नेपालका निश्चित साँध किल्ला
तोकेर खम्बा बलिया र चिल्ला
जंगेसरी जो अब ठोक्न सक्ला
यो देशको हो उही राजनेता।
स्वदेशका शिक्षित छात्रछात्रा
पाऊन् यहीँ काम र दाम भत्ता
पठाउने बाहिर गेट रोक्का
जो गर्नसक्ला त्यही लोकनेता।
यो एउटा मात्र छ राजमार्ग
सानो छ भूवेष्टित देशभित्र
छ लैन चौडा जुन पार्न सक्ला
त्यो हुन्छ साझा जनपुज्य नेता।
हिमालको निर्मल स्रोतलाई
नयाँ र राम्रो प्रविधि चलाई
निर्यात यो विश्व बजारलाई
जो गर्न सक्ला उही राष्ट्रनेता।
यो देशको जैविक सम्पदा र
बुझेर पर्यावरणार्थ सार
गर्ने सुरक्षा जुन खोल्छ द्वार
नेता त्यही हुन्छ सदावहार।
विदेशका आर्थिक लोभजाल
स्वदेशका शाब्दिक मोहजाल
तोडेर नेपाल बनाउ स्वच्छ
युवा ! अगाडि बढ देशभक्त।
हिजो उज्यालो इतिहास हाम्रो
भविष्य पक्का छ अवश्य राम्रो
छ हालको चाल यथार्थ चाम्रो
सुवर्ण पोल्दा अझ हुन्छ राम्रो।
यो पृथ्वीनारायणको फलैँचा
हो भानु भाषा वनको बगैँचा
हामी बसेको सजिलो गलैँचा
पराईको होइन रंगमञ्च।
प्रकाशित: १८ वैशाख २०७८ ०६:१४ शनिबार