कला

गुरुको तस्बिर

कथा

घनश्याम पौडेल

 

राष्ट्रिय परीक्षा बोर्डमा फाराम बुझाउने अन्तिम दिन नेपाल बन्द भएकाले बिहान सबैर उठेर यात्रा तय गरें। नयाँबजारबाट फिक्कल कन्याम हुँदै जब कुटीबाट ओरालो लागेको थिएँ। मोटरसाइकलको सकपबाट तेलको धारो बग्यो। सुनमाईसम्म ग्यारेज थिएन। बर्ने पुगेपछि यताउता ग्यारेज छ कि नियाल्दै बुधबारे पुगें। पुल्चोकछेउमा ग्यारेज देखियो। त्यहीँ पसें। मिस्त्रीले सकप फेर्नुपर्छ भन्यो।

‘छिटो गर’ मैले भनें। सामान साहुले दिने भएकाले मित्रीले साहुलाई फोन गर्यो। केही समयमा एउटा युवा मुस्कुराउँदै आइपुग्यो।  

‘सर नमस्कार’ उसले भन्यो।

‘विनोद यहाँ, म छक्क परें। ऊ स्कुलमा निकै कमजोर विद्यार्थी थियोे । कोही बुद्धू विद्यार्थीको उपमा दिँदा विनोदजस्तो भन्ने चलन अझ पनि स्कुलमा छ।

 तिमी यहाँ ? मेरो प्रश्नको उत्तर दिंदै उसले भन्यो, ‘सर, म यतै छु।

उसले प्रस्ट्याउँदै भन्यो– यो ग्यारेज मेरो हो।

म अलिक छक्क परें। पढ्न नजान्ने केटो ठूलो ग्यारेजको साहु भएछ।  मोटरसाइकल खरिद बिक्री एक्सचेन्ज पनि गर्दो रहेछ।

मिस्त्रीले विनोदलाई सरको बाइकको सकप चेन्ज गर्नुपर्ने रहेछ भन्यो। विनोदले सकप हेर्दै भन्यो, ‘यही सकप उल्टो पारेर हाल्दिनू। उहाँ मेरो गुरु हो। गुरुलाई खर्चमा बचाउनुपर्छ।’

मिस्त्री सकप चेन्ज गर्न थाल्यो। विनोदले मलाई पसलमा बोलायो। हामी चिया पिउँदै गफ गर्न थाल्यौं।

सर, मलाई त्यो बेला स्कुल जान मन लाग्दैन थियोे । तपाईंलाई थाहा नै छ। पढाइमा कमजोर थिएँ। सर र म्यामले ज्यादै पिट्नुहुन्थ्यो। कुखुरा बनाएर राख्नुहुन्थ्यो । मलाई स्कुल जानको पिरले मर्न मन लाग्थ्यो। उसले हात हेर्दै थप्यो– मेरो हातको छाला मरेको छ। धेरै सुम्ला बसेका छन् । घुँडा टेकेको छु। कान तानिए, भाटा र थपड खाइयो।’

   विनोदका कुराले मलाई निकै असजिलो भयो। यसैले प्रश्न गरें,  ‘मैले पनि पिटें त ?’

विनोद झस्कियो र भन्यो– मैले हजुरलाई भनेको होइन। हजुर मेरो सर होइन गुरु हो।

मैले विनोदलाई अरू विद्यार्थीभन्दा केही अलग तरिकाले सिकाउन प्रयास गरे। लामो प्रयासमा म असफल भएपछि विनोदलाई भने, ‘विनोद, पढाइ तिम्रो क्षेत्र होइन। तिमीले पढेर प्रगति गर्न सक्दैनौं।

ऊ धेरै निरास भयो।

मैले थपें, ‘पढेर मात्र मानिस ठूलो हुने होइन। विश्वमा धनी मानिसको सूचीमा आउने मानिसहरू, उद्योगपति, मन्त्री, प्रधानमन्त्री, नेता कति धेरै यस्ता मानिस पनि छन्। उनीहरूले पढेका छैनन्। उसले कुरा बुझे जसरी टाउको हल्लाउँदै सहमति जनायो। तिमी मेकेनिक या आधुनिक कृषि कार्यमा लाग्नु राम्रो हुन्छ।

मलाई त्यही दिन सम्झाउँदै उसले भन्यो– यही ज्ञान मेरो गुरु दीक्षा थियो।

यसपछि मैले स्कुल छोडेर घरमा बसें। केही दिनपछि बुबाको कोटको खल्तीबाट ५ रुपैयाँको नोट झिकेर घरबाट निस्किएँ। बिर्तामोड झरेर भौंतारिदै बाइक ग्यारेजमा पुगे। मलाई मोटरसाइकल बनाएको हेर्दा साह्रै मजा लाग्यो। घिसार्दै ल्याएको बाइक मिस्त्रीले खोलखाल पार्छ,  बनाउँछ, कुदाएर हेर्छ अनि पैसा थापेर फिर्ता दिन्छ। म टोलाएर हेर्दै थिएँ।

मविल गृच पोतिएर कपडाको रङ नचिनिने भएको एउटा मान्छेले भन्यो, ‘ए फुच्चे, के हेरेको?’

‘बाइक बनाएको’ मैले दबेको स्वरमा भने।

 –सिक्छस?

– सिक्छु।

–यो बाइक धोइदे।

बाइक धुन सिकायो। यहीँबाट मेरो नयाँ जीवनको यात्रा सुरु भयो। केही समय बाइक धोएर बिताएँ। छ महिनामा मैले बाइक खोल्न जोड्न सिके। एक वर्ष नबित्दै म मिस्त्री भएँ। दुई वर्ष त्यही ग्यारेजमा बिताएँ। ऊ निरन्तर बोलिरह्यो। यो ग्यारेज खोलेको पाँच वर्ष भएछ। करिब २० लाखको सामान छ। किस्तामा ८÷१० वटा बाइक बेचेको छु, किस्ता तिर्छन् । प्रणामी मन्दिर छेउमा घर बनाएको छु।

मिस्त्री आएर बाइक तयार भयो भन्यो। विनोद गएर टेस्ट ड्राइभ गर्यो। मलाई चाबी दिँदै ‘बाइक राम्रो बनाएछ। अब धोका दिंदैन’भन्यो। ऊ एकदुई कदम अगाडि पुगेर फर्किएर भन्यो– आज मेरो ग्यारेजको पूजाको मन्दिर हेरेर जानू है,सर। मलाई देखाउन रातो पर्दा खोल्दै भन्यो, ‘यो विश्वकर्मा बाबाको तस्बिर, दायाँतर्फ मेरा मातापिताको तस्बिर, बायाँतर्फ मेरो गुरुको तस्बिर म यिनै तस्बिरलाई  पूजा सधैं गर्छु।’

त्यो बेला म अवाक भएँ। निस्किएर बाइक स्टार्ट गरेर बाटो लागे। बाटोभरि मैले त्यहीँ पूजाकोठामा भएको गुरुको तस्बिर झलझली सम्झिएँ। मेरो कल्पना बाहिरको कुरा थियो। त्यो तस्बिर अरू कसैको नभएर मेरो थियो।

 माइजोगमाई–१, नयाँबजार, इलाम।

  

प्रकाशित: १९ वैशाख २०७८ ०७:४४ आइतबार

अक्षर