कला

सत्य प्रेम र मृत्यपत्र

कविता

  सोनाम सज्जन किराती

जीवनमाथि यी दुई ध्रुवको

पिङ नमच्चिने भए

किन जन्मन्थ्यो होला ज्ञान ?

किन रचिन्थ्यो होला इतिहास ?

 

साँच्चै– साँच्चै बिहानीले सिकाएको कुरा

नसुनिने भए किन झथ्र्यो होला रात

र ओरालिँदै निदहरूको सपनाले

किन गाउँथ्यो होला सम्भावनाहरूको गीत

 

र अबेर किन नहोस्

सम्पन्नता किन नहोस् 

समयको भ्रुणमा उभिएर

चेतनाको निखारता संलिएर

 

स्थुल र सूक्ष्म जगतको किन अगुवाइ बन्थ्यो होला ?

किनकि किनार पनि दुई कित्तामा ठडिएका हुन्छन्  

र दृश्य –अदृश्य पनि दुई पक्षमै विभक्त छन्

यो प्रकृति बरु अनेक ऋतुहरूमा बाँडिएर 

फरक देखिएका छन् 

 

यही देखेर तपसिलका दुई पक्ष न बाँडिन मिल्छ 

न एकमा विलय हुन मिल्छ

यही ठाडो प्रश्न मलाई अहंकार बनेर

दबाउन खोज्छ

र मलाई धर्तीको बोझ बनाउन चाहन्छ

तर,

मलाई उसको अस्तित्वसित  

मेरो गुमनाम सपनाहरू साट्नु छैन

किनकि मेरो सपना मेरो अस्तित्व 

दावी गर्ने मसिनोे मियो हुन्

म त्यही मियोको भ्रुण रोपेर  

दुवै जगतको याथार्थ बिन्दुमा

बोझ हो भन्ने सावित गराउन  

यिनै अचुक भूमिकामा उम्रिरहनेछु  

सत्यको पदचापमाझ झाँगिदै  

असल वृक्ष बनी हुर्कने छु

र इतिहास र ज्ञानको खेतीमा  

संधै म कामयावी भएर बाँच्नेछु

हो यिनै यापन मापन बनोस्  

मेरो सिरानीमुनि लेखिएको एउटा मृत्युपत्र

जुन प्रेमपत्रभन्दा सत्य सावित भइरहनेछ  ।

प्रकाशित: ११ वैशाख २०७८ १३:३२ शनिबार

अक्षर