कला

खुशी रोपिँदै छ यहाँ

एकाङ्की

टङ्कबहादुर आले मगर 

 

(जीविकाको व्यस्त समयमा पनि भावनाको प्रसव पीडाले मिठास दिँदो रहेछ चित्त वृत्तिलाई । देख्दै छु  कल्पनाको अँगालोमा हाँसिरहेछ एउटा दृश्य । दृश्यभित्र खण्ड दृश्य सुन्दर कक्ष,  रेशमी पर्दा, गलैँचा ओछ्याएको भुईँ, घुम्ने कुर्सीमा विराजमान एकाकी कुमार ‘प्रस्तोता । उसैका सोझी  छन् सिकर्मीका विछट्टै कला कुँदिएका दुइटा कुर्सी । घुम्ने कुर्सी र कुर्सीका मध्यस्थता गर्ने बाकुलो काँच ओछ्याएको ठूलो टेवल । त्यो माथि सजाइएका फूलदानी, कलमदानी, पेपरवेट आदि । अनि संचारका आधुनिक साधनहरू  । ठूलो वोर्ड झुन्ड्याएको छ संस्थाले उन्नति गरया  प्रतिलिपि र नाराहरू बोकाएर)  

आगन्तुक–(कक्षमा प्रवेश गर्दै) एकाकी सर ! सकजअ है ।  

एकाकी –(हात उठाउँदै) सेम टू यू नाटक सर !  

नाटक –(खाली कुर्सीमा बस्दै) हाम्रो परिकल्पना साकारिलो बन्दै छ हगि ?  

एकाक  –(मन्द हाँस्दै)  हाम्रो अनलाइन विज्ञापनको बल्छीमा एउटी जलपरी परेकी छे ।  

नाटक–दर्शन गरौँ न त हाम्रा भाग्यलाई । धेरै होलान् ऊसँग हाम्रा कामयावका झुप्पाहरू।  

एकाकी–(रिमोट थिच्छ) नेपथ्यमा मधुरो घण्टी बजेको  सुनिन्छ । सुन्दर ठिटीको प्रवेश । ठिटीतिर  इसारा गर्दै  ) यहाँ नै हुनुहुन्छ सुश्री मंचन कुमारी ‘उत्पीडित’ । अनि मंचनज्यू यहाँ हुनुहुन्छ यो संस्थाका रचनाकार श्री नाटकबहादुर ‘उफरमाउला’ ।  

मंचन–(हात जोड्दै) नमस्कार सर !  

नाटक–सकजअ ! आगन्तुक र अग्रजलाई सम्मान गर्ने संस्थाको नयाँ रीत नमस्कार, नमस्ते, दर्शन, प्रणाम, सलाम, जयनेपाल, जय हिमाल, सम्धी ढोग आदिका रीति शैलीसँगै एकलकाँटे लागे पनि हामी चार अक्षरले सम्मान गर्छौँ ।

मंचन–प्रस्तुति नवीन छ । विज्ञापनको शैली उस्तै एकदमै आकर्षक ।  

नाटक–संस्थाका उद्देश्यहरू—परोपकारी लीकमा दगुर्ने रेल हो अशक्तलाई टुङ्गोमा पुरयाउने । यसको परियोजनाभित्र सुन्दर संसार हाँसि रहेको छ।

मंचन–संस्थाको टार्गेट अतुलनीय छ । यसमा सहभागी हुन पाए अहोभाग्य हुन्थ्यो मेरो।  

एकाकी–मंचनज्यू संस्थाकी महिला सदस्यता प्राप्त गरिसक्नु भो । अब कागजी प्रक्रिया मात्रै छन् । छोटो  अन्तर्वार्ता गरौँ, कतिको व्युटीपार्लर धाइन्छ  ?

मंचन–कृतिम सौन्दर्य स्थायित्व हुँदैन।  

नाटक–पट्ठो ठिटोसँग मसाज गराउन कत्तिको मन लाग्छ ?  

मंचन–पर पुरुषले सार्वजनिक स्थलमा सिवाय, टचसम्म गरया छैन । सर ! संस्थाभन्दा बाहिरका भन्न अप्ठ्यारो लाग्ने प्रश्न ?  

एकाकी–प्वालबाट संसार हेर्ने प्रयास गर्छौ । प्रश्न र उत्तरलाई मुछेर निर्क्यौलका  तोर्मा ठहरयाउँछौँ । अनि तोर्मा भित्र रे—की गर्छौ उत्तर दिनेको आचरणलाई । संस्थालाई इन्फेक्सन हुन सक्छ, नकारत्मक सदस्यका चित्र,चरित्रहरू ।  

मंचन–दुर्गामी सोच ।  

नाटक–पैसालाई कसरी बुझ्न हुन्छ ?  

मंचन–पैसा मेरो शरीरको छैटौँ इन्द्रीय हो ।  

एकाकी–तपाईँसँग संस्थाले शारीरिक अंगका लागि भिख माग्यो भने दान दिन सक्नु हुन्छ ?  

नाटक–एकाकी सर के तपाईँ पनि आवश्यक परे संस्थालाई अंग दिनुुहुन्छ ?  

एकाकी–आवश्यक परे तयार छु, अङ्ग दान गर्न । एउटा आँखा दान गरेर पनि अर्कोले त्यति नै देख्न सक्छु । अपसोश अझ सम्म मेरो अङ्गसँग ठ्याक्कै मेलखाने आवश्यकवाला भेटाएको छुइनँ ।    

नाटकः सर मेरो सोच एउटा छ । अङ्ग दानको बदलामा अर्थ प्रदान पनि हुन्छ । यदि हाम्रा अङ्गलाई दान गर्न पाएको भए, शरीर अपाङ्ग, आर्थिक सपाङ्ग भेट्नु हुन्थ्यो हामीलाई हाम्रो मंचनजीले ।

मंचन–(दीर्घ श्वास तान्दै) तपाईँहरूको अन्तर्भावसँग सहमत छु । गाउँको दलाहा व्यक्तिलाई पछि पार्न भाइलाई शिक्षाले सक्षम बनाउनु छ । झुट्टो फरेब रची मेरा बाउआमालाई समाजको अगाडि माफी माग्न र पैतालाको धूलो चाट्न बाध्य बनाएको दृश्य सम्झँदा अझै आगो दन्किन्छ मुटुभित्र । पैसा चाहिन्छ आइपरे जे पनि गर्छु ।  

एकाकी–मंचनजी जस्तै परपीडित सदस्यले नै यो संस्थालाई अगाडि बढाउँछ । हामी पनि शोषित,दलित वर्गकालाई नै संस्थामा सदस्यता दिने प्रयास गछौँ । अब हामी एउटा सर्तनामा गरौँ । ताकि भोलि सदस्यले कुनै किसिमको मनगढन्त आरोप लगाई, संस्थालाई उजुर नहालुन् भन्नको खातिर हो । अनि तपाईंलाई पचास हजार अग्रीम भुक्तान गर्दै छौँ । (त्यही टेवल माथि सर्तनामा कागजमा सही गर्छिन् मंचन । पाँचसय नोटको एक बण्डल पैसा लेडिज व्यागमा राखेर बाहिरिन्छिन् । केही कागजी काम गरेर । एकाकी र नाटक पनि खुशी हुँदै बाहिरिन्छन् ।)  

                     (१)

                  दोस्रो दृश्य मंच

     (अप्रेशन कक्ष । टेवलमाथि चिकित्सकीय समानहरू छन् । भित्ताको आधुनिक यन्त्र मुनि जोल्ठिएका एक जोर पाङ्ग्रे खाट । पूर्वतिरको खाटमा एउटी अन्धी केटी लमतन्न छे । अर्कोमा मंचन टुक्सुक्क बसेर रुँदैछिन् । श्वेत वस्त्र पहिरिएका एक जना डाक्टर भित्रिन्छ । केही क्षणमै टे«मा अप्रेशनका औजार लिएर पस्यो । कम्पाउन्डर)  

मंचन–(डाक्टरलाई हेरेर हात जोड्दै) एकाकी सर आँखा दान गर्न मन मानिरहेको छैन । प्लिज मलाई  छोड्दिनुहोस् ।  

एकाकी–(डाक्टर बन्या) तपाईंको  संस्थासँग गरया एग्रिमेन्ट विपरीत हुँदै छ । पचास हजार साँवा, ब्याज, संस्थाले तपार्इँलाई सक्षम बनाउन गरेको खर्च । यो बेला यी सबै संस्थालाई फिर्ता दिने ल्याकत छ, तपाईँसँग ?  

कम्पोडर–शीर्षकीय चरित्रलाई समूल उखल्ने सपना भू्रण अवस्थामै धोइँदैन ? भुपट्टै अनिकाल परया छ  गाउँमा ।  छर्पटाउ भा’छैनन्, आकाश हेरेर थाकिसकेका छन् मान्छेहरू । त्यसको प्रभाव शहरसम्म पुगिसक्यो ।  

अन्धी केटी–मंचनजी मेरो नाम नायिका ‘विवशी’ । भिक्षा मागेँ मलाई आँखा दान गरेर अन्धकार संसारबाट मुक्ति दिनुहोस् । मलाई जन्माउने आमालाई देखाई दिनोस् । मान्छेको रूप, रङ्ग, डाल, चालका कुरा गर्छन् त्यो कस्तो हुन्छ ? घाम, जुन र तारा छन् रे आकाशमा । यदि देख्न पाए ... । म शून्य छु । साथीहरू भन्छन् म राम्री छुरे, राम्रो नराम्रो के हो ? कल्पना र सपना दिनोस् ।

मंचन–(नायिकालाई निनिमेष हेर्दै) ठीकै छ नायिका मसँग भएको उज्यालो बाडौँ । (डा. एकाकीतिर हेर्दै) । सर ! दाहिनो आँखा झिकेर नायिकालाई प्रत्यारोपन गरी दिनोस् ।

(पर्दा खस्छ । पर्दामाथि विद्युतीय रेखाद्वारा लेखिन्छ—यहाँ खुशी रोपिँदैछ ।)  

                    अन्तिम दृश्य

 

      (फूलै फूलले सजिएको मञ्च । मध्य भागमा राखिएको छ ठूलो कुर्सी । दुईतिर छन् अन्य कुर्सीहरू, बाँसुरीको सुमधुर धुनसँगै लोकसुर गञ्जिरहेछ नेपथ्यमा । मञ्च अगाडि दर्शकहरू खचाखच छन् ।)  

नाटक–(मंचमा प्रवेश गर्दै) दर्शक महानुभावमा संस्थागत स्वीकार्नोस् । (दुवै हात उठाएर) सकजअ ! अब म ती महान् व्यक्तिलाई निम्त्याइरहेछु । उहाँ हुनुहुन्छ सुश्री मञ्चनकुमारी ‘उत्पीडित’ । (टाउकोको दाहिने पाटोदेखि दाहिने हात हुँदै देब्रेतिरको ठुटे खुट्टोसम्म सेतो व्यान्डेजले कसिएकी वैशाखीको चीत्कारसँगै मञ्चनको प्रवेश हुन्छ मञ्चमा । सहारा दिएर मध्यभागको कुर्सीमा राख्यो नाटकले ।)  

एकाकी–(मञ्चमा प्रवेश गर्र्दै) सबैलाई सकजअ ! –मञ्चनतिर इसारा गर्दै) यहाँ नै हुनुहुन्छ उदाहरणका दुर्लभ उदाहरण मंचनजी । जसले आफू अधूरो रहेर अरूलाई पूर्ण बनाउनु भो । अन्यलाई आधा उज्यालो दिएर स्वयं अधूरो भइन् । परचक्रीलाई आगत बाँड्दै जाँदा यादै रहेन आफू विगत भइसकेको। 

नाटक–अब म मंचनजीका अंगहरू बहुशरीरमा विभक्त भई नयाँ जन्म पाउनेहरूलाई आमन्त्रित गर्दैछु । मंचनजीको अंग प्रदान कार्यको पहिलो प्रस्तुति श्रीमती नायिका ‘नायक’ । मंचनजीको आधा उज्यालो पाएर श्रापित जीवनबाट मुक्त हुनु भो । संयोग उद्योगपति नायकका नायिका यानि श्रीमती हुनुहुन्छ । मंचनजीको लीला पतिपत्नी दुवैका शरीरमा मंचनजी समाहित हुनुहुन्छ । गाडी दुर्घटनामा दुवै खुट्टा गुमाएर स्थूल बन्नुभएको नायक ‘सर्वहारा’ जीलाई मंचनजीले देब्रे खुट्टो दिएर वैशाखी टेकेरै हिँड्ने बनाइदिनुभो । आज नायिकाजी श्रीमानका नाम नायकलाई उपनाम बनाउनु भा’छ भने नायकज्यूले पनि श्रीमतीको नाम नायिकालाई उपनाम बनाउनु भा’छ । अतः आउँदै हुनुहुन्छ मायाको ढुकुर जोडी श्रीमती नायिका ‘नायक’ र श्रीमान नायक ‘नायिका’ ज्यू । 

(दुवै पति पत्नीले मंचनजीलाई खादा ओढाई खुट्टो छोएर सम्मान गरे । आकस्मिक मंचनजीले नायिकालाई अनुहार छेउमै बोलाएर आतुरताका साथ आफूले दिएको आँखालाई धेरै पल्ट चुमिन् एउटी हराएकी आमाले नानी भेटेर माया गरेझैँ । अनि  नायकलाई उभ्याउने आफ्नो खुट्टालाई हेरिरहिन् । कुनै समय त्यो खुट्टालाई राम्रो बनानउ दिनभरि माडी रहन्थिन् । नङ् काटेर रातो नङ्पालिसले बेहुली बनाउँथिन् ।  नायकनायिका आआफ्ना कुर्सीमा बस्छन् ।)  

एकाकी–यहाँ हुनुहुन्छ, लेखकराज ‘लेकाली’ यो एकांकी नाटकका लेखक । यहाँको शरीरभित्र निरन्तर सक्रिय छ मंचनजीको मृगौला।  

नाटक– अब हाम्रा आवाजलाई मंचनजीको कर्णद्वारा सुनिरहनुभएको श्री निर्देशक राम ‘अभिनय’ लाई आमन्त्रित गर्द छु र सबैलाई आआफ्ना अतिथि डेस्कमा बसिदिन अनुरोध गर्दै छु।

एकाकी–हाम्रा अन्तिम एकजना महिला मित्र हुनुहुन्छ सुश्री संगीतामाया ‘छायाँकार’ । मञ्चनजीको एक मुठी केश मागेर आफ्नो चिन्डे कपालमा रोपिन् । प्रकृतिको लीला भनौँ कि क चेतनशील मान्छेका कमाल । रोपेको केशहरूले छावा छोड्न थालेपछि उहाँको चिन्डे कपाल अमेरिकन वैज्ञानिकका अनुसन्धान केन्द्र भइदियो । अन्य देशले पनि अनुसन्धान गर्ने सूचना दिइसकेका छन्, हाम्रो देशलाई । र संगीतामाया ‘छायाकार’ ज्यूलाई आफ्नो स्थानमा आशन ग्रहण गर्न अनुरोध गर्दछु  ।  

एकांकी–अब हामीे सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं। 

                               (२)

     (नेपथ्यमा गीत बज्न थाल्छ । मञ्चन लगायत सबै उठेर नाच्न थाल्छन् । गीतको भावना, नृत्यका प्रस्तुति र संगीतको तालले दर्शक वर्गलाई भावविभोर बनायो।

नाटक–मञ्चनजीका अवयवहरू आफ्नो मूल देहलाई सम्मान, जीवनोपार्जन गर्न पचास लाखको चेक र गाडीको चावी समर्पण गर्ने कार्यक्रमम छ । अतः सबै दर्शक वर्गले मञ्चनजीको दीर्घायुका लागि कार्यक्रम भइन्जेल ताली बजाई रहन अनुरोध छ । म निश्चित समयमा धन्यवाद भन्ने छु । अनि ताली नबजाइदिनु होला।  

(बैंकको चेक र गाडीको चावी मञ्चनजीलाई सामूहिक रूपले प्रदान गरे । नेपथ्यमा ताली बजिरह्यो । फोटो सेसन चल्यो । थुप्रै मोबाइलहरू क्लिक भए कुनै रेकर्डिङ प्ले भइरह्यो ।  

नाटक–धन्यवाद ! (नेपथ्यमा ताली बज्न छोड्छ ) तुरुन्तै मंचमा इन्स्पेक्टर देखा प¥यो ।)  

इन्स्पेक्टर–अङ्ग प्रदानले मंचनकुमारी परपीडित हुनुहुन्छ । तपाईँलाई कुनै पनि तरहले अङगदान गर्न प्रेरित गर्ने संस्था वा व्यक्तिमाथि उजुर गर्न सक्नु हुन्छ । अनुसन्धान पनि गछौँ । कानुन तपाईँको पक्षमा उभिने छ । अङ्ग दान गरेर आर्थिक दान लिने संस्कृतिले गरीब वर्गमा नकारात्मक प्रभाव पार्न सक्छ । यसको फाइदा असमाजिक तस्करहरूले मानव अङगको चलखेल गर्न सक्छन् । मञ्चनजी तपाईँलाई आमा बन्ने अभिलाषा छैन ? आफ्नो अनुवंश जोगाउनु हुन्न ?’  

मञ्चन–(मन्द हाँस्दै) मेरा अङ्गदान स्वेच्छाले भएको हो ।  पछुतो छैन अपांग भएकीमा । यतिबेला मेरा भाइ कानुन पढ्दैछ, न्यायको वकालत गर्न । कन्दमुलले छाक टार्ने मेरा बाउआमा योबेला बासमती चामलको सुगन्धमा रमेका छन् । म मरेर मेरो अन्त हुँदैन, थुप्रै परिवारमा मेरा कोशिकाहरू सञ्चालित रहने छन् । आमा बन्ने जन्मसिद्ध अधिकार सुरक्षित छ । निःशुल्क वीर्यदान गर्न तयार छन् महापुरुषहरू । यदि कानुनन् अड्चनहरू आएन भने अर्को वर्ष मेरो क्लोनलाई यहीँ ल्याएर देखाउने छु ।  तर, यसो भन्दा तपाईँहरू मञ्चन नबन्नोस् । पूर्ण जीवनको स्वाद अधूरोमा पाइँदैन । इन्स्पेक्टर सर ! धन्यवाद तपाईँलाई । आवश्यक परयो भने आउने छु, कानुनको परिसरभित्र । अन्तमा यहाँहरू सबैलाई सकजअ !  

(पर्दा खस्छ ।)  

स– समाउने  

क–कमाउने  

ज–जमाउने  

अ–आनन्द गर्ने  

धन्यवाद!  

        ३)

प्रकाशित: १० वैशाख २०७८ ०८:५० शुक्रबार

अक्षर