कला

मिसन साहित्य

दामोदर न्यौपाने 

 

बालबालिकाले दासतापूर्ण जीवन बिताउनुपरेका विषयवस्तुमा मिहीन ढङ्गले लेखिएका पुस्तक बजारमा पाइएका भए सायद यो विषय म लेख्ने नै थिइनँ होला । विषयवस्तु खोज्न मेची–काली दौडिने नै थिइन । वक्ता भएर भने पक्कै जाने थिएँ यी मुद्दा लिएर।

साहित्यले नेपाली समाजमा बहस चलाउनुपर्छ तर किन गम्भीर मुद्धामा पनि बहस कम चल्छन् ? समाजमा बहस चलाउने विषय किन कमै लेखिन्छन् ? साहित्य किन उत्पादनमुखी भएन ? यी पेचिला प्रश्न हुन् लेखन क्षेत्रमा।

आवश्यक बहस नचलाएरै साहित्य अनुत्पादक भएको हो। यस्तै गुनासो गर्थे दोलखाका एक सचेत पाठक, सामाजिक अभियन्ता, साहित्यानुरागी अर्थात् वृख क्रान्ति। यो गुनासोसँग सतप्रतिशत सहमत छु म। मलाई बहस चलाउने विषय लेख्न मन पर्छ । म जुन विषय खोजिरहेको छु, तिनले कुनै न कुनै रूपमा बहस चलाएकै छन् नेपाली समाजमा।

बाल श्रमिकको मुद्दा पनि त्यस्तै विषयमध्ये एक हो, जसले नेपाली लेखन क्षेत्रमा मुद्दा बनाएकै छैन भन्ने गुनासो सुनिरहेको छु । यो गुनासो सत्यसँग नजिक छ । किनभने यस्ता विषयका किताब भेटेकै छैन पुस्तक बजार चहार्दा। कसैले लेखेर चर्चा नभएको भए बेग्लै कुरा । गैरसरकारी संस्थाले गरेका केही प्रतिवेदन भेटिन्छन् । तिनै प्रतिवेदनलाई पुस्तकको रूप दिएको कतै भेटिएला। नेपालमा बालश्रमको अवस्था – एक विश्लेषण पुस्तक सुर्खेतमा भेटेको थिएँ। केही सरकारी प्रतिवेदनलाई पुस्तकको रूप त दिइएको थियो। तर, त्यसमा साहित्यिक स्वाद पटक्कै पाइनँ। केही तथ्य–तथ्यांकबाहेक मान्छेका कथाव्यथा भेटिन त्यहाँ।

आख्यान पनि होलान् तर मैले भेटेको छैन। न आख्यान भेटिन्छ, न त गैरआख्यान। कतै किताबै भेटिँदैनन् भने बजारमा पुस्तकमार्फत बाल श्रमिकका मुद्दा उठाइएनन्, लेखिएनन् भनेर निष्कर्ष निकाल्नै पर्ने भयो। मैले खोजेका किताब जब पाउँदिनँ, यस्तो किताब लेख्नुपर्ने रहेछ भन्ने लाग्छ। अनि लेख्ने हुटहुटी जागिहाल्छ।  

बाल श्रमिकबारे लेख्नै पर्ने हुटहुटी चलिरहेकै बेला देश दौडाहामा निस्किएको थिएँ— पुस्तक चर्चाको सिलसिलामा । त्यही सिलसिलामा दोलखा जाने मौका मिल्यो । दोलखा भ्रमणलाई पनि मैले बालबालिकालाई दासत्वको चंगुलबाट फुत्काउन भएका प्रयासबारे अध्ययन गर्ने  अवसरको रूपमा प्रयोग गरेको थिएँ।

‘कर्म’ सार्वजनिक भएपछि देश दौडाहामा निस्कनुको मुख्य उद्देश्य थियो— बालबालिकालाई हेर्ने दृष्टिकोण बदलौं ।

‘बालबालिकालाई हेर्ने दृष्टिकोण बदल्ने’ अभियान चलाइरहँदा जहाँ गएँ, त्यहाँका बालश्रमिक अध्ययन गरें। एउटा तीरले धेरैवटा सिकार गर्ने उद्देश्य थियो मेरो। अध्ययनमा सबै बालबालिका समेट्न त सकिएन तर नमुनाका रूपमा धेरैवटा केस आएका छन् । समग्र बालश्रमिकको चित्र अवश्य आउँछ भन्ने विश्वास जाग्यो । यही चित्र खिच्ने उद्देश्यले दोलखा यात्रा तय गरेको थिएँ।

दोलखा यात्राकै क्रमममा खुत्रुके फोरेर मेरो किताब कर्म – सिकाइमा गहिरिएको खाडल किन्ने चाहना राख्ने बालकबारे पोस्ट गरेकी थिइन् शिक्षिका विन्देशश्वरी खतिवडाले । जिज्ञासा बढ्यो मलाई । उनीबारे केही सूचना मागें विन्देश्वरीसँग । नाम, ठेगाना सबै सोध्न लगाएँ। तिनलाई पुस्तक पठाइदिने चाहना पनि सुनाएँ।

भोलिपल्टै बुझिछन् विन्देश्वरीले । दोलखा, सुनखानीका रहेछन् ती बालक। गाउँमा स्कुल नभएकाले पढाउन सदरमुकाम राखेका रहेछन् बुबाआमाले । आफन्तको घरमा बसेर पढ्दा रहेछन् । बेला बेला स्कुलको शुल्क तिरिदिन मात्र आउँदा रहेछन् गाउँमा श्रम गरीखाने बुबाआमा। आफू श्रम गरेर पनि छोराछोरीलाई सदरमुकाममा राखेर पढाएका रहेछन्।

तर, ती बालकका बुबाआमा पढ्न जान्दा रहेनछन् । मैले किताब पठाउने कष्ट गरिनँ।

यो यात्राको मुख्य उद्देश्य नै यहाका श्रमिक समस्याबारे बुझ्नु थियो । बालश्रमिकका मुद्दामा जिल्लामा सञ्चालन भएका गतिविधिबारे खोज्ने, लेख्ने भएको छ कामै मेरो । श्रमिकका विषयमा खोज गर्नुअगि वृखसँग साहित्यिक दृष्टिकोण बुझ्ने तारतम्य मिलाएँ। ‘साहित्य उत्पादनमूलक हुनुपर्ने’ मान्यताले लेख्तै आएकाले आफ्नो  विचारसँग ठ्याक्कै मेल खाने व्यक्ति भेटेको बेला सो विषयमा किन चर्चा नगर्ने ? वृखजी दोलखाली श्रमिक मुद्दा र उत्पादनमूलक साहित्यमा गहिरिने छन् भन्ने मेरो विश्वास थियो।

वृखसँग उत्पादनमूलक साहित्यमा गफिनुअगि रेडियो सैलुङमा अन्तर्वार्ता दिनुपर्ने भयो । वृखलाई होटेलमै छाडेर रेडियोतिर लागें ।

रेडियोमा पनि उत्पादनमूलक साहित्यकै विषयमा कुराकानी भयो। रेडियो सञ्चालक समितिका सदस्य रहेछन् वृख पनि। उनले आफ्नो रेडियोमा पनि यो विषय प्रवेश गराइसकेका रहेछन् सायद ।

“साहित्यलाई उत्पादनमुखी कसरी बनाउने ?” अन्तर्वार्ताका क्रममा विनिता शिवाकोटीले साधेकी थिइन्।

दुइटा दृष्टिकोण छन् उत्पादनमुखी साहित्यबारे मेरा।

( दामोदर न्यौपानेद्वारा लिखित  कृति ‘दास प्रथाको नयाँ रूप’ !)

पहिलो, साहित्य आजका लागि होस् । आज हामीले जे भोगेका छौं, त्यही लेख्नुपर्छ । साहित्य अहिल्यैका लागि हुनुपर्छ। यसले अहिलेका मान्छेको चेतना परिवर्तन गर्नुपर्छ। उत्पादनमूलक साहित्यले बहस चलाउनुपर्छ। हाम्रो जस्तो देशमा लेखेर चलाइने बहस पनि मान्छेको चेतनामै केन्द्रित हुनुपर्छ। यही मान्यताले लेख्ने गरेको छु मैले।

दोस्रो, साहित्य लेखेर लेखक बाँच्नु पनि पर्छ । लेखेर पनि जीवन चलाउने दिन आउनुपर्छ । अहिले केही संकेत देखिएका छन् त्यसका।

एक दशकअगिसम्म लेखकहरू पाण्डुलिपि र पैसा बोकेर प्रकाशकको दैलो धाउँथे । हुन त  आफैंले पैसा तिरेर प्रकाशकमार्फत्  

किताब छपाउने लेखक धेरै छन् अचेल पनि। लेखेर पनि पैसा कमाइन्छ र ? यस्ता प्रश्न पनि धेरैले सोधेका छन् मलाई ।   

तीमध्ये एक हुन् पोषरमण चापागाईं। कर्मको पहिलो र दोस्रो संस्करण प्रकाशन गर्ने स्वदेश प्रकाशनमा आइरहन्थे चापागाईं । मलाई नपढाए पनि म पाटन क्याम्पसको विद्यार्थी, उहाँ नेपाली शिक्षक, चापागाईं सरसँग पुरानो चिनजान भए पनि पछिल्लो भेटमा नवीकरण गर्नुपरयो। कुराकानीको सिलसिलामा चापागाईंले सोधे— “लेखेर कमाइन्छ र ?”

“मैले त कमाएको छु सर” भनें— “एम्बुसमा ६ वर्षबाट पनि कमाएकै हुँ। दोस्रो कर्मले पनि राम्रै कमायो ।”

“मैले त लेखेर कमाएको छैन”, उनले भने— “बरु पैसा खर्च गरेर पुस्तक लेखेको छु ।”

चापागाईं सरको जस्तो अनुभव भएका धेरै लेखक–साहित्यकार छन् समाजमा । ‘साहित्य कमाइका लागि लेखिने होइन’ भन्ने जमात पनि ठुलो छ । ‘विज्ञापन गर्ने होइन’, ‘किताबको परिचर्चा गर्नु पनि हुँदैन’ भन्छन् उनीहरू। शरीरलाई चाहिने खाद्यान्नको विज्ञापन गर्नुहुन्छ भने बौद्धिक खुराकको विज्ञापन गर्नु किन हुँदैन ? औषधिको विज्ञापन हुन्छ भने किताबको विज्ञापन किन हुँदैन ? बेसरी बहस हुनुपर्छ पुस्तकबारे । तर प्रचार गर्ने विषयचाहिं गुणले युक्त हुनुपर्छ । प्रचार चामलकै हुनुपर्छ । स्तरीय चामलको होइन् । गुण ह्रास भएर कुहिएको चामलाई प्रचार गर्न थालियो भनेचाहिं त्यसले राम्रो प्रभाव पार्दैन। प्रचार गर्ने विषय गुणात्मक र समाज उपयोगिचाहिं हुनै पर्छ।

प्रचार गरे पाठकले ‘नयाँ किताब आएछ’ भनेर थाहा पाउँछन् । चर्चापरिचर्चा गरे पो ‘आफूलाई काम लाग्ने किताब रहेछ’ भनेर थाहा पाउँछन् । नेपालमा पठन संस्कृति नफस्टाउनुका अनेक कारणमध्ये एउटा लेखक, साहित्यकारको किताबको प्रचार गर्नु हुँदैन भन्ने सोचाइ पनि हो । आफूले गर्न नसकेर पो हो कि ?

रेडियो अन्तर्वार्ता ४५ मिनेटेको थियो । मेरो कुरा मन परेको प्रतिक्रिया दिइन् कार्यक्रम सञ्चालिका शिवाकाटीले । अनि दुई भागका लागि अन्तवार्ता रेकर्ड गरिन्।

रेडियो सैलुङको अन्तवार्तालगत्तै पुस्तक विमर्श सुरु भयो । करिब २ घण्टा चलेको कार्यक्रम समापन हुनासाथ वृखको उत्पादनमूलक साहित्यबारे दृष्टिकोण बुझ्न बास बसेकै होटेलतिरै गइयो।

“साहित्यलाई उत्पादनमुखी बनाउन दुइटा कुरा चाहिन्छ”, वृखले कुरा अगि बढाए— “पहिलो स्रोत, दोस्रो संगठन ।”

स्रोत कसरी बढाउने ? यसका लागि सहकारी उपयुक्त विकल्प हुन सक्ने वृखको सोच थियो।

“संचार सहकारी खोलिएको छ । सहकारीले ठाउँठाउँमा रेडियो सञ्चालन गरेको छ । पत्रिका चलाएको छ । त्यसै गरी कृषि सहकारी छ”, विस्तृत विचार सुनाए— “त्यस्तै स्वरूपको स्रष्टा सहकारी विकास गर्न किन सकिँदैन ?”

साहित्य सहकारीको सदस्य स्रष्टालाई नै बनाउन सकिन्छ । यो सोच प्रभावकारी लाग्यो। सदस्यले नियमित रुपमा पैसा जम्मा गर्न सक्छन् । स्रष्टाहरू मिलेर पैसा जम्मा गरेपछि किताब लेख्न र प्रकाशन गर्न सहज हुन्छ । वृत्तचित्र बनाउन सक्छन् । धेरै जना पनि चाहिँदैन, २०–२५ जना मात्र मिल्यो भने पनि किताब निकाल्न सकिन्छ।

साहित्यमा सहकारीको अवधारणा नआएकै भने होइन । साझा प्रकाशन सहकारी संस्था लिमिटेड यसको सफल उदाहरण हो। साझाले पुस्तक प्रकाशन र वितरणमा उदाहरणीय काम गरेकै हो । समयक्रममा साझा कोमामा पुग्यो। तर, यही मोडलको साहित्यिक संस्था फेरि बिउँतिनु जरूरी छ । यस्तै अवधारणामा बनेको हो वाणी प्रकाशन पनि तर फस्टाउनै सकेन । प्रकाशन क्षेत्रमा सहकारी अवधारणा व्यापक बनाउन जरूरी छ अझै । 

“२० जनाले ५–५ हजार जम्मा ग¥यो भने हजार प्रति किताब छाप्न सकिन्छ”, वृखले सुनाए— “राम्रो किताब निकाल्न सक्यो भने बिक्री पनि उच्च हुन्छ । कमाइ बढाउँदै लग्यो, प्रेस आफैं किने पनि भयो । संगठित भएपछि विभिन्न क्रियाकलाप गर्न सक्छ सहकारीले ।”

संगठन बनेपछि लेख्ने विषय छान्नुपर्ने उनको विचार थियो । प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका विषयहरू लेखनको केन्द्रमा राख्नुपर्ने दृष्टिकोण रहेछ । त्यसरी लेखिएका पुस्तकका मुख्य पाठक पर्यटकलाई बनाउन सकिने उनको धारणा थियो।

“साहित्यलाई विधा र विषयमा विभाजन गर्नुपर्छ”, वृखले थपे— “अनि पर्यटनलाई बजारीकरण गर्नुपर्छ । पर्यटकले किन्ने खालका विषयवस्तुमा पुस्तक लेख्नुपर्छ ।”

पर्यटकलाई यही विषय मन पर्छ भन्ने छैन। अनेक रुचि भएका पर्यटक भित्र्यााउन सकिन्छ। यहाँको प्रकृतिमा रुचि हुन सक्छ । संस्कृतिमा रुचि हुन सक्छ। जनजीवनमा चासो राख्ने पर्यटक धेरै छन्। समाजमा अनेक विषय छन्, अनेक मुद्दा छन् । ती मुद्दामा स्वदेशी–विदेशी पर्यटकको चासो छ।

“दोलखाकै कुरा गर्ने हो भने यह्ाँ गौरीशंकर हिमालसम्म पुग्न सकिन्छ । त्यह्ाँ पुग्ने बाटाको मात्र अध्ययन गर्ने हो भने पनि अनीगन्ती विषय छन् । च्छोरोल्पा ताल छ । पुराना गुम्बा छन् । कालिञ्चोक भगवती, दोलखा भीमसेन जस्ता अनेकौं धार्मिकस्थल छन्”, अझ प्रस्ट्याए वृखले— “शीतलेबेंसी जस्ता फाँट छन्। जिरी उपत्यका छ। त्यहाँमाथि चरेदुङ डाँडा छ। त्यहाँबाट प्याराग्लाइडिङ गर्न सकिन्छ। पर्यटन साहित्यमार्फत यस्ता अभियान चलाउन सकिन्छ ।”

यस्ता केही गतिविधि पनि गरेका रहेछन् वृखले । ‘कला, साहित्य जीवनका लागि’ भन्ने नाराका साथ साहित्य–कला प्रतिष्ठान पनि खोलेका रहेछन् । यही प्रतिष्ठानको अगुवाइमा पर्यटन साहित्य यात्रा भयो । साहित्य यात्रामै सहभागी भएर कवि प्रह्लाद पोख्रेल (दोलखाका पूर्वप्रजिअ) ले खण्डकाव्य लेखे— आस्थाको गन्तव्य । यसमा दोलखका सबै गाविसका एकएक ठाउँ समावेश छन् । सबै ठाउँको ऐतिहासिकता पनि समेटिएको छ यो सानो खण्डकाव्यमा।

   मिसन साहित्य – एक बहस

साहित्य ‘मिसन’ हुनु हुँदैन भन्ने धार पनि छ एउटा तर साहित्यको ‘मिसन हुनुपर्छ’ भन्ने मान्यता छ मेरो— मिसन होस् तर नारा होइन । अहिलेसम्म हामीले जे भोगेका छौं, त्यसमा लेखेनौं । हामीले युद्धका वास्तविक कथा खासै लेखेनौं। केही लेख्यौं तर काल्पनिक। हाम्रा मान्छे विदेश गए, त्यसबारे पनि लेखेनौं । लेख्यौं तर नगन्य, काल्पनिक आख्यान।

हाम्रा बालबालिका भट्टामा श्रम गर्छन्, घरेलु श्रमिक छन्, कारखानामा काम गर्छन् । यातायात श्रमिक भएका छन् । खानीमा काम गर्छन् । तिनले दास जीवन बिताइरहेका छन् तर तिनका वास्तविक कथा लेखेनौं हामीले । हाम्रा उब्जाउपूर्ण खेतबारी बाँझा छन्, यसलाई साहित्यको विषय बनाएनौं । शिक्षामा खाडल बढ्दो छ, त्यसबारे पनि लेखेनौं। हाम्रो खाद्य प्रणालीका विषयमा पनि लेखेनौं। अहिलेको खाद्य प्रणाली अनुशासनविहीन छ। यस विषयमा कहिले लेख्ने ? हामी भान्छामा तरकारीको रूपमा मन्द विष पकाइरहेका छौं, यस विषयमा पनि लेखेनौं । जे विषयले हामीलाई गालेको छ, त्यही विषयमा लेखेनौं। यसो हुँदा समाज अगाडि बढ्ने होइन, समाज विकासमा झन् अवरोध भएको छ।

वृखको दृष्टिकोण पनि यस्तै रहेछ । मैले पहिलोपल्ट आफ्नो लेखनसँग ठ्याक्कै दृष्टिकोण मिल्ने मान्छे भेटें । ‘म किन लेखिरहेछु’ भनेर मेरै कुरा बोलिदिने मान्छे भेटें । म जे मिसनसाथ लेखिरहेको थिएँ, त्यही मिसन बोल्ने मान्छे।

उनको थोरै पारिवारिक पृष्ठभूमि जान्ने रहरले कोट्याएँ। वृखले भने— “संघर्ष गरेर बाँच्यौं हामी । भल, पैरोले जग्गाजमिन सबै लगेर उठिवास लगायो ।”

सुखको खोजीमा दार्जिलिङ गयो वृखको परिवार । उनी त्यहीको परिवेशमा हुर्किए तर आपूmहरू हेपिएको पाए उनले— “नेपाली, पहाडिया भनेर हेप्छन् त्यहाँ। त्यही विभेदको बिचमा हुर्किएको हुँ म ।”

दार्जिलिङ, सिक्किमतिरको साहित्यमा जातीय एकता पाइन्छ । क्षेत्रीय प्रवद्र्धन, आञ्चलिक एकता जस्ता लेखन भेटिन्छन् । त्यस्तो लेखनबाट प्रभावित रहेछन् वृख।

त्यहाँ पनि दुइटा धार थिए। एउटा गैरराजनीतिक विषय लेख्थ्यो । यसले कलात्मक पक्षलाई बढी महत्व दियो। अर्को धार थियो राजनीतिक विषय लेख्ने। उनको विचारमा त्यसले सामाजिक भावनाको विरासत धानेको थियो— “साहित्य आफ्नै आनन्दका लागि हो भन्ने धार पनि देखियो। त्यस्तो धारले ‘साहित्यलाई मिसन बनाउनु हुँदैन’ भन्छ । यो धारको विरोधी हुँ म ।”

खानाकै लागि भिडन्त गर्ने वर्ग पनि छ यहाँ। खानकै लागि सङ्घर्ष गर्नु छ भने आफ्नै आनन्दका लागि साहित्य सिर्जना भनेर हुन्छ ? न्यूनतम आवश्यकता पनि पूरा नभएको वर्गको पक्षमा लेख्नु पर्दैन ?  

“आर्थिक अवस्था सबल छैन भने, विशेष अवस्थामा सामाजिक बहस चलाउँदैन भने त्यस्तो साहित्यले समाजलाई के दिन्छ ?” उनले प्रतिप्रश्न गरे— “साहित्य यथार्थ हुनुपर्छ। कल्पनामा बहकिएर मात्र लेख्ने हो र किताब ? यथार्थ कुरा ल्याउनुप¥यो नि साहित्यमा । समसामयिक विषय ल्याएर लेख्नु हुँदैन ?”

हो, दुर्बलता मात्र नभई सबल पक्ष पनि अघि ल्याउनुपर्छ साहित्यले । “राम्रो पढाउने मान्छे छन् । तिनलाई नायक बनाएर लेख्नुपर्छ । समाज परिवर्तनका लागि लाग्ने लेखक छन्, तिनलाई ल्याउनुपर्छ । समाज रुपान्तरणमा निरन्तर खटिरहने पत्रकार छन्, समाजसेवीहरू छन्, तिनलाई ल्याउनुपर्छ”, वृखले भने— “आजै परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यताले लेख्नुपर्छ । ५० वर्षपछिको कल्पना गरेर लेखेर हुँदैन हामीले।

केन्द्रीय महत्वमा बुद्ध राख्नुपर्छ, गीता राख्नुपर्छ। बुद्धको प्रचार भएकै छैन, न त गीताको प्रचार भएको छ। महाभारत, रामायणको प्रचार भएको छैन। सामान्य मानिसले बुझ्ने गरी यी ग्रन्थ ल्याइएकै छैनन्। बुद्धिजमका जति किताब छन्, सबै हिन्दी र अंग्रेजीमा छन्। त्यसलाई आमनागरिकले बुझ्ने गरी लेखिएको छैन ।”

देशमैत्री गाउँ, प्रकृतिमैत्री देश। हाम्रो संस्कृतिमा आधारित विकास प्रणाली र हामीभित्रैबाट पुँजी निर्माण हुने खालको आर्थिक प्रणाली विकास गर्न झकझक्याउने साहित्य चाहिन्छ । यसका लागि लेखक, कलाकार मिलेर कम्तीमा ५ वर्षको मिसन बनाएर अगि बढ्न सकिन्छ।

यसो गर्न सकियो भने नागरिकमा सकारात्मक चेतना आउँछ। यसो गरियो भने परिवार परिवारमै जीवनबारे बहस हुन थाल्छ। बहस हुन थालेपछि साहित्यिक आन्दोलनलाई समाजको एउटा घटना मान्न थालिन्छ । अनि गाउँबाट देश बनाउन बहस चल्छ।

आख्यान होस् वा गैरआख्यान, दुवैमा उठाउने विषय र पात्र चयनमा गम्भीर असहमति राख्तै आएका छन् वृख । पात्रको स्तरोन्नति हुन नसकेको ठम्याइ छ उनको— “डोनरले गरिबी निवारणका लागि गरिबको समूह बनायो। गरिबका लागि काम गर्नेभन्दा पनि सामाजिक एकता कमजोर बनाउँदै लग्यो। त्यसले खाडल बढायो । वर्गसंघर्ष भन्नेतिर लाग्यो राजनीति पनि । तल्लो घर, माथ्लो घरमा विभेद बढायो। सहअस्तित्वमाथि प्रहार गरियो । युद्धबाटै समाधान हुन्छ भनेर लागे वामपन्थीहरू । प्रजातन्त्रवादीहरू सामाजिक अर्थतन्त्र बढाउनतिर लागेनन् । साहित्यकारले पनि गरिब, निमुखा, पीडित पात्रलाई मात्रै नायक बनाएर लेखे । समस्याको वर्णन गरिएका विषयको हस्तक्षेप मात्र भयो । गरिबका पक्षमा मात्र लेख्ता समाधान हुन्छ भने त्यहाँ विज्ञ किन चाहियो ? जान्ने किन चाहियो ? ‘मास्टर माइन्ड’ लाई कथाको पात्र बनाइएन । जित्ने मान्छेलाई पात्र बनाइएन । अबको पात्र ‘मास्टर माइन्ड’ हुनुपर्छ, जित्ने मान्छे हुनुपर्छ ।”

 जित्ने मान्छेका कथा

परिस्थितिलाई जित्ने र केही गर्ने मान्छेका कथा प्रशस्त लेखें मैले । यस विषयमा पनि वृखसँग मिल्यो मेरो सोचाइ । कर्ममा कतै मैले श्रमिक तर श्रम गर्दागर्दै पनि उदाहरणीय कार्य गरेका व्यक्तिका कथा लेखेको छु। कतै श्रमिककै पक्षमा उदाहरणीय काम गरेका व्यक्तिलाई पात्रको रुपमा छानेको छु। त्यस्ता व्यक्तिका अनुभव, अनुभूति उतार्ने प्रयास गरेको छु लेखनमा। दोलखा कहानीमा पनि यस्तै केही नायक छानेको छु मैंले।

(लेखक तथा पत्रकार न्यौपानेको हालै बजारमा आएको पुस्तक ‘दास प्रथाको नयाँ रूप’ भित्र दोलखा कहानीको एक अंश !)

प्रकाशित: ३० वैशाख २०७८ ०३:५९ बिहीबार

अक्षर