कला

कालो भूत

लोककथा

बोधराज पौडेल

 

     धेरै वर्ष पहिलेको कुरा हो । हाम्रो खेती बुढाराई र गैराबारीमा थियो। त्यस खेतमा पानी लगाउन नजिकमा पानीको मुहान नभएको हुनाले गेलुम खोलाबाट पानी ल्याएर सिँचाई गरिन्थ्यो। कहिलेकाहीँ रातको समयमा समेत पानीको पालो पर्दथ्यो।

साँझ परेपछि गेलुम खोलामा बाजागाजा सहित भूतहरूको नाचगान सुरु हुन्थ्यो।  मान्छेहरू दिनमा पनि त्यहाँ जानलाई डराउँथे । वर्षाको समय खेतीपातीको समय हुन्थ्यो। त्यस बेलाको घनघोर वर्षाले कुलोमा झन् धेरै क्षति पुरयाउँदथ्यो। बारबार कुलो बनाउन धाइरहनु पर्दथ्यो। त्यो कामको जिम्मा कान्छावाउ, गुरुदाइ र मेरो थियो। हामीलाई डर लागे पनि हामी त्यो कुलोमा जान आउन बानी परिसकेका थियौ।

एक दिन असारको रातमा कुलो बिग्रिएर पानी आउन छोड्यो। हामी तीन भाइ कुलो बनाउन गयौ। त्यस समयमा उज्यालोको लागि बाँसको भाटा चिरेर राँको वनाइन्थ्यो। त्यसैको उज्यालोमा यात्रा गर्नुपर्दथ्यो । हामी बाँसको भाटाको उज्यालोमा जाँदै थियौ , एक्कासि हाम्रो राँको निभ्यो। कान्छावाउले बाल्नका लागि धेरै प्रयास गरे पनि त्यो बलेन । हामी अँध्यारोमा नै हिँड्न थाल्यौ । त्यस बेला खोलामा बाजा र ढोलहरू बजिरहेका थिए। गुरु दाइ म अलि सानै थियौ कान्छा बाउ त्यस्तै चालिस वर्ष जतिका थिए होलान् । उनले राँको निभेको र बाजाहरू बज्न थालेकाले भतिजाहरू डराउलान् भनेर होला , हामीलाई नडराओ केटा हो केही हुँदैन भनेर भन्दै थिए । त्यो बेला हामी कुलाको मुहानमा पुगिसकेका थियौ। हामी त्यहाँ पुगेर कुलो बनाइसक्न लाग्दा एउटा ठूलो चिउरीको रूख पनि लड्यो । हामी केही डरायौ।

कुलो बनाएर फर्किदै गर्दा गुरु दाइको स्टकोट (भोटो, ज्वारीकोट) कसैले पछाडिबाट तान्न थाल्यो । फर्केर हेर्दा केही पनि छैन। तर पनि गुरु दाइ अघि बढन सक्नु भएन। उहाँले डराउँदै कान्छा बाउलाई भन्नुभयो—कान्छा बाउ मलाई केले हो तानेर हिँडन्ै दिएन पछाडि हेर्दा केही पनि छैन। कान्छा बाउले ज्वारीकोट खोल्न भन्नुभयो । गुरु दाइले ज्वारीकोट खोलेपछि त्यो च्यातेको जस्तो आवाज आयो। हामी यतिबेला तीनै जना एकै ठाउँमा थियौं । मैले कान्छा बाउको खुट्टामा हेरे, ओहो बुढाको जुत्ता त छैन बा ! म त छक्क परे र सोधे “खै ! बाउ जुत्ता ? बुढा त चुप लागे ।” केही छिनपछि छालाको काँटी नठोकेको जुत्ता भएको हुनाले त्यो त उहाँले लगाएको बेला कसैले तानेको तान्यै गरेर हिँड्न नदिएपछि पहिल्यै खोल्नु भएको रहेछ। (त्यस समयमा स्थानीय चमारले बनाउने जुत्ता नचिप्लियोस् र भूतले नछोओस् भनेर काँटी ठोक्ने चलन थियो) हामी साना केटा डराउँछौ भनेर मात्र बुढाले नभनेका रहेछन्। कान्छा बाउले  हावाले मारेको राँको फुक्दा बल्छ। तर, भूतले मारेको राँको जति फुक्यो उति मर्दै गएर आगो नै सकिन्छ भन्ने जानकारी दिनुभयो।

ज्वारीकोटसँगै झुलो चकमक छोडियो । सुर्ती खाने कसरी ? गुरु दाइ छानामा छामछुम गर्न लाग्नुभयो थोरै झुलो फेला पर्यो । दर्सिन ढुंगा अगेनाको छेउमा थियो । त्यो पनि भेटियो अनि कचियाको सहायताले आगो पारेर रातभरि आगो ताप्दै पानी लगाइयो।

भोलिपल्ट बिहान जुत्ता र ज्वारीकोट लिनका लागि गुरु दाइ र म गयौ। अचम्म के भने जुवाडी त मजाले ऐंसेलुको झ्याङमा पो झुन्डिरहेको छ त। न च्यातिएको छ न त भुइँमा। बुढाले तान्न नसकेर छोडेको जुत्ता पनि  बाटामा त्यतिकै लडिरहेको भेटियो।

वर्षा सकिएर माघको दिन आएको थियो। गाउँमा चरनको अभावमा गाईवस्तुलाई बसेनी भन्ने दुधकोशीको किनारमा सारिएको थियो। त्यहाँ पनि रातको समयमा त्यो भूतले धेरै दुःख दिन्थ्यो । भूतले किलोमा बाँधेका वस्तुलाई मान्छेले झैं फुकाएर धपाईदिन्थ्यो । एक दिन हैन, दुई दिन हैन गोठमा बस्ने मान्छेहरू आजित भइसकेका थिए । त्यसवेला अन्तरे भन्ने एउटा केटो पनि विगार गर्नमा कहलिएको थियो । बुढाहरूले पक्कै पनि उसैको काम हुनुपर्छ भनेर चियो गरे। फेरि पनि जब बुढाहरू उँग्न थाल्थे। फेरि भंैसी फुक्थे । बुढाहरूले कसले यो काम गरेको रहेछ भन्ने बुझ्नका लागि गोठ वरिपरि खरानी छरे त्यहा कुनै पाइला थिएनन। तर पनि वस्तु फुकेका थिए।

यसबारे तलवाली बुढासँग बुझ्दा यो काम भूतले गरेको हुन सक्ने र भैंसीको किलामा हलोमा ठोक्ने करुवा ठोकिदिए यो काम बन्द हुने बताए। पछि उनले भनेअनुसार गर्दा यो क्रम रोकियो र भैंसीहरू फुक्न छोडे । ती बुढा ज्योतिष र झारफुकको काम समेत गर्दथे।

एक दिन साँझको समयमा देवीथाने बूढा मोही पार्दै थिए। त्यो समयमा कालो भूत पनि आयो र देवीथाने बुढाले झैं मोही पारेझैं गर्न थाल्यो । बुढाले पनि पख् न त भन्ने विचार मनमा आएछ। उनले मोही पारिसकेर नौनी घिउ झिकेपछि हातमा लागेको नौनी घिउ हातखुट्टामा दल्न थालेछन् । त्यो भूत पनि त्यसै गर्न लागेछ । देवीथाने बुढाले भूतलाई खोटोको दुनो ल्याएर दिएँ। ऊ खोटो मजाले दल्न थाल्यो। देवीथाने बुढा अगुल्टाले हातखुट्टा सेकाउन थाले। भूत पनि त्यसै गर्न लाग्यो र उसको शरीरमा दलिएको खोटो पग्लिन थाल्यो र त्यो बल्यो। जब भूतको शरीरमा आगो लाग्यो तब पीडाले कराउदै मरें बाबा मरें अब म कहिल्यै पनि मान्छेको छेउमा आउँदिन र उसको नकल पनि गर्दिनँ भन्दै भाग्यो। त्यो बेलादेखि आजसम्म त्यो कालो भूत फेरि गाउँमा देखिएको छैन।

(नोट – यो कथा खोटाङ जिल्ला साविक बडहरे गाविस वडा नं. ३ हात्तिवन बस्ने  ६५ बर्से  एकवल्लभ पौडेलबाट लिइएको हो ।)

प्रकाशित: २ जेष्ठ २०७८ १२:१७ आइतबार

अक्षर