जितेन्द्र बस्नेत
तिमीले स्वार्थ जितेको
अनि मैले विश्वास हारेको दिन
जब तिमी, ढकमक्क पूmलको मालाले सजिएका थियौ
त्यति नै बेला लागेको थियो
देशले अब आफ्नो इज्जत हार्दै छ।
पञ्चेबाजा त खासमा
बरियाँतको अगाडि राम्रो लाग्छ,
तर, जब तिम्रो जितमा बाजा बज्यो
म नियाल्दै थिएँ, नेपथ्यतिर
देश सन्नाटामा रोइरहेको थियो।
मञ्चको पर्दाबाट निस्किएका
केही धारिला उज्यालाहरू हेर्दा
म पनि अलिकति आशावादी थिएँ
तर बिडम्बना,
भित्ते पात्रोका बार, गते, महिना र वर्ष,
पल्टाउँदा पल्टाउँदै सकिए।
तर, वर्षको कुनै एउटा तिथि पनि
मैले स्मरणीय बनाएर
गोलो घेरा लाउन पाइनँ।
अविष्मरयाीय र अकल्पनीय
तिथिमिति त दिनहुँजस्तै आए,
निर्मम यातना, हत्या, हिंसा,
बलात्कार, भ्रष्टाचार,
आश्वासन, ढाडस र वचन
हुन त झस्काउँदै
घरछेउको सुकेको रुखमा
काग कराउँथ्यो हरेक दिन
तर, मैले यसलाई भित्ते पात्रोमा
अंकित गर्न सकिनँ।
पस्केर खान नपाएका गाँसहरू
तुइनमा अल्झिएका आशहरू
अस्पतालको शैय्यामा
छटपटाइरहेका सासहरू
कतै पनि तिम्रो उपस्थिति नदेख्दा
एकैछिन आफैं लज्जित भएँ
किनकि,
तिम्रो जितका लागि मैले पनि
एक छाप स्वस्तिक चोपेको थिएँ
त्यो दिन तिमीले त जित्यौ
खासमा मैले बिराएको थिएँ
देशले इज्जत हारेको थियो ।
प्रकाशित: २३ वैशाख २०७८ १०:४१ बिहीबार