’, ‘घाम उदायो’, ‘शाश्वत स्वरहरू’, ‘मेरो घाम’, ‘फूलैफूल’, ‘साथी’, ‘मेरो सानो घर’, ‘आसामको स्पर्श’, ‘स्वर्णिम धुन’, ‘दिवाकरका चुम्बन’ गरी करिव दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्।

प्रकाशित: ५ जेष्ठ २०७८ ०९:३१ बुधबार

नेपाली साहित्य सूर्यप्रसाद लाकोजू