होमशंकर बास्तोला
दूधकोसीको हावाले उडाएझैं
ओडारे माइलाका सपनाहरू
उडिरहेछन् हरेक साँझ बिहान
धमिराले याक्साका खम्बा भत्काएझैं
ओडारे माइलाका सबैसबै आशाहरू
झत्किरहेछन् सधैंसधैं जिन्दगीमा
कोसीको पानीको छाल
थोपाथोपामा उफ्रदै
बगिरहेछ उँधोउँधो नदीतिर
तर,
ओडारे माइलाका अलिकति चाहानाहरू
खोलाबाट उठेको कुहिरोझैं
उक्लिन खोजिरहेछन्
सगरमाथाको शिविरतर्फ
अभावले भरिएको अनुहार
ढाडमा डामेका डोकाका डोब
आँखाबाट झरेका नुनिला थोपा
या, भनौं
भोक छेक्न पटुकाले बाँधेको पेट
वर्षात्को पानीले मक्काएको बार
साँच्चै ए सरकार ?
फाटेको धुरीको प्वालबाट
ओडारेको बाँसको कटेरोमा
कहिले छिर्ला सपनाको ‘नयाँ घाम’
ढाकरले रित्तिएको बैंस
घामले पोलेर उग्लिएको रूप
अनुभूतिका मसिना तरङ्ग
गाग्रोको पानी छचल्किएर पोखिएझैं
ओडारे माइलाका आशाहरू
बगिरहेछन् तलतल दूधकोसीको पानीमा
आउने बिहानीको आश पोख्दापोख्दै
ऊ मरेपछि
आँसुका ताता थोपा झारेर
अखबारमा समवेदना छाप्नुको
के अर्थ भो ?
ए सरकार !
कहिले पूरा हुन्छन् हँ
ओडारे माइलाका भोका सपनाहरू !
प्रकाशित: २९ वैशाख २०७८ ०१:५३ बुधबार