कला

ठूला घटना विकृतिका,थाहै नदिई लुकाइदिन्छन्

मुक्तक

गोम विक्रम 

                       १)

ठूला  घटना  विकृतिका, थाहै  नदिई लुकाइदिन्छन्,

कसैले कतै लेख्न खोजे, विवश पारी चुकाइदिन्छन्।

स्वतन्त्र भनिने चौथो अंग, खबर सुन्दा जो पनि दंग,

खुलस्त भई लेख्यो भने, अखबार नै सुकाइदिन्छन्।

                     २)

अब   बेल्चा  र  गैटीहरू,  आफ्नै  गाउँमा  खन्नुपर्छ,

बनाए  स्वर्ग  यही  हुन्छ,  विदेश   नजाऊ  भन्नुपर्छ,

हकको निम्ति बोल्दै जाऊँ, बन्द उद्योग खोल्दै जाऊँ,

आफ्नै   देशमा   गरी   खाने,  वातावरण   बन्नुपर्छ।

                       ३)

कल्ले जित्ला र नक्कलमा, सारै’ अगाडि बढ्यौं भने,

अरू  घोडामा  चढ्दाखेरि,  हामीले  धूरी चढ्यौं भने।

भोलि हिमाल अन्तै जाला,  बुद्धको देश अर्कै होला !

कस्तो होला स्वाभिमान नै, खरानी पारी डढ्यौं भने।

                     ४)

यस्तो कुनै  समस्या छैन, जसको कतै हलै छैन,  

समस्याबिना  संसारमा, जिउनु  पनि  भलै छैन।  

कायर भई भाग्ने हैन, लड ! किनारा लाग्ने हैन,

तिम्रो  मनभन्दा  अधिक, शक्तिशाली बलै छैन।

                       ५) 

निमेक  गर्यो मरीमेटी, आगो  बल्दैन चुलाभित्र,

राज्यको  न्याय सुविधामा, समता छैन तुलाभित्र।

निमुखा सधैं छलमा हुने, सम्पन्न सधैं बलमा हुने,

समस्या कहिले हल हुँदैन, रहस्य के छ र ‘ठूला’भित्र ?

प्रकाशित: २० वैशाख २०७८ ०४:१३ सोमबार

अक्षर