कला

भालेसिउर ठूलै हुनुपर्छ र ?

संस्मरणात्मक आलेख

खेमराज पोखरेल 

म सानो छँदा मैले मान्नुपर्ने ज्ञानी मानिएका अग्रजले महिलापुरुषको स्वतन्त्रताकाबारेको प्रसङ्गमा भन्नुभएको थियो – महिला र पुरुष कसरी बराबर हुन सक्छ र ? कुखुराको भालेको सिउर जहिले पनि पोथीको सिउरभन्दा ठूलो हुन्छ।

ज्ञानी अग्रजको यो कुरा सुन्दा मभित्रको चिचिलो पुरुष आनन्दित भएको थियो । त्यसकारण त्यो बेला म पुरुष भएर जन्मन पाएकोमा गौरव गर्थेँ । गौरव मात्र गरेको भए त हुन्थ्यो,  बरु घमन्ड गर्थेँ । त्यसैले म दम्भ गर्थेँ । किनकि समाजले मलाई त्यही सिकाएको थियो । त्यही पढाएको थियो । त्यही बुझाएको थियो । त्यही देखेको थिएँ । त्यही भोगेको थिएँ । त्यसैमा आनन्दित थिएँ।

तर जीवन सधैँ त्यही आनन्दमा चलेन । त्यही विचारले थेगेन । समयका इन्द्रेनी रङमा सङ्घर्षका घर्षणले गर्दा जीवनका मान्यताहरू परिवर्तित हुन थाले । शनैशनै मेरा आफ्नै पुराना भाले सिउरवाला दम्भित मान्यता स्खलित हुन थाले । भए । किनभने मैले पनि अरूलेझैं जन्मनेदेखि बाँच्ने क्रमसम्ममा अनेकौं महिलाको प्रत्यक्ष साथसहयोग र माया पाएँ । त्योबिना मेरो जीवन सम्भव थिएन । मैले आफ्नै जीवनमा आफ्नै परिवारभित्र हजुरआमा, आमा, श्रीमती, छोरी र नातिनी देखें । यसबाहेक फुपू, सानिमा, ठूलीआमा, माइजू आदि अनेकौं आफन्त तथा समाजका महिला देखेँ । कक्षाकोठामा ज्ञानयुक्त गुरुमाहरू देखेँ । राजनीतिक मोर्चामा गोली खान तयार भएका नारी देखेँ । समाज परिवर्तनको मुद्दा बोकेर जीवन सुम्पेका समाजसेवी देखेँ । जीवनका गल्छेडामा विभिन्न प्रयोजनमा भेटिएकाचिनिएका महिला पनि देखेँ । ती सबै महिलाका मायालाई यति बेला म सम्झँदै छु । एकएक गरेर सम्झँदै छु । किनकि ती महिलाको जीवनले एउटा सिङ्गो युगको असङ्गत परिवेशको प्रतिनिधित्व गर्छ।

यही पृष्ठफलकमा मेरा पाँच पुस्ताका महिलाको अवस्थालाई समाज विकासको मेरुदण्डमा राखेर हेर्ने प्रयत्न गरेको छु । यो प्रयत्न समाजविकासको एउटा उदाहरण मात्र हो । एउटा चिन्तन मात्र हो । यो प्रयत्न मेरो निजी हो । मेरो हो । मैले अनुभूत गरेको कुरा हो । त्यसैले यहाँहरूमा मेरो अनुभूतिलाई अनुभूत गर्ने वा नगर्ने  विशिष्ट अधिकार कायम नै छ  । हौसला पाएँ भने हर्षकै विषय हुन जान्छ ।

अब मूल विषयतर्फ प्रवेश गर्छु । मेरी हजुरआमा म २५ वर्षको हुँदा स्वर्गवास हुनुभयो । उहाँ सम्पन्न र खानदानी मानिने भोजपुरको भुल्केका भट्टराई परिवारमा विसं १९५६ मा जन्मनुभयो । खानदानी भए पनि उहाँ  निरक्षर हुनुहुन्थ्यो । तर, उहाँको आफ्नै बाबु तथा दाजुभाइ घागडान पण्डित हुनुहुन्थ्यो । र पनि उहाँका जीवनआधार चल्ने दर्शन त्यही विभेदी पारिवारिक सामन्ती खान्दान थियो । उहाँको बोलीचालीमा त्यो कुरा प्रस्टिन्थ्यो । सगौरव भन्नुहुन्थ्यो – म त भुल्केका पण्डित कर्नाखर भट्टराईकी छोरी हुँ ।’ 

निरक्षर हुनुहुन्थ्यो तर कुलगौरवले वशीभूत हुनुहुन्थ्यो । तल्लो जात र माथ्लो जातको विभेद मनपराउनुहुन्थ्यो । बाहुनले खान हुने÷नहुने सबै उहाँका रुचिका विषय थिए । घरभित्र र बाहिरका सबै काममा दखल राख्नुहुन्थ्यो । ज्यादै धेरै काम गर्नुहुन्थ्यो । तर घरको मालिक भने हजुरबुबा नै हुनुहुन्थ्यो । हजुरबुबाको चित्त नदुखाउने एक मात्र प्रयोजन हुन्थ्यो हजुरआमाको। हजुरबुबाको लवाइखुवाइदेखि दुःखविराममा ज्यादै ठूलो चासो लिनुहुन्थ्यो । हजुरबुबाले खाने स्वादकै खाना बनाउनुपथ्र्यो । हजुरआमालाई आफ्नो स्वादको कुनै मतलब हुँदैनथ्यो । हजुरआमाका नाममा एक धुर जग्गा पनि थिएन । जति थिए सबै हजुरबुबाका नाममा थिए । २०३२ सालतिर नागरिकता बनाउन टोली घरघर पुग्यो । त्यो बेला जग्गा आफ्ना नाममा भएकाले हजुरबाको नाममा नागरिकता बन्यो । बुवाका नाममा बन्यो । तर हजुरआमाका नाममा नागरिकता बनेन । ‘किन चाहियो नागरिकता ?’ भन्ने दर्शनले काम गर्यो । हजुरआमालाई कुनै अधिकार चाहिएको थिएन । कुनै स्वतन्त्रता चाहिएको थिएन । सम्बन्ध खालि समर्पणमा थियो । पतिसमर्पण नै धर्म थियो । कर्म थियो । कुलिनता थियो । कुलवधूको घोतक थियो । हजुरबुबा छोटोछरितो र सजिलो लुगा लगाउनुहुन्थ्यो । हजुरआमा बाह्रहाते बेरेर घरधन्दा तथा मेलापात गर्नुहुन्थ्यो । घरको परिपाठ हजुरआमाले मिलाउनुहुन्थ्यो । निम्तो आउँदा हजुरबुबाको नाममा आउँथ्यो । समाजका कुनै पनि मान्छेलाई मेरी हजुरआमाको नाम थाहा थिएन । सरकारका कुनै रेकर्डमा मेरी हजुरआमाको नाम लेखिएन । हामीले सोधेर हजुरआमाको नाम पत्ता लगाएका थियौँ – वेदमाया । तर हजुरबुबा र हजुरआमा जस्तो मिलेको जोडी मैले अहिलेसम्म कसैको देखेको छैन । अगेनाको डिलमा बसेर दुवै जना चिलिमको मुखमा तमाखु राखेर तान्नुहुन्थ्यो । तर पहिलो सकाचाहिँ हजुरबुबाले नै लगाउनुहुन्थ्यो । हजुरबुबाले नखाई खानुहुन्थेन । सँगै खाने चलन थिएन । तर असाध्य मिल्ती थियो । मिल्ती यस कारण थियो कि हजुरआमाले हजुरबुबामा आफूलाई समर्पण गर्नुभएको थियो । हजुरबुबाभित्र अन्तरघुलित हुनुभएको थियो । शरीर दुई भए पनि एकाकार हुनुहुन्थ्यो । यसको दार्शनिक आधार पति परमेश्वर सिद्धान्त थियो । परमेश्वरसँग केको विग्रह ? केको रिस ? केको अधिकार ? केको घुर्की ?

मलाई यस पृथ्वीमा लिएर आउने मेरी आमा मेरा लागि सबैभन्दा कीमति महिला हो । संसारका प्रायः सबै मान्छे जब आमाको प्रसङ्ग आउँछ, तब द्रवीभूत हुन्छन् । किनभने जन्म आमाले मात्र दिन सक्छन् । अरू कसैले दिन सक्दैनन् । जन्मको मात्र होइन, आमाको मायाको पनि अन्य कुनै वस्तुसँग तुलना हुनसक्दैन । आमाको माया अनुपम हो । त्यसकारण आमा भन्नु संसारकै किम्मती रत्न हो । अवर्णनीय हो । त्यसैले संसारमा आमाबारे धेरै गहन साहित्यको सिर्जना भएको छ। 

मेरी आमा खोटाङ जिल्ला खाम्तेल गाउँकी दाहालकी छोरी हुनुहुन्छ । सामान्य साक्षर हुनुहुन्छ । समयकालमा आवश्यकताका कारणले आमाका नाममा नागरिकता बन्यो । हाम्रो अंशवण्डा हुँदा आमाका नाममा पनि जग्गा जबर्जस्ती राखियो । नत्र त आमा भन्नुहुन्थ्यो – यो जग्गाजिमिन मेरा नाममा नराख न हौ । म बूढाको बाटै खाइहाल्छु नि।

आमालाई कुनै आर्थिक अधिकार चाहिएको थिएन । राजनीतिक अधिकारको त झन् मेसो नै थिएन । मैले पनि देखेँ कि आमाले त्यो बेलाको बुहार्तन झेल्नु नै भयो । खटनपटन खेप्नुभयो । उर्वर जीवनभरि छोराछोरी नै पाइरहनुभयो । अचेल महिलाको बिहे गर्नलायक उमेर ३० भन्न थालिएको छ । तर मेरी आमाले त्यो उमेरसम्म त १० सन्तान पाइसक्नुभएको थियो।  

सुरुका प्रारम्भिक दिनमा भोट, अधिकार जस्ता कुराको कुनै हेक्का थिएन आमालाई । ‘के हो त्यो भनेको ?’ भन्नुहुन्थ्यो आमा । अहिले आमाको बैँक खाता पनि छ । जग्गा पनि छ । काम पनि सबै गर्नुहुन्छ । तर, ती सबैको खास अन्तर्य मालिक बुबा नै हुनुहुन्छ । समय परिवर्तन भयो । बुबा मालिक भए पनि अब आमा आफ्नो हिस्सा खोज्न सक्नुहुन्छ । लाउने÷खाने कुरामा त्यति बन्देज छैन । तर परम्परादेखि चलेर आएको मान्यताका कारणले चाहेर पनि बराबरीको अवस्था छैन । बुबा छरितो पहिरनमा बस्नुहुन्छ । तर आमाले भने फरिया नलपेटी जिन्दगी चल्दैन । फरिया लपेट्नु बाध्यकारी परिवेश त छैन, तर आमा कुनै हालतमा फरिया नलपेटी बस्न सक्नुहुन्न । आमाको नाम सरकारी कागजमा दर्ता भएको छ । सरकारले दुर्गादेवी पोखरेल भनेर चिन्छ । तर पनि समग्र मालिक बुबा नै हुनुहुन्छ।

अब पालो मेरी श्रीमतीको । मेरी श्रीमतीसँग मैले अहिलेसम्म पूरापूर ३७ वसन्त सँगै बिताएको छु । उनी खोटाङ सावा–कटहरेकी भट्टराईकी छोरी हुन् । झापा जिल्ला बैगुन्धुराकी भूमिपतिकी छोरी हुन् । खानदानी हुन् । त्यसैले खानदानी बन्देजभित्र राखेर एसएलसीसम्म पढाइएको हो उनलाई । त्यो बन्देजलाई सामाजिक सुरक्षाको नाम त दिइयो नै । सामाजिक आदर्शको लेपन त दिइयो नै । तर त्योभन्दा माथि पढाउनेभन्दा ‘एउटा पाल्नसक्ने वर खोजेर दिन पाए’ भन्ने सामाजिक मान्यताका आधारमा बिहे भयो । बिहे भएर आउँदा उनी ‘परम्परागत स्वास्नी’को रूपमा प्रशिक्षित भएर आएकी थिइन् । खानदानी परम्पराका महिलालाई हेपाइस् गर्ने सबै मान्यता बोकेर आएकी थिइन् । महिलाले भोग्नुपर्ने शारीरिक र मानसिक अन्धविश्वासलाई अनुशरण गरेरै आएकी थिइन् । शनैशनै अर्धाङ्गिनी बनाउने परिवेश बन्यो । खानदानी परम्पराका ती अन्धविश्वासका आदर्शहरू दिमागभित्र नपखालिए पनि व्यवहारमा भने ती धर्मराएर मर्न बाध्य भएका छन् ।

उनको नाममा नागरिकता छ । पासपोर्ट छ । जग्गा छ । स्वाभाविक रूपमा पढेलेखेका छोरीहरूले बाबुआमा दुवैलाई समान हैसियतमा माया र व्यवहार गर्छन् । घरव्यवहारमा उनी निर्णयको मालिक पनि छन् । तर पनि उनी मेरो सहयोग खोज्छिन् । सहयोग होइन निर्णय खोज्छिन् । उनले त्योे मेरो निर्णय खोजेको कारण प्रथमत माया नै होला । तर मायाभन्दा बढी मलाई मालिक बनाएको हो । परम्परा, खान्दान, सामाजिक बन्धन आदिका कारणले उनी बाँधिएकी छन् । म उनलाई ‘तँ’ वा ‘तिमी’ सम्बोधन गर्छु । उनी मलाई ‘तपाईँ’ वा ‘हजुर’ सम्बोधन गर्छिन् । मेरा दिमागमा एउटा घटना आइरहन्छ । म अमेरिकाबाट फर्केको थिएँ सन् २००७ मा । अमेरिकामा बस्दा पाहुना लाग्दा पनि आफूले खाएको थाल आफैँ माझेर राखिदिनुपथ्र्यो । 

यो घटना मेरो सामन्ती खानदानी नाकको पूरै स्खलन थियो । पुरुषदम्भको मैजारो थियो । अमेरिका बस्दा म यो भाँडा माझ्ने कुरामा बानी परेँ । किनभने आफूले खाएको भाँडा नमाझ्नेलाई अमेरिकी समाजले नराम्रो तरिकाले हेथ्र्यो । मलाई पनि भाँडा श्रीमतीले मात्र किन माझ्ने होला भन्ने लाग्न थालेकै थियो । नेपाल फिरेर मैले आफूले खाएको थाल आफैँ माझ्न खोजेँ । श्रीमतीले मेरो हातबाट थाल खोसेर भनिन् – के जात्रा गर्नुभएको ? अब म हुँदाहुँदै हजुरले थाल माझ्ने ? समाजले मलाई के भन्छ ?

मेरी श्रीमती कानुनी रूपले, पारिवारिक रूपले, वैचारिक रूपले मझैँ स्वतन्त्र छिन् । तर पनि सामाजिक घेरा यस्तो छ कि उनी सामन्तवादका खान्दान विशेष व्यवहारमा आनन्द मान्छिन् । म छोटा र छरिता लुगा लगाउँछु । उनी पनि त्यो लगाउन स्वतन्त्र छिन् । तर गर्मीमा पनि सुरुवालकुर्तामाथि सल ओढ्दा उनी मजा मान्छिन् । त्यो सल उनको सभ्यता भएको छ । अमेरिकाको बसाइ छ, तर उनी छोटो हाफप्यान्ट लगाउन कुनै हालतमा मान्दिनन् । आर्थिक अधिकार पूरै छ । आर्थिक अधिकार मात्रले पनि नहुने रहेछ । विचार वा चेतमा नै परिवर्तन नआई हुनेवाला केही रहेनछ।

मेरा तीन छोरी छन् । भन्नै परेन, ती मायाका खानी छन् । तिनले गरेको माया देख्दा लाग्छ विषयभोगको स्वर्ग यही हो । सामन्ती तथा पुरातनपन्थी समाजले ‘तेरा छोरा छैनन् ?’ भनेर सोद्धा पनि मलाई खास फरक पर्दैन । तर पुरातनपन्थी समाजले भने बिनाबित्थामा अमिलो खाएको चोसे अनुहार बनाएको देख्दा भने हाँस उठ्छ । तीनैवटा छोरीको बिहे भइसकेको छ । उनीहरूको आफ्ना श्रीमान्श्रीमतीमा दोहोरो ‘तिमी’ सम्बोधन चलाउँछन् । थरमा आफू जन्मिएकै थर राखेका छन् । पढाइ पुगनपुग बराबर छ । कमाइ लगभग बराबर छ । 

दायित्त्वबोध बराबर छ । चुनौती बराबर छ । सम्बोधन बराबर छ । भातभान्सादेखि, घरधन्दादेखि जागिर वा अर्थोपार्जनसम्म बराबर हैसियत छ । बराबर कर्म छ । सामान्यतया पहिरन पनि उस्तैउस्तै छ । उनीहरूको जीवन म्युचुअल अन्डरस्ट्यान्डिङमा चलेको छ । म्युचुअल अन्डरस्ट्यान्डिङ भनेको समर्पण वा सम्झौता दुवै होइन । माया बराबर छ । लाग्दछ सायद पूर्ण स्वतन्त्रताको विन्दु भनेको यही हो । तर जब उनीहरू परिवारकातर्फबाट समाजमा देखापर्छन्, छोरीहरू ज्वाइँलाई ‘तपाईँ वा हजुर’ सम्बोधन गर्न थाल्छन् । त्यो एकछिन मात्र हो । एक निमेष मात्र हो । एकछिन समाजलाई आँखा छलेको मात्र हो । समाजलाई झुक्याएको मात्र हो । तर मलाई लाग्छ, त्यो एकछिनको दर्शन भयङ्कर छ । त्यसको अन्तर्यले विभेदी समाजको झल्को दिन्छ । त्यो एकछिन भनेको परम्परादेखि चलेर आएको पुरातनपन्थी विचारको अवशेष हो । त्यो जब्बर बलियो हुन्छ र हेर्दा दुरुस्त देखिए पनि महिलाको पूरापूर स्वतन्त्रता त्यसले खाइदिन्छ ।

मेरा नातिनीहरू छन् । ती अमेरिकामा जन्मेका हुन् । जाहिर छ, अमेरिकामै बस्छन् । स्कुल जान्छन् । उनीहरू यति स्वतन्त्र छन् कि लिङ्ग बुझाउने कुनै पनि कुरा गर्न पाइन्न । किनभने उनीहरूले आफैँ ठूला भएपछि आफ्नो लिङ्गको तय गर्ने जमाना आइसकेको छ । वंश पनि सन्तानको स्वेच्छाअनुसार बाबुको वा आमाको नाममा चल्ने प्रक्रिया सुरु भइसकेको छ । अबको युग भनेको छोरी पाउँदा, छोरी सधैँ छोरीमै सीमित हुन्छे भन्ने छैन । कुन दिन लिङ्ग परिवर्तन गरेर छोरा भएर देखापर्न सक्छे । आफ्नै छोरीले अर्काकी छोरीलाई बुहारी बनाएर ल्याउन सक्छे । आफ्नो छोरो अर्काको बुहारी हुन सक्छ । अर्काको छोरो बुहारी भएर आउन सक्छ । एकछिन कल्पना गर्नुस् समाज विकासको यो खण्डमा आइपुग्दा के महिला के पुरुष ? को महिला, को पुरुष ? को ठूलो ? को सानो ? कसको सिउर ठूलो ? कसको सिउर सानो ?

यही धरातलमा बसेर एउटा घटना सम्झँदै छु । २०४२ सालतिरको कुरा हो । तिनताक म पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा पढाउँथेँ । प्राध्यापकको कमन रुममा बसिरहेको थिएँ । महिला प्राध्यापकहरू बात मार्दै हुनुहुन्थ्यो । एक जना महिला प्राध्यापक भन्दै हुनुहुन्थ्यो – बाहिर जेजे भने पनि घरभित्र त स्वास्नीमान्छेको हैकम असुहाउँदिलो देखिन्छ ।  

त्यो बेला मलाई लागेको थियो कि यति धेरै पढेका महिलाको त यस्तो विचार छ भने महिलापुरुष समानताको कुरा कहिले पूरा हुने होला ? 

तर अचेल म सोच्दै छु कि मैले लामो समयसम्म पालेको पुरुष हुनुको दम्भ सकिएको छ । मेरा आँखैअगाडि, मेरै वरिपरि मेरै महिला मित्र तथा आफन्तहरूले सानमा, मानमा, सौर्यमा, ज्ञानमा, दानमा, बलमा र बुद्धिमा मलाई उछिनेर धेरै पर पुगिसकेका छन् । यो मेरा लागि हर्षको विषय भएको छ । तर समाज भने अझै ‘भालेको सिउर ठूलो’ भन्ने मान्यताका पछाडि दगुरेको छ । गोजाङ्ग्रो हाँसो हाँसेको छ । समाजले गोज्याङ्ग्रो दम्भ अझै छोडेको छैन । संसारले उल्याइरहेको छ । र पनि भालेको सिउर ठूलाको विशेष  मान्यतामा किन दम्भित छ समाज ? (बाल्टिमोर, अमेरिका)

प्रकाशित: २३ वैशाख २०७८ ००:३५ बिहीबार

अक्षर