कला

गोपाल सिंह नेपालीको योगदान

अक्षर

'माया के मोहक वन की क्या कहू कहानी परदेशी

भय हैं सुनकर हंस दोगे मेरी नदानी परदेशी’  

उपरोक्त गीतका अमर गायक, गीतकार गोपालसिंह नेपाली (१९११–१९६३) गतिशील गीतकार मात्र नभएर एउटा अविस्मरणीय एवं उदाहरणीय कवि पनि हुन्। उनको काव्यिक अवदानबाट नेपाली साहित्य मात्र होइन, हिन्दी साहित्य पनि समानान्तर र समान रूपमा गौरवान्वित भएको हुन्छ। यी दुइटै भाषामा गीत र कविता रचनामा उनलाई महारत नै हासिल थियो, तर दुःखको कुरो दुइटै भाषा साहित्यको चेपुवामा परेका छन्, गौरवशाली कवि तथा गीतकार गोपालसिंह नेपाली।  

तसर्थ यिनको काव्यात्मक तथा गीतात्मक व्यक्तित्वको विश्लेषण, विवेचन र व्याख्या विस्तार रूपमा हुन सकेको छैन। उनको विराट व्यक्तित्व वटवृक्षजस्तो विशाल र अनन्त उचाइ छुने खालको भए पनि न्यायपूर्ण र निष्पक्ष ढंगबाट अहिलेसम्म हुन सकेको छैन। नेपाली साहित्यभन्दा उनको विशद काव्य व्यक्तित्व र  गीतात्मक गतिशीलताको अध्ययन एवं अनुशीलन तुलनात्मक रूपमा हेर्दा हिन्दी भाषा साहित्यमा अत्यधिक भएको पाइन्छ। हिन्दी साहित्यका सशक्त सक्षम समीक्षकले उनलाई एक स्वरले ‘गीतों का राजकुमार’ भनेका छन्।  

हिमालय पर्वत नेपाल र भारतका साझा संरक्षक हो भन्दा कुनै अतिशयोक्ति नहोला। हिमालय पर्वत, पर्वत मात्र नभएर ‘नगपति विशाल’ हो। यसको आलौकिक सौन्दर्यप्रति संस्कृतका मूर्धन्य कवि त कालिदासको पनि अत्यधिक आशक्ति, अनुराग र आकर्षण थियो, जसको गरिमा मण्डित काव्यात्मक वर्णन उनको काव्यमा सहजै हेर्न सकिन्छ। नेपाली र हिन्दीका अनेक कवि हिमालयको अनुपम सौन्दर्यको गुणगान गरेका छन्। हिन्दीका राष्ट्रकवि रामधारी सिंह दिनकरले हिमालयलाई ‘मेरे नागपति मेरे विशाल’ भनेका छन्। सीमाहीन र बन्धनहीन हिमालय सदियौँदेखि ऋषिमुनिहरूको तपस्थलीका रूपमा विश्वविख्यात छ।  

गोपालसिंह नेपाली हिमालयप्रति आजीवन आशक्त, आकर्षित, अनुरक्त आत्मविभोर थिए भन्ने कुरोको पुष्टि उनीद्वारा रचित निम्न लिखित काव्योक्तिले पुष्टि गर्छन्  ः 

‘जीवन में जब भी गिरा मुझे तो आया याद हिमालय है  

इस सुमिरन ने टूटे मनका झिलमिल कर दिया शिवालय है  

पथ हाथ पकडकर दिखा दिया मञ्जिल तक दीपक  

जला दिया,  

गिरने पर मुझको उठा लिया जिस की आँखों में हिमगिरि है।’  

(प्रतिनिधि राष्ट्रीय कविताएँ पृ. १५२)  

यस्तै उनले अमर काव्य पंक्ति लेखे ‘हिमालय ने पुकारा’, जसमा राष्ट्रियताको भावना पंक्ति–पंक्तिमा प्रस्फुरित भएर उद्घाटित भएको पाइन्छ। गोपालसिंह नेपालीको काव्यात्मक उत्कर्ष जति विशाल एवं विराट छ, उत्ति नै प्रसिद्ध छ, उनको गीतकार व्यक्तित्व पनि। उनी चित्रपट संसारमा पनि चर्चित गीतकारको रूपमा अनुपमेय, उदाहरणीय र अभिनन्दनीय व्यक्तित्वको रूपमा पूजित एवं सम्मानित भएको पाइन्छ। उनले चित्रपट संसारमा जति गीत रचे सबै हिन्दी सिने संगीत संसारमा हिट भएका छन्, तर चित्रपट जगत्मा आशक्त र अनुरक्त हुँदा उनको काव्य प्रतिभालाई ग्रहण नलागेको होइन। उनको कारयित्री प्रतिभालाई संकुचित परिधिमा चर्चा परिचर्चा हुन लाग्यो। हुन त उनी बहुमुखी प्रतिभाका धनी काव्य व्यक्तित्व हुन्। चित्रपट जगत्मा धेरै चर्चित गीतकारमध्ये आफ्नो समयको एउटा चिरस्थायी र चिरनवीन गीतकारका  रूपमा आफ्नो पहिचान स्थापित गर्नमा सबल रूपमा सक्षम भए। उनको लोकप्रिय सिने गीतको एउटा अंश  प्रस्तुत गरिन्छ  ः 

‘भगवान तेरे घर का शृंगार जा रहा है।’  

तर उनी आफैँ नेपाली र हिन्दी साहित्यको ‘शृंगार’ बनेर हामीहरूको बीचबाट विलीन भइसके सधैँका लागि, सदाका लागि, शृंगार विहीनताको स्थितिमा नेपाली र हिन्दी जगतलाई पुर्‍याएर। उनको योगदान हुन त सधैँ स्वर्णाक्षरमा अंकित रहनेछ, यसमा कुनै शंका उपशंका गर्ने ठाउँ छैन। उनले रचेका गीत अमर हुन्, अजर हुन् र हुन् अक्षर (कहिले क्षय नहुने खालका), यस्तो सशक्त हस्ताक्षरको अवसानले नेपाली र हिन्दी साहित्यको अपूरणीय क्षति हुन गएको छ।  

अन्वेषक शिव रेग्मीको कथन यस सन्दर्भमा सही भन्न सकिन्छ, जस्तो ‘यसले गर्दा उनका नेपाली कवितामा ती महान् कवि तथा साहित्यकारको राम्रो प्रभाव पर्नु कुनै अस्वाभाविक भएन। यिनै कारणले गर्दा उनका कवितामा हिन्दी र उर्दूका शब्द अलि बढी प्रयोग र अमिल्दा नेपाली शब्दको प्रयोग भएको देखिन्छ। विशाल हिन्दुस्तानमा नेपाली भएर नेपाल र नेपालीको परिचय दिन सक्षम गोपालसिंहको राष्ट्रिय भावना कम उज्ज्वल छैन।’

गोपालसिंह नेपालीको आविर्भाव प्राचीन चम्पारण्य राज्यको राजधानी बेतियामा ११ अगस्त १९११ मा भएको थियो भने उनको अवसान १९६३, १७ अप्रिलमा मात्र ५२ वर्षको अवस्थामा भएको थियो। उनले लगभग पाँच सय गीत चित्रपटका लागि रचे, आफ्नो जीवनकालमा। उनले स्वघोषणा गरे ‘मेरो धन है स्वाधीन कलम।’ उनले स्वतन्त्रता र स्वाधीनता नपाई नै आफ्नो काव्यात्मक जीवनको साध्य मानेर आजीवन गीत र कविता रचनामा व्यतीत गरे।  

गोपालसिंह नेपाली एउटा मेधावी तर मेहनती साहित्यकारको नाम हो। स्वाध्यायले नै उनले यति विविध विषयको ज्ञान प्राप्त गरे। सम्पादन, कविता, गीत–संगीत, फिल्म निर्देशन चारैतिर उनको प्रतिभाको आलोक फैलिएको पाइन्छ। हिन्दी छायावादोत्तर कविहरूमा उनको अग्रणी स्थान स्थापित छ, जुन सर्वविदित छ। उनले मुम्बई (त्यस बखतका बम्बई) मा निजी फिल्मी स्टुडियो पनि खोलेका थिए। आफ्नो निर्देशनमा तीन–चारवटा फिल्मको निर्माण पनि गर्न पुगे, जसमध्ये नजराना, सनसनी र खुश्बु खुबै ख्यातिप्राप्त फिल्म साबित भए। उनी राष्ट्रवादी कवि थिए।  

राष्ट्रिय भावनाले ओतप्रोत कविता सिर्जनामा पनि उनी सिपालु साबित भए। उनका राष्ट्रिय भावनाको अभिव्यक्ति गर्ने कवितामा ‘मेरा देश वडा गर्विला, हिमालय औ हम’, हिमालय ने पुकारा, स्वतन्त्रताका दीपक र नवीन कल्पना करो आदि प्रसिद्ध कवितामा परित्रणनीय छन्। १९ वर्षको उमेरमा अर्थात् सन् १९३० मा उनीद्वारा रचित ‘भारत गगन के जगमग सितारें’ बालक पत्रिकामा प्रकाशित भयो र धेरै प्रशंसित पनि। हिन्दी उपन्यास सम्राट प्रेमचन्दका शब्द पैँचो लिएर प्रस्तुत गरिन्छ : ‘बरखुरदार कविता क्या मां के पेट सेही सिखकर आए हो।’  

सन् १९३२ मा सम्पन्न द्विवेदी अभिनन्दन समारोह कवि गोष्ठीमा ‘हरी घास’ उनको कविता सर्वश्रेष्ठ घोषित भएको थियो। त्यस्तै, प्रिय दर्शन नारायणका शब्दमा: ‘छायावादोत्तर हिन्दी गीतिकाव्य के उन्नयन एवं विकास में जिन कवियों की भूमिका अहं रही निश्चय ही स्व. गोपालसिंह नेपालीका नाम अग्र पंक्तिमे रहा।’

गोपालसिंह नेपालीको नेपाली साहित्यमा योगदान पनि कम उल्लेखनीय एवं उदाहरणीय होइन। गोपालसिंह नेपालीको विराट हृदयको अनुभूतिको अभिव्यञ्जना हिन्दी र नेपाली दुइटै साहित्यमा निरन्तर रूपमै भइरह्यो। अन्वेषक शिव रेग्मीको कथन यस सन्दर्भमा सही भन्न सकिन्छ, जस्तो ‘यसले गर्दा उनका नेपाली कवितामा ती महान् कवि तथा साहित्यकारको राम्रो प्रभाव पर्नु कुनै अस्वाभाविक भएन। यिनै कारणले गर्दा उनका कवितामा हिन्दी र उर्दूका शब्द अलि बढी प्रयोग र अमिल्दा नेपाली शब्दको प्रयोग  भएको देखिन्छ।  

विशाल हिन्दुस्तानमा नेपाली भएर नेपाल र नेपालीको परिचय दिन सक्षम  गोपालसिंहको राष्ट्रिय भावना कम उज्ज्वल छैन।’ उनीमाथि छायावादी कविहरूको भावाभिव्यञ्जन, प्रकृतिप्रति प्रगाढ प्रेम, नारीप्रति सम्मोहन र अभिव्यञ्जना शैलीको प्रभाव पर्नु सर्वथा स्वाभाविक नै हो।  

उनको गद्य कविताको संकलन ‘कल्पना’ शीर्षक नेपाली भाषा प्रकाशिनी समितिबाट १९९२ सालमा प्रकाशित भएको पाइन्छ। नेपाली काव्य जगत्मा उनी गद्य कविताको प्रवर्तक न भए पनि एउटा परिगणनीय कवि अवश्य हुन्। नेपाली काव्य साहित्यमा पनि उनले प्रकृतिको मनोहारी र मनोरम कवि छटाको छायांकन छताछुल्ल भएको छनक भेटिन्छ। प्रकृतिको सुन्दर सुकोमल पक्षको समायोजन सहज रूपमा हेर्न सकिन्छ, उनका कवितामा। प्रकृतिप्रति सहज मनले समर्पित एवं आकर्षित कवि नेपालीको काव्य रचना संसारमा मानवतावादी स्वरको साथै राष्ट्रवादी स्वर सहजै सुन्न सकिन्छ। उदाहरण स्वरूप प्रस्तुत गरिन्छ, प्रस्तुत काव्यपंक्ति :  

‘म सम्झन्छु तिमीले सम्झे, झन् मेरो मन कस्तो होला,  

तिम्रो मनमा बस्न पाए, हाम्रो जीवन कस्तो होला  

म एक्लै छु तिमी एक्लै छ्यौ, म बेग्लै छु तिमी बेग्लै हौ  

तिम्रो मेरो मन मिल्यो भने, मनको बन्धन कस्तो होला।’

उनको राष्ट्रिय भावनालाई उद्भासित एवं उद्घाटित गर्नमा निम्न लिखित काव्य प्रशंसनीय मान्न सकिन्छ : ‘ढोकालाई नेपाल भन्दैनन्। खुकुरीलाई नेपाल भन्दैनन्।’ उनीद्वारा रचित केही कविता, जस्तोः भ्रान्ति, चित्रकार तथा कल्पना काव्य संग्रहमा संकलित केही शीर्षकहरू विशेष महत्वपूर्ण मानिन्छन्। 

प्रकाशित: ११ वैशाख २०७८ ०३:२६ शनिबार

गोपाल सिंह नेपालीको योगदान