कला

जामाचो मेला र विभिन्न जात्रा

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन बालाजुको बाइसधारामा नुहाउने मेलालाई नेवार समुदायले ल्हुती पुन्हीका नामले मान्दै आइरहेको प्रसिद्ध मेला हो। यो दिन उपत्यकाका नेवार समुदाय र विभिन्न जातजातिका भक्तजनले बालाजुको बाइस धारामा नुहाएर नागार्जुन पर्वतको टुप्पोमा रहेको जामाचो स्तुपको दर्शन गर्छन्। समुद्री सतहबाट ७००० फिट उचाई भएको नागार्जुन पर्वतमा अवस्थित जामाचो स्तुपमा बौद्ध र हिन्दु दुवै धर्मावलम्बीले समान रूपमा उत्तिकै महत्व दिई मान्दै आइरहेको पाइन्छ। यस जामाचो तीर्थस्थलको उत्पत्ति र नामाकरणका बारेमा स्वयम्भू पुराणमा उल्लेख गरिएको पाइन्छ। पुराणमा उल्लेख गरे अनुसार काठमाडौं उपत्यका पानीले भरिएको विशाल पोखरीको रूपमा रहेका बेला तिब्बतबाट आएका विपस्वी बुद्धले नागार्जुनको टुप्पोमा आई तपस्या गरेकाले यस ठाउँलाई बुद्ध धर्म अनुसार जात मात्रो च्वो भनियो। पछि जात मात्रो च्वोको अपभ्रंश भएर जामाचो हुन गएको हो भनिन्छ। विपस्वी बुद्धले तपस्या गर्दागर्दै यहाँको तलाउमा कमलको बीउ रोप्नुभयो। पछि यहाँ कमलको राम्रो फूल फुल्यो, त्यही फूलमा ज्योर्तिमय भगवान् प्रकट हुनुभएको र सोही भगवान्लाई स्वयम्भू भनिएको हो भनिन्छ।

सेराफाँटमा केराउ बाली हेरेर बसेकी बालकुमारी नामक ज्यापुनीको रूपमा मोहित भई टीका भैरवले प्रेम गरेछन्। बालकुमारीलाई सघाउने क्रममा टीका भैरवले वनडाँडाको टुप्पोमा रहेको घाँस अलौकिक शक्तिद्वारा डाँडामुनि बसेरै काटी दिएछन्। टीका भैरवले आफ्नो सक्कली भयंकर रूपको दर्शन दिँदा डराएर बालकुमारी लुक्न गइछन्।    

नागार्जुन पर्वतमा महादेवको ढुंगाको मूर्ति र नागको मूर्ति पनि रहेकाले भक्तजनहरूले त्यहाँ महादेवको र नागको पनि पूजाआजा गर्छन् र दियो बाल्छन्। जामाचो स्तुपको दाहिनेपट्टि पद्म सम्भव बुद्धको मूर्ति पनि रहेको छ, जसलाई भक्तजनहरूले श्रद्धापूर्वक पूजा गर्दै धुप दीप बाल्ने गर्छन्। यसका साथै उपत्यकाका चारैतिर डाँडामा रहेका बौद्ध चैत्य र स्तुपमा मेला भर्ने गर्छन्।  

चीनको ल्हासाबाट आएका बोधिसत्व महामञ्जुश्रीले चोभारको गल्छीमा खड्गप्रहार गरी यस उपत्यकाको पानी बाहिर पठाई बस्ती बसाएका हुन्। त्यसपछि यहाँ प्राकृतिक धर्म मात्र मान्दै आइरहेका आदिवासीलाई बौद्ध धर्ममा ल्याउने काम महामञ्जुश्रीले नै गरेका हुन् भनिन्छ। यही बेलादेखि यहाँ स्थापना गरिराखेका विभिन्न स्थानका बौद्ध चैत्यको दर्शन र प्रदक्षिणा गर्ने मेला सुरु भएको हो भनिन्छ। बालाजु पूर्णिमाका दिनदेखि नागार्जुनका साथै फुल्चोकी डाँडामा विश्वभू बुद्ध, मञ्जुश्री र फुल्चोकीमाई (सरस्वती)ले स्वयम्भूको दर्शन गरी ध्यानमा बसेर सिद्धि प्राप्त गरेको सम्झनामा मेला सुरु गरिएको भनिन्छ।

त्यस्तै बूढानीलकण्ठको ८९६२ फिट अग्लो शिवपुरी डाँडामा क्रकुच्छन्द बुद्धले प्राकृतिक धर्म मान्दै आएका स्थानीय मानिसलाई बुद्ध धर्मको ज्ञान दिएर दीक्षित गरेका हुन् भनिन्छ। ७२०० फिट अग्लो मणिचुडमा भगवान् बुद्धका पूर्वातार बोधिसत्व मणिचुड महाराजले साँखु देशका जनतालाई असाध्य रोगबाट बचाउन आफ्नै शिर काटेर दान गरेका हुन् भनिन्छ। मच्छेगाउँको ७३७३ फिट अग्लो चम्पादेवी डाँडामा भने शिविबुद्ध र चम्पादेवीले ध्यान गरेर सिद्धि प्राप्त गरेको पवित्र स्थानको रूपमा पूजा गर्ने र मेला भर्ने गरिन्छ। यो स्थान मच्छेगाउँको अग्लो स्थान टुप्पोमा पर्छ। त्यस्तै, उपत्यकाको सबैभन्दा होचो डाँडा ४९५० फिट अग्लो चन्द्रागिरी र ५९३३ फिट अग्लो नरकोटमा रहेको बुद्ध चैत्यमा महामञ्जुश्री र उहाँकी पत्नी सरस्वती आफ्नो देश ल्हासामा फर्किंदा बास बसेको स्थानका रूपमा मान्दै आइएको छ।  

तिमाल जात्रा

बालाजु पूर्णिमाका दिन काभ्रे तिमालका तामाङ समुदायले बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन्। यसरी बत्ती बाल्दा तामाङहरूले मरिसकेकाको अस्तु घोटेर त्यसमा तेल मिसाएर काँचो धागोको बत्ती बाल्ने गर्छन्। तिमालका तामाङहरूले मान्ने भएकाले तिमाल जात्राका नामले मान्दै आएको यो जात्रा नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, मकवानपुर, दोलखा र काभ्रेपलाञ्चोकका ताम्सालिङ तामाङ समुदाय नमोबुद्ध, स्वयम्भू, बौद्ध र जामाचोमा आफन्त मृत व्यक्तिका नाममा श्रद्धा प्रकट गर्छन्। त्यस्तै, तामाङ समुदायले गोदावरीको फुल्चोकी चैत्यको दर्शन गरेर नुहाउने पर्वलाई पनि तिमालजात्रा नै भन्ने गरिन्छ।  

नुवाकोटको सिन्दुरे जात्रा

चैत्र शुक्ल पूर्णिमाका दिन अर्थात् बालाजु पूर्णिमाकै दिन नुवाकोटमा भव्य रूपमा सिन्दुरेजात्रा धुमधामका साथ मनाइन्छ। नुवाकोटमा भैरवको खटजात्रा गरिन्छ। यो जात्राबारे एउटा अनौठो किंवदन्ती छ। एकपटक काठमाडौंबाट एक बोरा खुर्सानी बेच्न त्रिशुली पुगेका डंगोल थरका ज्यापुले खुर्सानीको बोरा तादी–त्रिशुली दोभानमा बिसाएर सुस्ताइरहेका बेला उसको शरीरमा नुवाकोट भैरव प्रकट भई पुजारी धामी राख्ने आदेश दिएछन्। अनि त्यसबेलाको नियम अनुसार नुवाकोट दरबारका द्वारेले त्यस डंगोललाई भैरवका पुजारी धामीमा नियुक्त गरेछन्। अनि त्यस धामीलाई पूर्व–दक्षिण तादी, पश्चिम त्रिशूली, उत्तरमा भैरवी क्षेत्र नायेर गाउँबाट बाहिर जान नपाइने प्रतिबन्ध लगाई दिएछ। द्वारेले छानी दिएको धमिनीसँग त्यस धामीले विवाह गर्नुपर्ने नियम पनि रहेछ। प्रत्येक वर्ष चैत्र शुक्ल प्ूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म मनाइने भैरवी जात्रामा धामी र धमिनीले भाग लिनुपर्छ। परम्परादेखि चल्दै आइरहेको जिउँदो देवताको रूपमा मान्दै आएका धामी र धमिनी सहितको सिन्दुरे जात्रा नुवाकोटको भैरवी मन्दिरमा धुमधामसँग मनाउने गरिन्छ। चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने सिन्दुरे जात्रा चतुर्दशीको दिन नुवाकोटको गुह्ये पाटी र भैरवी मन्दिरअगाडि विधिपूर्वक सल्लाको लिंगो ठड्याए पछि सुरु गरिन्छ। जात्रामा धामी, धमिनी, गणेश, कुमारलाई मुकुट लगाई गहना लगाइदिएर तलेजु भवानीमा लगी बज्रयानी गुरुजुले पूजा गरेपछि पूर्णिमाकै दिन भैरव–भैरवीको खट जात्राका साथै गणनाच पनि नचाउने गरिन्छ। जात्रामा तच्याङ थरका तामाङले खट बोक्ने गर्दथे। तर, केही वर्षअघि तामाङहरूले विद्रोह गरेर रथ तान्न छाडेपछि सेनाले तान्दै आइरहेका छन्। बहिनी जालपालाई भैरवी मन्दिर रहेको स्थान पृथ्वीनारायण शाहले ऐतिहासिक साततले दरबार निर्माण गरी राजधानी बनाएका थिए भने जालपा मन्दिर रहेको देवीघाटमा पृथ्वीनारायण शाहले देहत्याग गरेका थिए।  

सिन्दुर जात्रा सुरु गर्नुअघि मध्यरातमा धामीलाई राँगा, बोका र माछाको बलि दिइने गरिन्छ। यसरी दिइएको राँगा, बोका र माछाको रगत चुसेर धामीले बलि ग्रहण गर्दछ। दर्जनभन्दा बढी पशुबलि दिने गरिन्छ भने धामीले पनि सबै पशुपन्छीको तातो रगत पिउँदै बलि ग्रहण गर्दछ। त्यसपछि दाँत किट्किट् टोक्दै आगामी वर्षमा आइलाग्ने विपत्ति, राम्रा–नराम्रा घटना, राजनीतिक एवं दैनिक विभिन्न घटनाको भविष्यवाणी धामीले गर्छन्। त्यसैले धामी, धमिनीलाई जिउँदो देवताका रूपमा मान्दै आएको हो भनिन्छ।  

वज्रवाराहीको जात्रा  

चैत्र शुक्ल पूर्णिमाकै दिन चापागाउँस्थित रहेको बज्रबाराहीलाई पनि जात्रा गरिन्छ। बज्रबाराही मन्दिरमा गजुर छैन। यसैले यस मन्दिरलाई विना गजुरको मन्दिर भन्ने गरिन्छ। उत्यकाका प्रसिद्ध चार बाराही भक्तपुरका श्वेतबाराही, मध्यपुर थिमी बाडेका नीलबाराही, टंकेश्वरका टंकेश्वर बाराही र हाडीगाउँ विशाल नगरका धुम्बाराही भनेजस्तै चापागाउँका बज्रबाराहीलाई पनि अत्यन्तै मान्ने गरिन्छ। गाई, भैँसीले दूध दिएन भने बज्रबाराही मन्दिर अगाडि रहेको राँगो बाहनलाई पूजा गर्ने परम्परा छ। बज्रबाराहीको खटजात्रा पहिला वर्षको दुईपटक चैत्र शुक्ल पूर्णिमा र कार्तिक शुक्लपक्ष मुखः अष्टमीका दिन गरिने परम्परा रहेको थियो। तर, एउटा देवताको मूर्ति हराएकाले चैत्र शुक्ल पूर्णिमाका दिन मात्र जात्रा मनाइँदै आएको हो भनिन्छ। बज्रबाराहीको खटजात्रा गर्दा पनि सिन्दुर जात्रा गरी सहभागीले सिन्दुर अबिर लगाउँछन्। चापागाउँका सबै स्थानमा खट घुमाएपछि जात्रा सकिन्छ।  

टीकाभैरवको जात्रा

बज्रबाराहीको जात्रा सकिनेबित्तिकै चापागाउँमा त्याङका भैरव (टीका भैरव)लाई किराती राजा टंकुको प्रतीकका रूपमा मान्दै जात्रा गरिँदै आइरहेको छ। खेतमा काम गर्ने सबै ज्यापुले भाग लिने यो जात्रामा टीका भैरवलाई दुईजनाले बोकेर बाजा बजाउँदै देवघरबाट ल्याई भैरव पीठमा प्रतिष्ठा गरिन्छ। त्यसपछि खट जात्रा सुरु हुन्छ। यो दिन पहरी नेवारहरूले बाख्रा र बोका बलि दिएर टीका भैरवको पूजा गर्छन्। त्यसपछि बालकुमारी देवीको बाटो देखाउन जाने चलन छ। एउटा किंवदन्ती अनुसार सेराफाँटमा केराउ बाली हेरेर बसेकी बालकुमारी नामक ज्यापुनीको रूपमा मोहित भई टीका भैरवले प्रेम गरेछन्। बालकुमारीलाई सघाउने क्रममा टीका भैरवले वनडाँडाको टुप्पोमा रहेको घाँस अलौकिक शक्तिद्वारा डाँडामुनि बसेरै काटी दिएछन्। अनि टीका भैरवले आफ्नो सक्कली भयंकर रूपको दर्शन दिँदा डराएर बालकुमारी लुक्न गइछन्। बेलुका ढिलासम्म पनि बालकुमारी घरमा नआएकाले बालकुमारी खोज्न जाने परम्परा अनुसार जात्रा सुरु भयो। टीका भैरवको जात्रामा भाग लिन आउने र जात्रा हेर्न आउनेलाई पनि ‘लाता बजि’ भनी बोकाको मासुको कवाफको झोलमा चिउरा मुछेर बाँड्ने गरिन्छ। यो चिउरा खाँदा पेट दुःखेको निको हुन्छ भन्ने मान्यता पनि छ। जात्रामा टीका भैरवका जेठी श्रीमती लेलेका जयकुमारी र कान्छी श्रीमती चापाउँकी बालकुमारी हुन भनी मान्ने गरिन्छ। यी देवतालाई साउन महिनामा छुस्या मुस्या (भुटेको गहुँ र भटमास) चढाउने गरिन्छ।  

बज्रयोगिनी जात्रा

चैत्र शुक्ल पूर्णिमादेखि साँखुको बज्रयोगिनी देवीको जात्रा गरिन्छ। चैत्र शुक्ल प्रतिपदाका दिन सुन्यका भन्दै घरैपिच्छे लिपेर टोल टोलमै सफा गरिन्छ। द्वितीयाका दिन गणेश, पिंगल देवता, बज्रयोगिनी, महाकाल देवतालाई राँगा, हाँस, कुखुरा, बोका, भेडा बलि दिइने गरिन्छ। घरैपिच्छे छ्वयलाभू भनी छ्वयला र चिउरा खाने गरिन्छ। बज्राचार्य गुरुजुले विधिपूर्वक साँखुको सम्पूर्ण देवताको पूजा गरिसकेपछि बाजा बजाउँदै सिन्दुर जात्रा गरिन्छ। पूर्णिमादेखि जात्रा नसकिएसम्म बज्रयोगिनी देवघरअगाडि धुनी जगाइराखिन्छ भने चतुर्थीका दिन भु भुज्या, पञ्चमीका दिन धुं भुज्या, षष्ठीका दिन बौ हवज्याका नाममा भूतप्रेत पन्छाउने भुजा छर्ने गरिन्छ। सप्तमीका दिन विज्या र अष्टमी, नवमी र दशमीका दिन खेतमा उम्रेका १०८ थरी अन्न राखी बज्रयोगिनीलाई पशुबलि दिइने गरिन्छ।  

वैष्णवी देवीको जात्रा

चैत्र शुक्ल पूर्णिमाकै दिन मान्दै आइरहेको टुँडाल देवी वैष्णवी देवीको जात्रा मान्ने सन्दर्भमा चैत्र शुक्ल एकादशीका दिन हाँडी गाउँको डबलीमा नाग नागिनीको लिंगो ठड्याइन्छ। लिंगो ठड्याइएपछि सुरु गरिने जात्रामा द्वादशीका दिन मन्दिरमा घाँस उखेली रंगरोगन लगाइन्छ। अनि देवतालाई तेल घस्ने चलन छ। त्रयोदशीका दिन छ्वयलाभू मनाउने भनी चिउरा र छ्वयला खाने गर्छन्। पुजारी द्यःलाका हात र गोडाका नङ, कपाल काटेर सफासुग्घर गरी मध्यरातमा वैष्णवी देवीको शिरसँगै राखेर राँगो बलि दिइन्छ।  

किंवदन्ती अनुसार छोरी महामाया नक्सालबाट आमालाई भेट्न जाँदा आमा वैष्णवी नाठोसँग हिँडिरहेकोदेखि रिसाएर फर्किन्। त्यही समयमा आफ्नो हराएको गहना खोज्न वैष्णवी देवी त्यहीँ भएको पोखरीमा तीनपटक घुमेकी थिइन्। पूर्णिमाका दिन मुख्य जात्रा, प्रतिपदाका दिन हाँडीगाउँको पोखरीमा गहना खोज्ने जात्रालाई आमा वैष्णवी र छोरी महामायाको जात्रा भनिन्छ।  

म्हैपी अजिमाको जात्रा

हिन्दु र बौद्धहरूको साझा आस्थाको केन्द्रका रूपमा रहेकी म्हैपी अजिमा स्थानमा दुवै धर्मावलम्बी उत्तिकै जाने गर्छन्। हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन जात्रा गरिँदै आइरहेकी म्हैपी अजिमाको धेरै ठूलो महŒव छ। गोंगबुनजिकैको डाँडामा रहेकी म्हैपी अजिमाको खास नाम हो, योगाम्बर ज्ञानेश्वरी। योगाम्बरको अर्थ हो, शिक्षा। ज्ञानेश्वरीको अर्थ हो, ज्ञान। यी दुवै मिश्रित विशेषता भएकी म्हैपी देवीलाई धनधान्यकी देवीका रूपमा पनि लिइन्छ। ज्ञान, सीप, शिक्षा र धनधान्यको प्रतीकका रूपमा मान्दै आइरहेकी म्हैपी अजिमालाई स्कुल, कलेजमा पढिरहेका सबैले अत्यन्तै मान्ने गर्छन्। त्यसैले म्हैपी अजिमाको मन्दिरमा विद्यार्थीको भीड लागिरहन्छ। म्हैपी अजिमाको खट जात्रा तीन दिनसम्म चलाइन्छ र स्थानीय मानिसले म्हैपी अजिमाको जात्रामा रमाउँदै भाग लिन्छन्। आफन्त र पाहुना बोलाई भोज खुवाउँदै स्थानीय मानिसले म्हैपी अजिमाको जात्रा मनाउने गर्छन्।  

मनमय्जुको जात्रा

चैत्र शुक्ल पूर्णिमाकै दिन टोखा दोभानमा अवस्थित मनमय्जु देवीको मूल जात्रा मनाउने गरिन्छ। चैत्र शुक्ल चतुर्दशीदेखि पाँच दिनसम्म रथ जात्रा भव्य रूपमा मनाइन्छ। कलिगत सम्वत् ३८२५ मा गुणकामदेवले महालक्ष्मीको आज्ञा अनुसार मनमय्जु (इन्द्रायणी) को जात्रा चलाएको भनिन्छ। बाह्र वर्षमा एकपटक भैरव र भद्रकाली गणदेवीले पनि भाग लिने मनमय्जु जात्रा ने.सं. ५८० मा अमर मल्लले व्यवस्थित गरेका हुन् भनिन्छ। स्वयम्भु पुराणका अनुसार बज्रयानी १२ वटा तीर्थमध्ये एउटा मनोरथ तीर्थमा मनमय्जु नामकी एउटी कुरूप कन्याले देवराज इन्द्र पति पाऊँ भनी व्रत बसिन्। व्रतका प्रभावले इन्द्रले काली, छ्याकटे, गलगाँड भएकी, नेपटी कुरूप मनमय्जुलाई पनि राम्री देख्छन्। फलस्वरूप वशीभूत भएर इन्द्रले मनमय्जुसँग सहवास गर्छन्। अनि मनमय्जुलाई इन्द्रायणी पदवी दिइएको भनिन्छ।

प्रकाशित: २५ वैशाख २०७८ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App