कला

फूलहरू

कविता

प्रेम राई परीक्षित

 

फूलहरू यथार्थमा पर्याय हुँदैनन्  

फूलहरू कहिल्यै अजम्बरी हुँदैनन्  

त्यसैले

अजम्बरीहरूका पर्याय फूल हुन सक्तैनन्  

सौन्दर्यको प्रतीक फूलहरू

अजम्बरी सौन्दर्यको पर्याय हुन सक्तैनन्  

फूलहरू फुल्छन्  

मनहरू पगाल्छन्  

तर सधैं ढकमक फुल्नेहरूका लागि

फूलहरू कदापि बिम्ब हुन सक्तैनन्  

फूल मूर्त छ अमूर्तका निम्ति उपहार बन्न सक्छ  

जसले गर्न सक्तैन जीवनको अनुभूति

 

अमरहरूका शिरमा फूल सजिए पनि

अजरहरूका गलामा फूल झुन्डिए पनि

फूलहरू अमर हुन सक्तैनन्  

फूलहरू अजर हुन सक्तैनन्  

 

असिनाले क्षतबिक्षत हुने फूल

घामको तापले लत्रक्क लत्रिने फूल

कसरी हुन सक्छ अमर अनि अजर

मृत सम्भव फूलहरू

कसरी बन्न सक्छ अमरहरूको पर्याय?

क्षणिक सौन्दर्यको पर्याय फूल

सधै बाँचिरहनेहरूका लागि

कसरी बन्न सक्छ उपहार?

अजम्बरीहरूका लागि

कसरी बिम्ब बन्न सक्छ फूल ?

 

उनीहरूको त्याग र बलिदानका लागि

कसरी साँचो उपहार बन्न सक्छ फूल?

मरेर बाँच्नेहरूका लागि

एकमास हाँसेर बाँच्ने फूल

यथार्थमा कसरी पर्याय बन्न सक्छ?

कसरी साँचो बिम्ब बन्न सक्छ फूल?

त्यसैले

मलाई नचढाउनु फूल म मरेर बाँचेका बेला...!

प्रकाशित: १२ वैशाख २०७८ ०१:३५ आइतबार

अक्षर