नेपालको किरातकालीन कला किंवदन्तीका आधारमा स्थापित भएको देखिन्छ। किरातकालीन भनिएको एउटै कलाको पनि कलाविद्ले झन्डै ५–६ सय वर्षको अन्तरमा विभाजित गरी व्याख्या विश्लेषण गरिदिँदा कहिलेकाहीँ यसले अन्योल पनि कायम गरेको छ। संस्कृतविद् सत्यमोहन जोशीले युनानी वा गान्धारको प्रभावको प्रसंग निकाल्दै आर्यघाटको ब्रह्मनालनजिकै रहेको विरूपाक्षको मूर्तिलाई इसापूर्वको उल्लेख गरेका छन्। त्यस्तै, कलाविद् लैनसिंह वाङदेल र डा. पालले यसलाई इसाको चौथो वा छैटौँ कालको हो उल्लेख गरेका छन्, यसबाट यथेष्ट मात्रामा अन्योल थपिएको छ।
जेहोस्, विरूपाक्षको मूर्ति अनुमानित किरातकालको विवादास्पद, चाखलाग्दो र अनेकौँ लोकगाथाले भरिएको कलाको रूपमा आज पनि देख्न सकिन्छ। यो मूर्ति इसाको प्रथम शताब्दीको मान्ने गरिन्छ। चौथो शताब्दीको भनी केही विद्वान्ले माने पनि केही इतिहासकार यसलाई कुनै अज्ञात किराती राजाको मूर्ति भनी मान्छन्।
यसैगरी नेपालमा पाइएको यक्षको मूर्तिलाई पनि कसैले बोधिसŒवको हो भन्ने प्रचलन छ। यसको पनि तिथिमिति एकै मिलेको पाइँदैन। भारतमा भने यक्षको सन्दर्भ मौर्यकालभन्दा अगाडिको मानिन्छ। यसको स्वरूप मौर्यकालको भन्दा एकदमै अलग र विशालकाय हुने गथ्र्यो। यसर्थ किरातकालीन कलाको पृष्ठभूमि लोकगाथा, दन्त्यकथा र आकलनको वरिपरि ज्यादा घुमेको देखिन्छ। कलाविद्पिच्छे कुनै पनि स्रोतको आधारमा राजनीतिक इतिहासको कालखण्ड, राजाका नाम र राज्य गरेको वर्ष फरक–फरक देखिन्छन्, अर्थात् मिल्दाजुल्दा छैनन्। कति इतिहासकारले लिच्छवि र किरातकालबीच पनि अर्को सोमवंशी राजाहरूको प्रसंग ल्याएको देखिन्छ। यसभित्र राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, प्रशासनिक विधाहरूको उल्लेख भए पनि कलाको अलग्ग उल्लेख धेरै कम भएको छ। यसर्थ कलाकै सन्दर्भ उठाएर चर्चा गर्न कलाविद् अझ अप्ठेरामा परेका देखिन्छन्। यसैबीच पत्ता लागेको जयवर्माको मूर्तिमा वर्मा वंशको पनि उल्लेख हुँदा यहाँनेर नेपाली कलाको वास्तविक इतिहास गहिरिएरै खोज्नुपर्ने देखिन्छ।
कलाकार, कलाविद् लैनसिह वाङ्देलले इसापूर्व पहिलो शताब्दीको गजलक्ष्मी च्यासलहिटी पाटन र श्री लक्ष्मी तिलौराकोटमा प्राप्त भएको उनैको पुस्तक ‘प्राचीन नेपाली मूर्तिकलाको इतिहास’मा उल्लेख गरेका छन्। अर्का कलाविद् ऋषिकेश शाहले पनि नेपाली कलालाई इसापूर्व नै पु¥याएका छन्। उनले नेपालको कलालाई इसापूर्वको पहिलो शताब्दीदेखि इसाको चौथो शताब्दीसम्मको काललाई दुई खण्डमा विभाजित गरेका छन्। उनले प्राचीन मूर्तिको प्रसंग उठाउने क्रममा यसै वेलाको गजलक्ष्मीको मूर्तिलाई अगाडि सारेका छन्। यो मूर्ति पूर्णतः मथुरा कुषाण परम्परामा आधारित रहेको उनको भनाइ छ। इसाको पहिलो शताब्दीतिर विकसित भएको यस बखतको कुषाण कला विशेष गरेर चार ठाउँ (मथुरा, गान्धार, संगोल र अमरावती)मा अलग–अलग कलाको शैलीका साथ विकास भएको थियो। समग्रमा पहिला युनानीकला र पछिबाट पर्सियन कलाको भारतीय कलामा गहिरो प्रभाव परेको छ। तथापि यी प्रभावबाट नयाँ कलाशैलीको विकास गरी भारतीयले आफ्नो एक अलग्ग नाम र शैली स्थापित गरेका छन्। यसैका आधारमा अन्य सानाठूला गणराज्यमा साना–साना विषय र शैली प्रवृत्तिलाई अझ सूक्ष्म तरिकाले अध्ययन अनुसन्धान गरी सोही ठाउँ विशेषलाई नामकरणका साथ एक अलग्ग पहिचान स्थापित गर्ने संस्कारको विकास गरिएको छ। कला लेखनको संस्कृतिलाई मानसम्मानका साथ उनीहरूले स्थापित गरेका छन्। नेपालमा यसो हुन सकेको देखिँदैन।
डा. साफल्य अमात्यका अनुसार, हाडीगाउँको उत्खननमा फेला परेको सम्भवतः मथुराबाट ल्याइएको भारत्तोलन गर्ने रातो चुन ढुंगामा कृष्णले घोडाको रूप भएको केसिन नामक दैत्यलाई संहार गरिरहेको दृश्य अंकित छ, यही ढुंगाको टुक्रा नै हालसम्मको उपत्यकाभित्र पाइएका सबैभन्दा प्राचीन अनुमानित इसापूर्व प्रथम वा द्वितीय शताब्दीको मूर्तिको टुक्रा हो। यी मूर्ति किरातकालकै हुन् भन्ने स्पष्ट झल्कन्छ। युनानी प्रभावित गान्धार शैली र भारतीय शैलीमा विकसित भएको मथुराशैली कलाका नितान्त फरक प्रवृत्ति हुन्। कलाको विषयदेखि मोटिफको प्रस्तुतिमा, गरगहनादेखि लिएर अंग–प्रत्यंग देखाउने क्रममा, आसन र वेशभूषामा दुवैको शैली, सोच र दर्शन अलगअलग छन्। प्रभावकै सन्दर्भमा पनि यी कुरालाई हामीले सूक्ष्म रूपमा उठाउन सकिरहेका छैनौँ।
अर्को श्री लक्ष्मीको प्रसंग छ, जुन वैष्णव धर्मसँग गाँसिन्छ। नेपालमा प्राचीन कालको धर्म समन्वयकारी रूपमा अघि बढेको देखिन्छ। यसर्थ एक धर्मले अर्को धर्मलाई धरापमा पा¥यो भन्नुभन्दा हरेकजसो राजाले जुन धर्ममा आस्था राखेको देखिए पनि सँगसँगै अन्य धर्मलाई स्थान दिएको पाइन्छ। तत्कालीन भारतको इसापूर्वमा देखिएको मौर्यकला र इसाको प्रथम शताब्दीबाट देखिएको कुषाण कलामा मूलतः युनानी कलाको विशेषता छ, त्यस प्रभावबाट हट्दै भारतमा मथुरा, गान्धार, संगोल वा अमरावती शैलीसँग सम्बन्धित कलाको विकास हुँदै गएको पाइन्छ। हामीकहाँ स्थुल रूपमा मथुरा कलाको प्रभावको विषय मात्र बढी चर्चा गरिन्छ।
हामीकहाँ राजनीतिक राजाहरूकै कालक्रम क्रमबद्ध अवस्थामा अर्थात् प्राचीन राजनीतिक इतिहासलाई आधिकारिक कालक्रममा राख्न नसकेको अवस्थामा छ, यसमाथि धर्मको सिलसिलेवार इतिहास बन्न अझ परको कुराजस्तो लाग्छ। किनकि किरातीहरू मूलतः पशु वा पशुपति मान्ने र यसैको आराधना गर्ने शैव धर्मको अनुयायी थिए भनिन्छ। यस्तो अवस्थामा एकैचोटि वैष्णव धर्मको प्रसंग आउँदा पनि थोरै अन्योल देखिन्छ। भारतकै सन्दर्भ उठाउँदा वैष्णव धर्मलाई इसापूर्व दोस्रो शताब्दीभन्दा पर तानेको देखिँदैन, बरु यसवेला भारतमा बौद्धधर्मको बोलबाला रहेको देखिन्छ। यसकारण नेपालको किरातकालीन कलालाई स्पष्ट व्याख्या विश्लेषण गर्न कलाविद्ले गाह्रो महसुस गर्छन्।
कलाको शैली र प्रवृत्ति
किरातकालीन कलाको शैली र प्रवृत्तिका बारेमा कलाविद्का अलगअलग धारणा छन्। जसले गर्दा किरातकालको कलाको विषयमा स्पष्ट भन्न कठिन छ। तथापि लिच्छविकालमा पाइएका विशेष गरेर मूर्तिको लक्षण (चित्रकला र वास्तुकला आधिकारिक रूपमा पाइएका छैनन्) र विशेषता भन्दा अलग्ग देखापरेका मूर्ति यसअघिका हुन सक्ने सम्भावना धेरैजसो विद्वान्ले आकलन गरेका छन्। यो एउटा न्यायपूर्ण ढंगले देखिनु यथार्थपरक लाग्छ। जसलाई सामान्य हिसाबले किरातकालीन कला भनेर साबित गर्न कोसिस गरिएको छ। कलाविद् सत्यमोहन जोशीले लिच्छविकालका मूर्तिसँग मेल नखाने तीभन्दा प्राचीन प्रस्तर मूर्ति भनेर आर्यघाटको मृगेश्वर र हाल राष्ट्रिय संग्रहालयमा भएको राजपुरुषबारे उल्लेख गर्दै किरातकालमा पनि मूर्तिकला पर्याप्त मात्रामा विकास भइसकेको उल्लेख गरेका छन्। कुनै विद्वान् वा विदुषीले यस्ता मूर्तिलाई किरातकालीनभन्दा अगाडि लैजान कोसिस गरेको देखिँदैन। नेपालमा किरातकालभन्दा अगाडि महिषपाल वंश र गोपालवंश थिए। यी तीनै राजवंशका कालखण्ड आधिकारिक रूपमा आउन नसकेका कारण कुनै प्राप्त कलालाई महिषपाल वा गोपालवंशसँग जोड्ने आधार पाउन कलाविद्लाई अप्ठेरो परेको देखिन्छ।
ऐतिहासिक आलेख
इसाको पाँचौँ शताब्दीमा मात्र आधिकारिक रूपमा राजनीति सँगसँगै कलाको इतिहास लेखिएको हँुदा यसअघिका कलालाई विशेषगरी वंशावलीका आधारमा व्याख्या विश्लेषण गर्ने गरेको पाइएको छ। सबैभन्दा जेठो गोपालराज वंशावली राजा जयस्थिति मल्लको पालामा लेखिएको हो। यसपछि भाषा वंशावली लगायत धेरै वंशावली लेखिए। कर्क प्याट्रिकले ‘यी किरातीले नेपालमा झन्डै एक हजार ६ सय वर्ष राज्य गरे’ भनेका छन्। यलम्बरले स्थापना गरेको किरात वंशमा अन्तिम राजा भने गस्ती थिए। इतिहासकारले किरातकाललाई इसापूर्व छैटौँ शताब्दीसम्म पु¥याउने कसरत गरेका छन्। यसकारण भारतको बुद्धकालीन अवस्थामा नेपालका किरातीको सम्पर्क रहेको वेलाबखत चर्चा हुने गरेको पाइन्छ। पाषण युगदेखि वैदिककाल, उत्तर वैदिककाल हँुदै पुराणकालका रूपमा अगाडि बढेको देखिन्छ। यजुर्वेदमा किरात शब्दको उल्लेख भएको भेटिएकाले उत्तर वैदिककालमा किरातीको अस्तित्व रहेको थाहा लाग्छ। कलाविद् मोहनप्रसाद खनालले आफ्नो पुस्तक ‘नेपाली कला’मा प्राचीन साहित्य महाभारत, मार्कण्यपुराण, वायुपुराण आदि ग्रन्थको स्रोत दिँदै किरातीहरू पूर्व सिमानामा रहेको उल्लेख गरेका छन्। यसर्थ पहिले पूर्वमा रहेका किराती नेपाल उपत्यकामा आए, राज्य गरे अनि पुनः आफ्नो ठाउँ पूर्वमै गएर बसेको देखिन्छ।
कति विद्वान्ले यही किरातकालमा मल्ल, शाक्य, लिच्छवि, गोपाल अहीर, कोली, वृजिक आदि यसवेला देखिइसकेका थिए भन्ने उल्लेख गरेका छन्। कति इतिहासकारले बाह्य आक्रमण हुँदा लिच्छवि, मल्ल, शाक्य वा कोली आदिले सहयोग नगरी यो राजवंशको विनाश होस् भनेर चाहेका थिए भनिन्छ। यसकारण पछि पश्चिमका सोमवंशी राजाले किरातीलाई हराए पनि भनिन्छ। लिच्छविहरू इसाको दोस्रो शताब्दीको अन्ततिर वा तेस्रो शताब्दीको सुरुतिर मात्र देखापरेको एक प्रकारको स्थापित मान्यतालाई भत्काउँदै किरातकालमै लिच्छवि थिए भनिदिँदा यसले पनि अर्को अन्योल थपिदिएको छ। यी लिच्छवि वैशालीबाट आएको मात्र होइन, उत्तर भारत र मगधबाट आएको पनि आकलन गरिएको छ। यी सब अन्योलको निराकरण अहिलेसम्म हुन सकेको देखिँदैन। यसको निराकरण किन आवश्यक छ भने बाह्य क्षेत्रबाट आएका तुलनात्मक रूपमा सुसंस्कृत लिच्छविले उतैबाट कला र शिल्पी पनि लिएर आएका थिए, यसले लिच्छवि नेपाल पसेपछि आफ्नै प्रकारको एक अलग्ग कलाको शैली स्थापित गरेका सन्दर्भलाई नकार्न सकिँदैन। यसका लागि त्यस वेलाको नेपाली कला र उत्तर भारत वा वैशाली वा मगधका कलाबीच रहेको तुलनात्मक अध्ययन अनुसन्धान जरुरी छ।
मूर्तिको स्वरूपमा अलिकता भद्दापन र प्रत्यक्ष रूपमा धर्मबाट पे्ररित गरिने सन्दर्भकोे अभिलेख नपाइनाले पनि स्वभावतः कलाकारले लौकिक कला बढी मात्रामा बनाएको आकलन कलाविद्ले गर्ने गर्छन्। भद्दापन देखिने मूर्ति अनार्यले बनाएको भनिन्छ, जुन कला धर्मसँग त्यति नजिक देखिँदैन। तथापि लौकिक र लोककलालाई केन्द्रबिन्दुमा राखेर कलाको व्याख्या विश्लेषण गरिएको त्यति देखिन्न। आकलनकै भरमा धेरै मूर्तिलाई धर्मसँग गाँसिएको पनि पाइन्छ। यसर्थ यसबखतका कलाको सन्दर्भ उठाउँदा लोककला वा लौकिक कलाको प्रसंग बढी आउँछन्, तर त्यतापट्टि नगएर कलाविद्ले प्राप्त हरेकजसो मूर्तिलाई धर्मसँग जोड्ने कोसिस गरेको देखिन्छ।
नेपालमा कलाको मात्र छुट्टै इतिहास लेखिएको छैन। राजनीतिक इतिहासमै कलालाई पाश्र्व भागमा चर्चा गरिएको छ, जसमा राजा–महाराजाको कालमा बनेका वास्तुकला, मूर्ति वा चित्रको चर्चा गर्नतिर कलाविद्ले कसरत गरेका छन्। कुन राजा कति बलवान् थिए, कुन राजा कति धार्मिक थिए भन्ने प्रसंगमा मठ–मन्दिर वा दरबार (वास्तुकला) बनेका अभिलेखन बढी पाइन्छन्।
कुषाणकालको मथुरा वा गान्धार कला शैलीसँग तुलना गरेर कालखण्डको निर्धारण गरिएको छ। भारतीय कला युनानी वा पर्सियन शैलीबाट प्रभावित थियो, तत्कालीन भारतमा एक अलग्ग विकास भएको गान्धार, मथुराशैली वा पछिल्लो कालमा आएर गुप्तशैली हुँदै पाल वा मुगल, राजस्तानी शैलीसम्म व्याख्या गरी इतिहास लेखिएको छ। यिनै भारतीय शैलीको प्रभाव नेपाली कलामा परेको धेरै ठाउँमा उल्लेख भए पनि आधिकारिक रूपमा नेपालको आफ्नै कला शैलीको स्पष्ट नामकरण भएको देखिँदैन। कलाविद्को तर्कअनुसार लिच्छवि जुन दक्षिणबाट नेपाल छिरे, स्वभावतः काठमाडौं उपत्यकामा राज गरिरहेकाभन्दा सु–संस्कृत थिए, अर्थात् विकसित थिए। स्वभावतः यसको असर त्यसवेलाको कलामाथि पर्न गयो। फलस्वरूप विधि विधानसम्मत हुन नसक्दा, शिल्प दक्षता लगायत खास रूपमा विज्ञद्वारा दिशानिर्देश हुन नसक्दा तत्कालीन कलाको स्वरूप लोककलातर्फ मोडिएको आकलन विद्वान्ले गरेका छन्। यसो हुँदा लिच्छविकालमा देखापरेका मूर्ति फरक ढंगबाट बनेको देखियो। कतिले यस्ता कलाको स्वरूप र प्रकृतिलाई भारतमा मौर्यकालभन्दा अगाडि देखिएका यक्ष मूर्तिको स्वरूपको अवस्थासँग तुलना गर्ने गर्छन्। जंगली अवस्थादेखि अलिक विकसित तर बाह्य संसारसँग सम्पर्क कम हुँदा समाज, दिनचर्या, संस्कार आदिका साथै कला पनि सोही रूपमा विकसित भएको हुनुपर्छ भन्ने सामान्य तर्कमा पनि असहमति हुन सकिन्न।
विरूपाक्षका थप कुरा
खैरो कडा प्रस्तरबाट बनेको आर्यघाटको विरूपाक्ष मूर्ति किरातकालको मानिन्छ। महाभारतको आरण्यक पर्वमा ‘विरूपाक्षं महाकार्य यक्षं तालसमूच्क्ष्यम्’ भनेर यक्षको पं्रशसा गरेको प्रसंगले यो आफैँमा प्राचीन रहेको संकेत मिल्छ। गान्धारमा यो शैली करिब इसापूर्व ५० देखि सन् ५०० सम्म सक्रिय रहेको बताइन्छ। यो गान्धार शैलीले इसाको पहिलो शताब्दीमा एसियाका करिब सम्पूर्ण भागमा प्रभाव पारेको देखिन्छ।
विरूपाक्षको मूर्ति जमिनमा आधा गाडिएकाले हातमा के के छन् भन्न सकिँदैन, यो मूर्ति कम्मरदेखि उँभो नांगै छ। यसको घाँटीमा दुईवटा छुट्टाछुट्टै मसिना धागा र कानमा विचित्र आकारका कुण्डल छन्, जुन लिच्छवि, ठकुरी र मल्लकालको कुनै मूर्तिमा पाइएको छैन।
कलाको इतिहासमा विरूपाक्षको विषयमा रमाइलो गाथा जोड्ने गरिन्छ। विरूपाक्ष बाल्यकालमै आफ्ना हराएका बाबु खोज्न निस्कन्छन्। खोज्दै जाँदा उनी जवान हुन्छन्। एक दिन उनको बास ओडारमा हुन्छ, एउटा अधबैंशे महिला पनि त्यही ओडारमा बास बस्न आइपुग्छिन्। रातको अँधेरीमा दुवैबीच सहवास हुन्छ। बिहान उठेर एकले अर्कालाई सोधपुछ गर्दा विरूपाक्षले आफ्नै आमासँग सहबास गरेको खुल्छ। ठूलो पाप गरेको महसुस भएपछि पश्चातापका लागि के गर्नुपर्छ भनेर याचना लिएर उनी पशुपतिमा आइपुग्छन्, तर हल हुँदैन। बुद्धकहाँ जान्छन्, माला जप्न दिइन्छ। अन्तमा विरूपाक्षलाई महापापी ठानी जनताले जमिनमुनि गाडिदिएको कथा छ। उनले आफ्नै आमासँग सहवास गरेको सन्दर्भ कलियुगको आगमन भएको र यो मूर्ति पूरै जमिनमाथि आइसकेपछि सत्य युग आउँछ भन्ने जनविश्वास आज पनि छ।
कथाले विरूपाक्ष सामान्य मान्छे भएको र त्यसवेला यस्ता कला बनाइँदो रहेछ भन्ने संकेत गर्छ, जुन धार्मिक होइन। काठमाडौं उपत्यकामा प्राचीन कालदेखि नै अनार्य जाति वा किरात जाति बस्थ्यो। जसको मुखाकृति सम्भवतः डम्म परेको गोलो आकृतिको थियो। विरूपाक्षको यस मूर्तिमा झन्डै यस्तै अनुहार भएको, चिउँडो अलि चुच्चो परेको र बीचमा एउटा सानो पातलो धर्सो छ। यस मूर्तिमा जनै नभएको प्रस्टै देखिन्छ, यो विचित्रको मूर्तिलाई कुन समयको हो भनी निर्धारण गर्न गाह्रो छ।
किरातकालीन कलाको विशेषता
नेपालको कला इतिहास स्पष्ट र सिलसिलेवार रूपमा नलेखिएको भए पनि स्थुल रूपमा कलाका विशेषता भने औँल्याउन कोसिस गरेको देखिन्छ। कलाका विशेषता खोज्ने क्रममा लिच्छविकालका भन्दा फरक खालका मूर्तिलाई बेग्लै खण्डमा राखी अभिलेखन गरिएका छन्। सुडौल, पुष्ट शारीरिक बनोटलाई मुख्य विशेषताको रूपमा चित्रण गरिएको छ। नेपालमा देखापरेका लिच्छविकालपछिका मूर्ति सुलुत्त परेको, छरितो जिउडाल भएको पाइन्छ। यी मूर्तिबारे खोज अझै जारी छ। तथापि यस्ता मूर्तिलाई किरातकालीन कलाको विशेषता मानिन्छ। सजिलो तर्क भनेको यी किरातीहरू मंगोलबाट प्रभावित थिए भन्ने अर्थ निकाल्छन्। यी किरातीलाई अनार्य वर्गको रूपमा चित्रित गरिँदा फलस्वरूप यस्ता खालका मूर्ति बने होलान् भन्ने कलाविद्को तर्क छ।
हरेक राष्ट्रमा त्यहाँका आदिवासीको रूप, शारीरिक संगठन र अनुहारका विशेषतालाई लिएर मूर्ति बन्ने गर्छन्, यसैलाई पछिल्ला कलाकारले कपी स्वरूपमा बनाउने प्रचलन हुन्छ। यसर्थ चाइना र जापानका बुद्धका मूर्ति र नेपाल वा भारतमा यही बुद्धका मूर्ति पनि फरक ढंगका देखिन्छन्। यस्तो देखिएन भने यस्ता मूर्तिमा कपी–कलाको अर्थ निस्कन्छ। नेपालमा कहिले यस्ता सुडौल अनि कहिले सुलुत्त परेको जिउडालका मूर्ति हुने गरेकाले यहाँका असल बासिन्दा कस्ता थिए भन्ने चासोको विषय सम्भवतः सबैमा रहन्छ। जहाँसम्म प्रभावको सन्दर्भ मात्र छ, यो भारतको गान्धारको प्रभाव थियो भन्न सकिन्छ। गान्धार शैली युनानी शैलीबाट प्रभावित थियो। सुसंगठित, आंगिक अनुपात मिलेको हृष्टपुष्ट, बलशाली, आकर्षक शारीरिक बनोट आदि युनानी मूर्तिको विशेषता मानिन्छ। अर्को सन्दर्भ भनेको यस वेलाको युनानी कला बाह्य रूपमा अति आकर्षक देखाउने प्रचलन थियो। भाव र अभिव्यञ्जनामा बढी मात्रामा दखल बढेपछि पूर्वका कला अलग्ग देखिन्छन्। यसैले पूर्वका कलामा आन्तरिक सौन्दर्य रहन्छ भने पश्मिेली कला बाह्य सौन्दर्यमा ओतप्रोत हुन्छन् भन्ने मान्यता र दर्शन स्थापित भएको छ। यसैले कुषाणकालकै त्यतिवेलाको मथुराकला आन्तरिक सौन्दर्यतर्फ अग्रसर हुँदा गान्धार कलाभन्दा अलग्ग देखिन खोजेको प्रसंग यहाँ देखिन्छ। अझ अलिकता अगाडि देखापरेको भारतकै शैलीगत सु–संस्कृत नभएको मौर्यकालभन्दा अगाडि देखापरेका यस्ता यक्षका मूर्तिसँग यी किराती कलाको तुलनात्मक अध्ययन गर्ने प्रचलन बसेको हो। यी दुवैमा केही मिल्दाजुल्दा विशेषता पाइन्छन्।
किराती कला भद्दा र खस्रा विशेषताका हुन्छन्, तर सरल र सहज हुन्छ। सामान्य मूर्ति जहाँ पाइएको हो, त्यसै ठाउँमा प्राप्त हुने शिलामा बनाउने प्रचलन हुन्छ। स्वभावतः यस्ता खस्रा वा कमसल तर कडा प्रस्तरमा यस वेलाका कलाकारले मूर्ति बनाए होलान् भन्ने अर्थ निक्लन्छ, तर यसपछिका लिच्छविले राम्रा चिल्ला प्रस्तर कताबाट ल्याए भन्ने अर्को खुल्दुली जोकसैलाई हुन जान्छ। यहाँनेर कुनै पनि कालको कलाको विशेषतालाई शिल्पी दक्षता, रचना दक्षता वा राजा–महाराजाको सोच वा धर्मले मात्र निर्देशित गर्दैन। त्यहाँ उपलब्ध हुने स्रोत–साधन, भौगोलिक अवस्थाले पनि गहिरो प्रभाव पाछए। यसैले अमूक मूर्तिका विशेषता अलग देखिन्छन्। यसर्थ यी कलाबारे खोज हुनुपर्छ।
कम गरगहनाको प्रयोग र पुड्को शरीर पनि लिच्छविकालीन कलाका विशेषता हुन्। गुजुल्टिएको रौँका साथ फुकेको कपाल, सुडौल बाटुलो मुखाकृति, बाक्लो ओठ, साना आँखा, सानो गर्दन, चेप्टो नाक, ठूलोे मस्तिष्क, छोटा हातपाखुरा, चौडा छाती, मोटो पटुकाले युक्त वेशभूषा आदि विशेषताले किरातकालीन कला भरिएका देखिन्छन्। मंगोलपनको चारित्रिक विशेषता र कल्लीको प्रयोग यो किराती कलाको अर्को मुख्य विशेषता हो।
प्रकाशित: १८ वैशाख २०७८ ०१:५७ शनिबार