जीविका अश्रु
पहिचानको आन्दोलनमा
भकाभक गोली खाएर
सन्तान रोएका छन्,
गोर्खा–आमा रोएकी छिन्,
हो,
खोक्रो आडम्बरको खास्टोले
राज्य ढाकिएको बेला
प्रियजनको काया
लाठी र बुटले थिलथिलो भएको बेला,
सरुवा र पद अवन्नतिको डरले
चिन्ताको बादलभित्र लुक्दै
अन्यायलाई पाइतालामुनि दबाएर
प्रकम्पित उज्यालो
नचिहाऊ तिमी।
मलाई आफ्नो भूमि र
पहिचान पाएर उन्मुक्त
उडेको हेर्ने रहर छ तिमी पनि,
बम र बारुदसँग खेल्नै परे पनि
हाम्रै सन्तानको रक्षार्थ
चालौं पाइला,
वीरहरूका सन्तान हौं
निडर र निष्पक्ष बनौं,
अन्यायको जरा खन्नलाई।
हे देशसेवकहरू हो!
उठाऔं क्रान्तिका आवाज !
कति पिल्सिने अन्यायको आगोमा?
आफ्नो भाषाका लागि
आफ्नो पहिचानका लागि,
स्वाभिमानी आस्थाकालागि,
भोलिको उज्यालोका लागि,
माटोका सन्ततिहरूका लागि,
रगतको होली खेल्न तैयार बन।
समयले कोल्टो फेरेको बेला
अनन्त निद्रा निदाउँछौ कति?
तिमी कुम्भकर्ण बनिरहँदासम्म,
डढेलो लागिसक्नेछ,
मनहरूमा आफन्तकै,
तब,
आँखाभरिको आस्था,
सपना खरानी बन्ने छ
त्यसैले,
विवेकको पुकारा सुन,
समयको शंखनादमा
तिम्रो गतिशीलतामा
अब
गोर्खाको मुक्तियुद्धले
विजयको पताका फहराउनुपर्छ।
प्रकाशित: १२ वैशाख २०७८ ०४:२५ आइतबार