मिलन समीर
अचानक
अचानक आयो
भुइँचालोजस्तै केही
र , दिएर गयो हामी भुइँमान्छेहरूको जिन्दगीमा –
एउटा यस्तो झड्का !
जसरी हल्लिन्छ – भुइँचालो आउँदा सिङ्गो धरती
त्यसैगरी हल्लाइदियो – हाम्रो मथिङ्गल !
अचानक आयो
बाढीपहिरोजस्तै केही
र , बगाएर लग्यो हाम्रो जिन्दगीका –
सारा सपनाहरू !
जसरी सिध्याएर लान्छ – बाढीपहिरोले
भेटेजतिको सबैथोक
त्यसैगरी सिध्याइदियो –
हाम्रो जिन्दगीको सर्वस्व !
अचानक आयो
आधीबेहरीजस्तै केही
र , मच्चाएर गयो हाम्रो जिन्दगीमा –
एउटा यस्तो अकल्पनीय हुन्डरी !
जसरी सोहोरिन्छन् –
हुरीबतासलाई पछ्याउँदै
पातपतिङ्गरहरू
त्यसैगरी एकोहोर्याइदियो –
हाम्रो मनमस्तिष्क !
हुरीबतास मिसिएको
एक झोक्का हावाको आगमनसँगै
जसरी अचानक साथ छोड्छन्
एउटा बूढो रुखको – असंख्य पातहरूले
अनि बाकी रहन्छन्
नांगा हाँगासँगै तीखा काँडाहरू !
हो , त्यसैगरी
स्वार्थले अभिप्रेरित भएको
तिम्रो अशुभ आगमनसँगै
अचानक साथ छोडेर गए –
सधैंसधैंका लागि हाम्रो जिन्दगीबाट –
हाम्रा आफ्नै खुशीहरूले !
त्यसपछि ,
बाँकी रह्यो हाम्रो जिन्दगीमा
कर्णालीजस्तै लामो दुखको कथा
कोशीजस्तै ठूलो घाउको असह्य व्यथा
र , गण्डकीजस्तै गहिरो दर्दनाक बीभत्स दृश्य !
अचानक आयो
जेब्राक्रसमा बत्तिएर गुड्ने
सवारी साधनजस्तै केही
र , घिसारेर लग्यो हाम्रो जिन्दगीलाई –
बाटो काट्दै गरेको
पैदल यात्रुलाई जस्तै !
जसरी किचिन्छन् – जेब्राक्रसमा
बाटो काट्दै गरेका पैदल यात्रुहरू
त्यसैगरी किचिएका छन् – अहिलेसम्म
हाम्रा असंख्य जिजीविषाहरू !
यसरी
अचानक हाम्रो अगाडि आउने
त्यो अरू कोही थिएन
बासी विचारको गरौं भारी बोकेर
बकम्फुसे कुतर्क गर्दै हिँड्ने
बासी मान्छे अर्थात्
बालुवाटार र सिंहदरबारमा बस्ने
विवेकहीन भ्रष्ट मान्छेहरूको जमात थियो !
प्रकाशित: १३ वैशाख २०७८ ०९:३९ सोमबार