कला

लासको धुवाँ

कथा

नारायण कोइराला

 

सुनसान रोडमा चहलपहल बिस्तारै बढ्दै थियो। मानिसहरू आफ्नो काममा निस्कने तयारी गर्दै थिए। मानौं कैयन दिनदेखि उनीहरू परिबन्दमा थिए। सामान्य जीवन जिउने अवस्थाको खोजीमा थिए। जीवनका बन्द ढोका पनि खुल्ने अवस्थाको कल्पना हुँदै थियो। कुनै देशको युद्धभन्दा कम थिएन अवस्था।

ब्लवान् मानवहरू लाचार भएका थिए। आफैलाई सर्वोपरि ठान्नेहरू अलमलमा थिए। कुन बाटो रोज्ने, कुन बाटो छोड्ने सोच्न गाह्रो थियो। न त गोलबारुदको लडाइँ थियो। कागजमा सम्झौता गरी युद्ध समाप्त गर्न सकिने। यमराजको आतंक मचिरहेको थियो। नर्कमा गएपछि अनेक सजाय पाइन्छ भन्ने अपत्यारिलो कुरा वर्षौंदेखि सुनिएको थियो। आज प्रत्यक्ष रूम हो कि जस्तो जिउँदो आखाँले घरघरमा, रोडरोड, गाउँटोलदेखि देशविदेशमा देखिएको थियो। तर, सजाय केको हो बुझ्न सकिएको थिएन।

समय आफ्नो गतिमा चल्दै थियो। देश चलाउने शासकहरू यो अवस्थालाई सामान्य रूपमा लिँदै थिए। अवस्था भने गम्भीर हुँदै थियो। यमराज हाँसी रहेको थियो। मानव रोइरहेको थियो। समयको चक्र घुमिरहेको थियो।

एकादेशमा यमराजको ताण्डप झन मच्चिन थाल्यो। यमराजरूपी शासकहरू आफ्नो लडाइँमा लडिरहेका थिए। जनता मृत्युको मुखमा पुगिरहेका थिए। खुल्दै गरेका रोड पनि पुनः बन्द हुने अवस्थामा पुग्दै थिए। सबै आफ्नो जीवन रक्षाको भिख माग्नुपर्ने अवस्थामा थिए। रोडहरूमा हिँड्दा पनि यमराजको तस्वीर देखिने अवस्था थियो। कतिबेला कसको आत्मामा यमराजको बज्रपात हुने हो भन्ने डरले सबैलाई सताएको थियो।

एकातिर शासकको कुनै तयारी थिएन भने यमराज पूरै तयारीमा रहेको अवस्था थियो। एकपछि अर्को अदृश्य लडाइँ चलिरहेको  थियो। भोक, रोग र शोकले मानिसहरू तड्पिरहेका थिएँ। एकछाक खान लाउन पनि धौधौ त थियो नै। त्यसमाथि यमराजको ताण्डव।

खुला आकाशको हावा कम्ती परिरहेको थियो। कृत्रिम हावा पाउन कठिन थियो। मानिसहरूमा कोलाहल मच्चियो। कसैले कसैलाई सहयोग गर्ने अवस्था पनि थिएन। एकादेश मानिसहरू एकआपसमा दूरी कायम गर्दै थिए। समय नै त्यस्तै थियो। मानिस मानिसमा यस्तो फुट भएको थियो। जुन बाध्यता नै थियो। बाध्यताको अगाडि आफ्नो नै आफ्नो सग दूरी कायम गर्नु पर्ने अवस्था थियो।

मानिसहरू सुरक्षित ठाउँ खोज्न शहर छोडी गाउँ तिर दौडिरहेका थिए।तर यमराजको ताण्डव गाउँ तिरपनी कम थिएन । मानिसहरू एकले अर्कालाई छुन डराइरहेका थिए। एकादेशमा सबै आशा मरिसकेका थिए। एकपछि अर्को लासले गाउँ शहर कम्पन हुन थालेको थिए। सबै मानव निर्मित यन्त्रहरू काम गर्न छोड्दै थिए। मानिसहरू के गर्ने भन्ने कुराको यकिन गर्न सकेका थिएनन्। गरून पनि कसरी? लासहरू दिनदिनै बढ्दै थिए।

अरूलाई दुःख पर्दा हाँस्ने मानवहरू आज आफ्नो दुःखमा रुने मानव पाइरहेका थिएन। सबैलाई रुनुपर्ने अवस्था थियो। यमराजलाई भने कुनैपनि दयाको अनुभूति थिएन। यमराजको ताण्डव तीव्र हुँदै थियो।

 एकादेशमा यस्तो अवस्था आइसकेको थियो। मानवमानवको लास टेकी हिँड्नुपर्ने अवस्था थियो। सुनसान हुने मसानघाट रातदिन सक्रिय भएको थियो। मसानघाट पनि थाकिसकेको थियो।

‘हे मानव मसानघाट भनेपछि टाढाटाढा हुन्थिस्। आज मलाई जो दर्द हुने गरी जलिरहेको छस्। हतारहतार गरी लास जलाएर दौड्ने त आज मेरो प्रतीक्षामा लाइन लागेर बसेको छस्। अब त मेरो डरले होइन , तेरो धुवाँले मलाई अँध्यारो बनाएको छ।

‘अब त आफ्नो औकात हेर! प्रकृतिले चाह्यो भने केसम्म गर्न सक्दो रहेछ। मसानघाट कराइरहेको जस्तो लाग्दथ्यो। तर, लासको धुवाँ उड्दै थियो। यमराजको ताण्डव जारी थियो। एकादेश पूरै लासको धुवाँमा धूमिल थियो। लाचार मानव आफ्नै शरीर लास बनी धुवाँमा उड्ने हो कि भनी डर र त्रासमा बाँचिरहेको थियो। एकादेश जलि रह्यो धुवाँ उडिरहयो।

प्रकाशित: २२ वैशाख २०७८ ११:३६ बुधबार

अक्षर