कला

अदृश्य शत्रु

कविता

केशवमोहन अधिकारी  

 

यो गतिशील शहर र यस्तै मानिसहरू

यो शालीन बस्ती र यस्तै मानिसहरू

अकस्मात,

सिंहले खेदेर थकाएको हरिणजस्तै

त्रासपूर्ण अनुहार लिएर

त्राहीत्राही मुद्रामा कुँदिरहेछन्

र एक  अदृश्य शत्रु

खेदिरहेछ क्रूर शिकारीजस्तै

लाग्छ कोही अन्तिम युद्ध लडिरहेछ मानिसको  खिलाप

बिनाचेतावनी प्रहार गर्दैछ अदृश्य मिसाइलहरू

र बिनाविस्फोट नै पड्काइरहेछ भयानक परमाणु बमहरू

घोप्ट्याएर एसिडका घैटाहरू मानिसका छातीमाथि

बेचैनीको झोल पियाउँदै हृदयमा

कन्ठ च्याप्प समातेको छ उसले

र चेतावनी दिँदैछ सबैलाई

‘देखिस, म के गर्न सक्छु !’

प्रेम र समवेदनाका मुहान थुनिएको छ उसको

दया र करुणा गुम भएको छ

विनाश नै धर्म

अन्त्य नै प्राप्ति

समाप्ती नै ध्येय

यातना नै आनन्द

मृत्यु नै प्रेम

मानौं, ऊ आफ्नो मिसनमा छ

मानवलाई डाइनोसर बनाउने मिसनमा

 

तथ्यांक चुचुरो चढ्दै गर्दा

खुब अट्टहास गर्दो होस् नि

भयभित अनुहारहरू

भयभित आवाजहरू

भयभित चालहरू

खुब मातिदो होस् यी सब देख्दा

 

तँ सेलेब्रिटी

किनकि सबको मुखमा छस् तँ

तँ सर्वव्यापी

किनकि जहासुकै छस् तँ

तँ अहंकारी

किनकि सजिलै जान मान्दैनस् तँ

 

तर मक्ख नपर

तर मक्ख नपर,

ए अदृश्य शत्रु

हरेक युग यस्तै नै त छन् हाम्रा

कुनै बेला

माइक्रोबक्टेरिअम ट्युवरकुलोसिस

प्लसमोडिअम प्यारासाइटस

अनियन्त्रित कोषहरू

र यस्तै यस्तै तँजस्ता थुप्रै तेरा आसेपासेहरू

यसरी नै धावा बोल्थे

पागल थिए ती तँ जस्तै

नाङो तान्डव थियो तिनको तेरोजस्तै

सोच्थे सम्राट आफूलाई तैँले जस्तै

र तमासा गर्न खोज्थे तैँले जस्तै

सुन् हे अदृश्य शत्रु

कान खोलेर सुन्

या नसुन्

तेरा बाउबाजेहरूझैँ

तँ पनि इतिहास हुने दिन आउनै लागेको छ

हेर् त! पूर्वमा घाम उदाउनै लागेको छ।

            क्याल्गरी, क्यानाडा।

प्रकाशित: १९ वैशाख २०७८ ०१:३३ आइतबार

अक्षर