कला

मृत्युका लावालस्कर

कविता

विमला ढुंगाना

 

मृत्युका लावालस्कर !

सिंगो आकाश ओढेर  

अथाह धर्ती ढाकेर

वायुको वेगमा  

फालहालेको समयले  

जीवन यात्राको गोरेटो  

टुंग्याएपछि  

पहाडको थुम्काजस्तै  

पक्तिंबद्ध मृत्युहरू

जीवनसँग अठहाँस गर्दैछन्

यो क्रन्दन परिस्थिति र  

बाध्यताले कोपिएका

रगताम्य खोपिल्टाहरूबाट ।

 

पवनझैं अनियन्त्रित  

महामारीलाई टुलुटुलु हेर्नु

त्रास, पीडा र भयको  

साँझ बिहान च्यापेर  

अन्तिम बिदाई पर्खिनु  

नियति सहस्र स्विकारेर  

चिन्ताले फुलाएको छाती भित्रको  

ढुकढुकीमा चिप्लिरहेछ श्वासका वेगहरू।  

 

अशुभ समाचरको  

लामो नामावलीले  

अश्रु सुकेका आँखाहरू  

श्रद्धाञ्जलिमा झुन्डिएको छ  

हरघडी हरपल।

 

अखबारको पन्नापिच्छेका  

समवेदनाहरूबाट  जिङ्ग्रिङ्ङ  काँडा उम्रिएका शरीरले

अप्रत्यक्ष मलामी धाउनु

मुटुभरि शोक सभा र  

मस्तिष्कले मौनधारण गरेर  

आफैंले आफैंलाई खोज्नु

नियमित बनेको यो समय  

मृत्युको चित्कारले रंगिएको  छ ।

 

अत्यन्त प्रिय र आत्मीयहरूको  

अन्तिम बिदाईसंगै ढलेको पहाड  

अँगालेर रुनु अनुमति नपाएपछि

मृत्युको वेदनामा डुबेका

विरक्ति सोचहरू यतिबेला

धिक्कारेर मानवता

मुर्झाएका छन् आशाहरू।

 

मृत्युको आयतन लम्बिएको छ  

चौंडाइ फिंजारिएको छ  

अब कल्पनाहरू ढलेका छन्

सपनाहरू जलेका छन्  

अँधेरो पलको तिलक लाएर

यो सिङ्गो समय नै कलंकित हुँदै

जीवन विनाशको खहरेमा दौडिरहेछ ।

 

भौतिक शरीरलाई डङरङ्ग

विश्वम्भरको काखमा सुम्पी

पिताम्बरमा लपेटिएर

ब्रह्म्नालको सिरानी लगाई

उमेरको गणित हराएका

असंख्य जीवनीहरू

चिर निन्द्रामा छन्,

पंक्तिबद्ध मृत्युका लावा लस्करहरू !!

प्रकाशित: २५ वैशाख २०७८ ११:१९ शनिबार

अक्षर