त्रिपुरा पोखरेल (खरेल)
चालिस कटेसी जन्माएको छोरो भएर होला आमा भगवानलाई असाध्यै माया गर्थिन्। उसलाई कुनै कुराको अभाव हुन दिइनन्। सायद आमाको अगाध मायाको प्रभावले होला उसले पढन सकेन।
भगवान् स्कुल नगएर घरमा नै खेलेर बस्थ्यो। स्कुल जाने उमेरमा यसरी बराला भएर हिंडेको देख्दा तिनका देवरले भने , ‘ भाउजू, तपाईंको बुढेसकालको पुतालाई स्कुल पठाउने काम गरिहाल्नु त।’
‘देवर बाबु, कान्छो पिण्ड रोगी जत्तिकै छ। यसलाई स्कुल पठाउने कुरा नगर्नुस् ।’ तिनले आफूसँग लेप्पासिन आएको भगवानलाई अँगालोमा कसिन्।
समयको रफ्तारसँगै आमा बूढी भइन् । उनको पति हङकङ आर्मीबाट सेवा निवृत्त भएको केही वर्षमै यो संसारबाट बिदा भए। छोराहरूको अंशवण्डा भयो। आमाले बुढेसकाल बिताउनका लागि भगवानलाई रोजिन्। अरू सन्तानहरूले आआफ्नो सुतीथाती गर्न लागे। सानैदेखि अर्काले मुखमा गाँस हालेपछि मात्र निल्ने बानी बसेको भगवानको स्वभाव , उमेर पुगेपछि पनि बीसको उन्नाइस भएन। बेकामे भएपछि उसको संगत पनि त्यस्तैहरूसँग हुन गयो। बिहान उठेदेखि उसको बास भट्टीमा हुन्थ्यो।
‘आमा एक हजार देऊ देऊ।’ उसले आमाको पोल्टातिर पैनी दृष्टि लगाउँदै भन्यो।
‘एकाबिहानै कुकुरले आची पनि नखाई तँलाई किन रुपियाँ चाहियो ।’ अरू बेला भए उसको वचन भुइँमा नझरी रुपियाँ दिइहाल्थिन्। तर, आज पूजापाठ गर्दै गरेको बेला पोल्टाबाट रुपियाँ दिन मन गरिनन्।
उसले जबर्जस्ती आमाको पोल्टाबाट भए जति रुपियाँ खोसेर लग्यो। आमा आफूले माया गरेको छोराले आफूप्रति गरेको दुव्र्यवहार सम्झिदै दिनभरि आँसु बगाइरहिन्।
भोलिपल्ट दिउँसो भगवान् एउटी राम्री केटीलाई लिएर आमाको सामु उभियो। बुहारी ल्याएपछि आमा दङ्ग परिन्। तिनको बुहारी हेर्ने घिडघिडो पूरा भयो।
सोमबार आमा कौसीमा घाम तापेर बसिरहेकी थिइन्। भगवानकी स्वास्नी आएर आमाको सामु साडी, रसदाना र फलफूल राखेर ढोगी। तिनी मक्ख परिन् ।
‘आमा बैक म्यानेजरले तपाईंलाई बोलाएको छ।उसले तपाईंको स्वीकृति माग्छ । बुहारीलाई रुपियाँ झिक्ने अधिकार दिएँ भन्नु। म महिनैपिच्छे रुपियाँ झिकेर तपाईंलाई दिन्छु।’ छोरो दैलोमा उभिएको थियो।
भोलिपल्ट बैंक गएर तिनले कागजमा हस्ताक्षर गरिदिइन्। महिनौं बिते। तर,तिनले आफ्नो पेन्सन पाइनन्। एकदिन आँट बटुलेर बुहारीसँग पेन्सन मागिन्। छोराले अगाडि आएर करायो, ‘पेन्सन जति तिम्रो खानपानमा सकियो। रुपियाँ चाहिन्छ भने दाजुहरूसँग माग्नु।
प्रकाशित: २१ वैशाख २०७८ ०७:३२ मंगलबार