कला

सेतो डल्लो

बालकथा

उद्धवप्रसाद प्याकुरेल

 

घाम झुल्किए । सबैतिर झलमल्ल उज्यालो भयो । मानिसहरू आफ्नाआफ्ना काममा हिँडे । पशुपन्छी, जीवजन्तु  खानेकुराको खोजी गर्न लागे ।

“आमा आमा, यो सेतो सेतो डल्लो के हो ?  डुङ्न खोज्दा पनि भेटिँदैन । त्यो खान पाए त कति मिठो होला हगि ? “ पानीमा छायाँ परेर तैरिएको सेतो डल्लो देखाउँदै सिल्कनले भन्यो।

‘हो, म पनि सानामा त्यो सेतो डल्लोलाई खानेकुरा सोच्थेँ । खानका लागि निकै प्रयास गर्थेँ । जति प्रयास गरे पनि भेट्टाउन मुस्किल पर्दयो । पछि बल्ल थाहा पाएँ । त्यो त आकाशमा लाग्ने घाम पो रहेछ ।’ आमा डल्फिनले सिल्कनलाई भनी ।

हरेक बिहान घाम झुल्कन्थे । नदीको पानी सफा र कञ्चन थियो । नदीको सफा पानीमा घामको छायाँ  तैरिन्थ्यो । माछाका भुराहरू जम्मा हुन्थे । तँछाड र मछाड गर्दै घामको छायाँ टिप्न खोज्थे । तर घाम टिप्न सक्दैन थिए । वर्षामा ठुलो पानी पर्दथ्यो । खोलामा बाढी आउँथ्यो । पानी धमिलो हुन्थ्यो । माछाहरू कुरमा नै बस्थे । वर्षा कम भएपछि पानी सङ्लिन्थ्यो । अनि माछाहरू कुरबाट बाहिर आउँथे र खानेकुरा खोज्थे । यसरी नै लामो समय बित्थ्यो।

वर्षा सुरु भएको पनि थिएन । पानी परेको पनि थिएन । खोलामा बाढी आएको पनि थिएन । एक दिन अचानक पानी रातो, हरियो, कालो, पहेँलो भएर आयो । पानीभित्र घाम देखिन छाड्यो । पानीभित्र  दिँउसै अँध्यारो भयो । पानी गनाउने भएर आयो । माछाका शरीर चिलाउन थाल्यो । माछालाई रोग लाग्न थाल्यो । माछालाई विपद पर्याे ।

त्यस नदीका असला, काँडे, हिले, झिँगे, सगर माछाहरू भेला भए । भेलामा सबै माछाले त्यो नदीमा नबस्ने सल्लाह गरे । तर यो कुरा सिल्कनले मानेन । सिल्कनले भन्यो, “यहीँ बसेर समस्याको समाधान खोज्नुपर्छ । यहाँबाट भाग्यो भने झनै ठुला समस्या आउन सक्छन् ।”

सिल्कनको कुरा कसैले पत्याएनन् । सबै माछा त्यहाँबाट भागे । सिल्कनका आमा छोरा भने त्यहाँबाट भागेनन् ।  

त्यो नदी गाउँको बिचमा थियो । गाउँका मान्छेहरू त्यहीँ नदीको पानी खान्थे।

सिल्कनले विचार गर्याे, “नदीमा पानी कसरी रंगीन भयो ? नदी कसरी फोहोर भयो होला ? म यो कुरा पत्ता नलगाई छाड्दिन ।” भन्दै ऊ त्यहाँबाट पौडियो । जाँदाजाँदा उसले रंगीन पानी निस्कने मुहान फेला पार्याे ।

“त्यो मुहानबाट कसरी रंगीन पानी आयो  होला ?” उसले खोजीनीति गर्याे । खोजीनीति गर्दागर्दै रंगीन पानी आउनुको रहस्य पत्ता लगायो।

सिल्कन पौडँदै फर्कियो र आमानेर आइपुग्यो । उसले पत्ता लगाएको सबैकुरा आमालाई भन्यो । उसका कुरा सुनेर आमा डल्फिन छक्क परी।

सिल्कनले एउटा जुक्ती निकाल्यो । उसले निकै प्रयास गरेर मानिसको आवाज नक्कल गर्याे । मानिसहरू नदीमा  पानी खान आउँथे । त्यतिबेला सिल्कन र उसकी आमा कुरमा बसेर कुरा गर्थे, “पहिला यो नदीको पानी सफा थियो । गाउँभरिका मानिसले यही नदीको पानी खान्थे । रमाउँदै पौडी खेल्थे । कसैलाई रोग लाग्दैन थियो । अहिले त कारखानाबाट निस्कने विषादी यही पानीमा । घरघरबाट निस्कने ढल यही नदीमा । घरघरबाट निस्कने फोहोर यही नदीमा ।” आमा डल्फिनले भनी।

“हो त नि आमा,  मानिसले नदीमा फोहोर विषादी आफैंले  मिसाए । आफ्नो आयु आफैं घटाउँदै छन् ।” सिल्कनले भन्थ्यो।

जब मानिस नदीमा आउँथे तब उनीहरू यही कुरा गर्दथे । यो कुरा सुनेर मानिसलाई अचम्म लागेको थियो । आवाज सुन्थे तर कसले र कहाँबाट कुरा गरेको हो कसैलाई पत्तो भएन । एकान दुकान मैदान । गाउँभरि हल्ला फैलियो । बुढापाकाहरू भन्न लागे “त्यहाँ देउता छन् । यो कुरा पक्का देवताले नै भनेको हुनुपर्छ । देवताले भनेको कुरा साँचो हुन्छ । अहिले नदीमा रंगीन पानी आउन लागेको छ । त्यो पानी गह्नाउने छ । पक्का यो पानीमा कारखानाबाट निस्कँने विषादी केमिकल मिसाएको छ । यस्तो विषालु पानी खाँदा विरामी परिन्छ । अब सबै गाउँले मिलेर कारखाना मालिकनेर जाउँ । कारखानाबाट निस्कने विषादी नमिसाउन  अनुरोध गरौँ । नदीमा ढल मिसाउन बन्द गरौं । घरघरबाट निस्कने फोहोर नदीमा नमिसाउँ ।” बुढापाका मानिसको कुरामा सबैले हो मा हो मिलाए।

गाउँले सबै कारखानामा गए । कारखानाबाट निस्कने फोहोर विषादी नदीमा मिसाउन बन्द गराए । घरबाट निस्कने ढल नदीमा मिसाउन बन्द गराए । नदीमा फालिएका फोहोर सरसफाइ गरे । नदीमा फोहोर फाल्न नपाइने नियम बनाए।  

नदीको पानी फेरि सफा  हुँदै गयो । त्यहाँबाट भागेका माछाहरू बिस्तारैबिस्तारै फर्कन लागे । बिहान भएपछि नदीको सफा पानीमा सेतो डल्लो फेरि देखिन लाग्यो । माछाका भुराहरू सेतो डल्लोसँग रमाउँदै खेल्न लागे ।

प्रकाशित: १२ वैशाख २०७८ ०७:१८ आइतबार

अक्षर