अवतार ढकाल
तीन घण्टासम्म अनवरत उकालो हिंडिसक्दा पनि पिउने पानी नपाउँदा हामी थकान र तिर्खाले आकुलव्याकुल भएका थियौं । बाटामा मान्छेबिनाका घर र पानीबिनाका धारा अनगिन्ती भेटिए।
झमक्क साँझ परेपछि हामी त्यो घरमा पुग्यौं । रंग उडिसकेको, भित्ताको लिउन झरेर टाटेपाटे देखिएको, खरको छानामा ठाउँठाउँमा हरियो घाँस पलाएको ...उहिल्यै मानिसहरूले छाडेर हिंडिसके जस्तो घर। अनि उस्तै लथालिङ्ग आँगन। खुला जस्केलो र भित्र बल्दै गरेको धिपधिपे दियोले भित्र कोही छ भन्नें संकेत दिइरहेथे।
‘को हुनुहुन्छ भित्र ?’मेरो साथीले आवाज दियो।
‘को हो ?’ आवाजसँगै एकजना बुढी आमा बाहिर निस्कनुभयो।
नजिकै आएर उहाँले घरी मतिर त घरी साथीतिर हेर्नुभयो पालैपालो। अनि खुइय सुस्केरा हाल्दै भन्नुभयो।
ठ्याक्कै मेरा छोरा जस्तै । कसका छोरा हौ ? कहाँ पुग्ने हो ?’
‘पानी खाउँ न आमा ! हामी माथ्लो गाउँसम्म जाने हो । हामी पनि हजुरकै छोराजस्तै त हौं नि।’ मैले भनें।
फेरि सुस्केरा काढदै उहाँले भन्नुभयो– छोराजस्तै भन्ने त धेरै आउँछन नि बा .... । आफ्नै आउँदैनन।’
‘अनि आमाका छोराचाहिँ कता नि ?’ साथीले सोध्यो।
खै बा ! एउटा अम्रीका अर्को उता... अस्ट्रेलिया कि के जाती रे । बुढाले घर जिम्मा लगाएर गैहाले । छोराबुहारी आउलान् र जिम्मा लाउँला भनेर बसेकी छु।’ उहाँले जवाफ दिनुभयो।
‘बरु उतै जानु नि । उतै घर बनाइसके होलान्।’ साथीले सम्झाउँदै भन्यो।
‘ह्या बाबु... उताको घर पनि घर हुन्छ कतै । उही तिमीहरूले मलाई आमा भनेजस्तै हो। आमाजस्तै होला, आमा त होइन नि।’ उहाँले भन्नुभयो ।
प्रकाशित: २२ वैशाख २०७८ ०७:४७ बुधबार