लक्ष्मण अर्याल
‘जीवन त नर्कमय भो।’ – पैतालाले उसका सामु दुखेसो बिसाए । कुर्सीमा आसीन उसले भन्यो – के दुधभात पनि मिलेको छैन ?
पैतालाले भने – हामी रैतीबाट कहिल्यै उठ्न सकेनौं । जसोतसो जोहो भएको दुधभातको प्राप्ति मात्रले जीवन बनेन । अब कहिले हुन्छ हाम्रो समस्याहरूको निदान ?
‘बुझें – बुझें, प्रयास गर, कोसिस जारी राख, उडेर चन्द्रमा छुने लक्ष्य लेऊ।’ – ऊ बोल्या।
कुर्सीमा आसीन उसको बोलीको भंगीमा सुनेर आश्चर्यमा परेका पैतालाहरूले कानेखुसी गरे – ओहो, बितिसकेका महाराजका आवाजसँग ठ्याम्मै मिल्ने आवाज! कस्तो अविश्वसनीय आश्चर्य, यस्तो पनि हुन्छ र ? यही यथार्थ हो।
पैतालाहरूका कानेखुसीले तर्सिएको उसले कड्किंदै भन्यो – केको कानेखुसी ? हाकाहाकी कुरा राख।
एक बुढो फुटेका पैतालाले निधारमा हातको पाली बनाएर कुर्सीपट्टि हेरेरै भन्यो – ए तिमी त महाराज नै बनिसकेछौ हगि ।बिर्स्यौ – केही वर्ष अगाडि एउटा महाराज हटाउन तिमी हामी दुवै एकै सडकमा थियौं।
(सन्दर्भ – श्रमिक दिवस)
प्रकाशित: १८ वैशाख २०७८ १४:२६ शनिबार