कला

दोलखामा बन्ने भो 'फिल्म सिटी'

दोलखा-'फिल्म सिटी' कहाँ बन्ने भन्ने तीन वर्षदेखिको अन्योल अन्त्य भएको छ। सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले बिहीबार फिल्मसिटी दोलखाको लाँकुरीडाँडामा बनाउने घोषणा गरेका छन्।


फिल्म सिटी निर्माणका लागि सबै प्रक्रिया पूरा गरेर बिहीबार प्रस्तावित निर्माणस्थल दोलखाको लाँकुरीडाँडास्थित 'डाङडुङ्गे डाँडा' क्षेत्रको भ्रमणमा आएका पौडेलले फिल्म स्टुडियोका लागि तत्काल दुई करोड बजेटसमेत विनियोजन गरिसकेको बताए।

सरकारले फिल्म सिटी निर्माण गर्ने घोषणा गरेपछि कहाँ बन्छ भन्ने तीन वर्षयताको अन्योल मेटिएको सञ्चार मन्त्रालयले बताएको छ। 'सबै निकायसँग परामर्श र कामको प्रक्रियासमेत पूरा गरेर दोलखाको लाँकुरीडाँडामा फिल्म स्टुडियो निर्माण गर्ने निष्कर्षमा सरकार पुगिसकेको छ,' पौडेलले भने। विनियोजित रकम खर्चको अख्तियारी चलचित्र विकास बोर्डलाई दिएको जानकारी दिँदै केही रकम खर्च गर्न बोर्डले टेन्डर प्रक्रिया सुरु गरिसकेको उनले बताए।

मन्त्रालयले दोलखामा स्टुडियो बनाउन चलचित्र नगरी विकास समिति गठनको मस्यौदा तयार पारिएको र केही दिनभित्रै बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि काम अघि बढ्ने पौडेलले बताए। 'समितिमार्फत पूर्वाधार निर्माण, विस्तृत सम्भाव्यता अध्ययनलगायत काम अघि बढाउँछौं,' उनले भने। उनले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत छि्ट्टै अध्ययन थालिने बताए।

समुन्द्री सतहबाट करिब ३२ सय उचाइमा रहेको यो क्षेत्रमा पर्ने १५ सय रोपनी जग्गा र आसपासलाई फिल्म सिटी बनाउने प्रस्ताव गरिएको छ। लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुंगा बजारबाट ६ किलोमिटर कच्ची सडक हुँदै पुगिने प्रस्तावित फिल्म सिटी निर्माणस्थल जिल्लाकै सुन्दर स्थानमध्ये पर्छ।

उपयुक्त भौगोलिक वनावट, आँखैअगाडि देखिने गौरीशंकर, गणेशसहितका आधा दर्जन हिमशंृखला, गुराँसका मिलेका बोट, लेकको सुन्दर भूगोलमा पनि पर्याप्त रहेको फाँटका कारण चलचित्र नगरीका लागी यो क्षेत्र छनोट गरिएको चलचित्र विकास बोर्डले जनाएको छ। यस्तै प्याराग्लाइडिङ, बन्जी जम्प, स्केटिङ, जंगल सफारी, रक क्लाइम्बिङलगायत विभिन्न खेलका लागि समेत यो स्थान उपयुक्त मानिन्छ।

मन्त्रीको भ्रमणपछि शुक्रबार सदरमुकाम चरिकोटमा आयोजित सर्वपक्षीय बैठकमा जिल्लावासीले फिल्म नगरी निर्माणका लागि उत्साह र जागरुकता देखाएका थिए।

प्रकाशित: २३ मंसिर २०७० ०१:२२ आइतबार