कला

टुक्रिएको प्रेम

कथा

प्रेम कटवाल

‘शिलु आज म निराश छु, मेरा यी चेहराका हरेक नशानशामा आत्माग्लानिका रेशाहरू बाहिरेका छन, लाचार भएको छु। खै कसरी भनौ? जब तिम्रोसामु ओठ खोल्न खोज्छु। अनायासै बडेमानको पहाडले थिचेको आभाष हुन्छ र धरातल भासिएर तल गहिराइसम्म पुग्छ। विवश छु परिस्थितिसँग घुँडा टेक्न। प्राण भएर र धड्कन चलेर पनि आफैंलाई जिउँदो लास भएको महसुस गरिरहेको छु। बाध्य हुँदैछु म आत्माविहीन यो भौतिक शरीर लिएर बाँच्न। म यसैगरी एकोहोरो बेसुरमा फतफताइरहेको थिएँ उता शिलुका गहभरि मोति दानाहरू टिलपिल – टिलपिल भरिएका थिए।

 सायद मेरा यी अव्यक्त भावहरू नै उनका लागि इसारा बनिरहेका थिए। सूर्यले पश्चिमको क्षितिज क्रमशः चुम्दैचुम्दै आफ्नो समाप्तिको स्वघोष गर्नै लागेको थियो। किराहरूको एकोहोरो किरिरी आवाजले  मनमा अनौठो किसिमको डर, त्रास र भयको सिर्जना गरिरहेको थियो। पुसमाघको साँझ मन्दमन्द चिसो हावाले हामी दुवैलाई चुमिरहेको थियो। शरीर  एकतमासले  लुगलुग काँपिरहेको थियो र निरासपनको भाव झल्किरहेको थियो हामी दुवैमा।

–भने हुन्छ नि ‘दीपु’ मलिन मुहार पार्दै आँसुका ढिक्का टप्लक्क खसाउँदै भनिन्–‘भन दिपु, आखिर कतिञ्जेल यसरी तड्पाएर मनका भावनाहरू मनमै राख्छौ? तिमीले नै भनेको हैन ‘कुनै पनि कुरा  मनमै गुस्याएर राख्यो भने भोलि फेरि बताउने मौका नआउन पनि सक्छ अनि मन मिल्ने मान्छेलाई दुःख बाँड्यो भने दुःख घट्छ भनेर!’ फेरि तिम्रो मभन्दा नजिकको मान्छे को नै छ र यो दुनियाँमा ?’ 

रुन्चे स्वरमा जतिजति उनका आवाजहरू पोखिँदै जान्थे उतिउति मेरो मनमा भय र आत्मग्लानिको तीरले मन्दमन्द घोच्दै जान्थ्यो अनि म स्वयंलाई कताकता लाचारीपनको बोध महसुस भएर आउँथ्यो। धेरैबेरको मौनतापछि फेरि थपिन्– ‘दिपु, कि कतै हाम्रो मायामा....?’ भन्दै मुन्टो तलतिर झुकाइन् रोकिए उनका शब्दहरू । उनको गला अवरुद्ध भयो । सायद उनमा पनि एक किसिमको शंका र भयले गाँजिसकेको हुँदो हो। बिस्तारै उनको मुन्टो सम्हालेर मेरो काखमा राखेँ। सिरसिर हावासँगै उनका लामालामा केशराशिहरू तँछाडमछाड गर्दै सलबलाइरहेका थिए गन्तव्यविहीन यात्रीझैं यत्रतत्र ...!’

– आफूलाई सम्हाल शिलु’ संसार सधैं हाम्रो पक्षमा नहुने रहेछ। हामी मानिस समय र परिस्थितिको दास हौं जस्तोसुकै परिस्थिति सहेर बाँच्न सक्नु हाम्रो विवशता हो।’ सम्झाउँदै थिए म। रात आफ्नै गतिमा सलल बगेर छिप्पिदै– छिप्पिदै आफ्नै पहर नाप्दै थियो। पारि गाउँका कुकुरहरू घ्वाङघ्वाङ आवाजसँगै बफादारीपूर्वक घरको पहरा दिइरहेका थिए। आज बाध्यता र विवशताले निम्त्याएको मेरो अन्तिम निर्णय शिलुलाई सुनाउनु नै थियो भित्रैबाट साहस जुटाएर मैले काँपेको स्वरमा भनें, ‘शिलु,मलाई माफ गरिदेऊ । म चाहेर पनि यो जुनीमा तिम्रो भएर रमाउन सकिन।’

हाम्रो विहे अब सम्भव नहुने भयो। दुवैमा धैर्यको बाँध फुट्यो। अचानक बेचैनीको सन्नाटा छायो। फेरि आफैंले आफैलाई सम्हाल्यौ दुवैले।

–मैले त भनेकै थिँए नि ‘दिपु’ तिम्रा लागि म योग्य छैन। तिम्रो हरदुःखमा साथ दिए पनि तिम्रो जिन्दगीभर तिम्रो भएर रम्ने र रमाउने अधिकार मलाई हाम्रो संस्कार र यो समाजले स्वीकार्ने छैन भनेर। यी सबै बुझेर पनि म एक गरीब, दलित र पिछडिएकी वर्गकी परिवारकी छोरी तिमीसँग सम्बन्ध गाँस्न खोज्नु योभन्दा ठूलो भूल मेरो जीवनमा केही  हुनै सक्दैन भन्दै आफैलाई धिक्कार्दै थिइन् उनी।

‘शिलु’ संसारका कति कुराहरू चाहेर पनि नपाउनु यो प्रकृतिको पनि दोष हो। मलाई राम्ररी थाहा छ तिमी दलित हौ। तर, तिमीमा त्यस्तो के छैन जुन उच्च खानदानी नारीमा छ? भन शिलु, के कुराको कमी छ तिमीमा? .....नचाहेर पनि अरूकै खुसीका लागि बाँच्नुपर्ने बाध्यता हुँदोरहेछ। जन्मसँगै मृत्युसँगको सम्झौता पूरा नभएसम्म चाहेर पनि आफ्नो प्राण फाल्न सम्भव रहेनछ सम्झाउँदै भनें मैले। गहबाट तप्किएका आँसु पुछ्दै ‘दिपु मेरो कारण अब यो रूढिवादी परम्पराले जकडिएको समाजमा तिम्रो जीवनमा कुनै बाधाअड्चन र अप्ठ्याराहरू आउने छैनन्। 

छातीमा हात राखेर दृढविश्वासका साथ भन्छु– यो समाजलाई मैले पनि राम्ररी बुझेकी छु। अब यी सबै हाम्रा प्रेमकहानी  तिमीले पनि भुल्नुपर्छ र मैले पनि। तिमी आफ्नै छुट्टै संसारमा रमाएर बाँच्नुपर्छ । तिम्रा ती खुसीहरूसँगै मेरो पनि यो मन रमाउने छ। म कदापि तिम्रो खुसी खोस्न आउने छैन। न्यानो स्पर्शसँगै भनिन्।

–शिलु, तिमी कति महान छ्र्यौ है भन्दै उनको गालामा स्पर्श गर्दै रुन्चे बनावटी हाँसो हाँसिदिएँ। रात छिप्पिसकेको थियो। पहाडी गाँउका गÞरीब बस्तीहरूमा पनि मौनता छाइरहेको थियो। बिस्तारैबिस्तारै भारी पाइलाहरू अगाडि बढायौ दुवैले सदाझै शिलुको आँगनसम्म पुरयाउन गएँ दलानको डील टेक्नु पूर्वै पछाडि फर्केर इसारामै बिदाइका हातहरू हल्लाइन् अनि हात हल्लाएर स्वीकार्दै लागे आफ्नै बासस्थानतिर।

माघ महिनाको जाडो बिहानको करिब ८ बजिसक्दा पनि सूर्यका किरणले आफ्नो प्रभुत्व जमाइसकेका थिएनन्। आँगनभरि मानिसहरूको घुँइचो थियो। घरबाट टाढा हिँडेर जन्ती जानुपर्ने भएकाले  ९ बजेतिरै सबै आफन्त इष्टमित्र, कुलकुटुम्ब, साथीभाइ जम्मा भैसेका थिए। यति ठूलो भिडमा कताकता केकेको कमी भएको र एकप्रकारको निरास महसुस गरिरहेको थिएँ मैले। शिलु जे जस्तो भए पनि मेरो बिहेमा त आऊ ल? भनेर निम्तो थमाउँदा – ‘दिपु, अवश्य आउँछु नि तिम्रो खुशी नै मेरो खुशी त हो नि हैन र?’ भन्दै उही पुरानै मन्द मुस्कान मुस्काएकी थिइन्।

 निम्तो थमाउँदा शिलुले, जो झल्किरह्यो नयनभरि, नभन्दै त्यही भीडबाट हस्याङफस्याङ गर्दै नजिकै आएर मुसुक्क मुस्काउँदै  ‘दिपु वेस्ट अप लक, मे गड ब्लेस यु’ भनिन्। मनको बाँध रोक्न हम्मेहम्मे भयो हर्षका आँसुले परेली चुमे। यसैयसै मन बहकिएर आयो उनको त्यो प्रेमप्रतिको त्याग र समर्पणप्रति म लज्जित भएर मुख रातो पारें ता कि मायाप्रेम बुझेको र अनुभव गरेकाले जो कोहीले सहजै पढ्न सक्थे मेरो चेहरा। फेरि पनि गरौं मन पार्दै स्वीकृतिको संकेत गर्दै प्रस्थान गरियो एक हूल जन्ती लिएर। जिन्दगीले यात्रा मोडिसकेको थियो। 

अब परिवारमा अलग्गै जिम्मेवारीको बोझ काँधमा थपिएको थियो। घरपरिवारमा बेग्लै किसिमको खुसी र आनन्द छाएको थियो। परिवारको एक्लो छोरो त्यसमा पनि बाबाआमाको हेराइ र रोजाइको बुहारी भित्रयाउन पाउँदा संसारका ती भाग्यमानी बाबाआमालाई मिल्ने खुसी मिलेको थियो मेरा बाबाआमालाई पनि यस्तो लाग्थ्यो। बेग्लै किसिमको संसारमा रमाइरहेको थियो हाम्रो सानु परिवार।

बिहेको पर्सिपल्ट बिहान सबेरै गाँउभरि हल्लीखल्ली भयो। शिलु घरमा छैनन् रे। बिहान ओछयानमा हेर्दा भेटिइनन् रे। यस्तै आवाजहरू गावैभरि गुन्जिरहेका थिए। एक्कासि आङ सररर फुलेर आयो। शिलु एउटी साहसी र असल चरित्र भएकी केटी हुन् –अहँ यो हुन सक्दैन। फेरि जुटियो सबै मिलेर शिलुको खोजीमा । आखिर शिलु लासको रूपमा भेटिइन् । भिड एकाएक चित्कार र रोदनमा परिणत भयो । मृत्युको रहस्य बुझ्नमा सबै आतुर थिए। लागिरहेको थियो उनको मृत्युको दोषी अरू कोही नभएर म स्वयं आफै थिएँ।

 भित्रभित्रै आफैलाई धिक्कारे कतै हाम्रै प्रेम शिलुको गलाको पासो त बनेको हैन? त्यतिखेरै आफ्नो घाँटी आफैं दबाएझैं भयो। आखिर शिलुले पनि पूर्ण सहमति जनाएकी थिइन् मेरो बिहेका लागि। यस्तैयस्तै सोच्दै थिए। शिलुले जीवनको अन्तिम घडीमा एउटा नोट यसरी लेखेकी थिइन्–  

‘दिपु’ मेरो संसारको सबैभन्दा ठूलो खुशी र संसारको सबैभन्दा प्यारो मान्छे तिमी नै थियौ। मैले हरेक पल्ट आफू हारेर तिमीलाई जिताएकी थिएँ। आफू रोएर हसाएकी थिएँ । तिम्रा आँसु मलाई सह्य हुँदैनथे। मैले यो निर्णय पहिले नै गरिसकेकी थिएँ जुन दिन तिमीले हाम्रो प्रेमको अन्त्य भएको घोषणा तिम्रै मुखबाट सुनाएका थियौ। तिम्रो खुसी देख्नु थियो। मेरो यो मृत्युमा आँसु नझार्नु ल? असल दाम्पत्य जीवनको उदाहरण दिँदै यो उचनिच, जातभात, धर्म र छुवाछूतको भेदभावमा जगडिएको हाम्रो समाजको संकुचित भावनालाई डटेर निर्मूल पार्नुपर्छ जुन तिमीले बारबार भन्ने गथ्र्यौ। अन्तमा तिमी र तिम्रो परिवारको उज्ज्वल भविष्यको कामना गर्दै संसारबाट बिदा लिँदै छु।

उही तिम्रो बन्न नसकेकी शिलु ! 

(नोट– कथाका पात्रहरू सबै काल्पनिक हुन। यदि कसैको वास्तविक जीवनमा मेल खान गएमा एउटा संयोग मात्र हुनेछ।)

प्रकाशित: २ जेष्ठ २०७८ ०३:०९ आइतबार

अक्षर