कला

संगत

कविता

कलानिधि दाहाल

 

छ्यांग

उघ्रेको आकाशमा

नीलो रङ्गसँगै

मुछिएका उषाका

रक्तिम किरण

अस्वीकार गर्न सक्छ क्वै?

 

वासन्ती वयमा

फूलका कुचाले हम्कदै

छरिएका  

एक भूगोल

वास्नाहरू

नाक छोपेर  

पर हटाउन चाहन्छ क्वै ?

 

नागबेली परेर

सम्म फाँट फन्का मार्दै

बहेको हिमनदीबाट

तर्सेर भाग्ने इच्छा गर्छ क्वै ?

 

इन्द्रधनुषी

पटुकी बाँधेर कम्मरमा

सुनगाभासँग  

चुम्बा साट्दै गरेका

सौन्दर्यशील पाखाबाट

पाइताला हटाएर

कन्टेनर यात्रा गर्न खोज्छ क्वै ?

 

निर्मल!

निराधार!!

क्षितिजको अग्लो उचाइबाट

झर्झर

कञ्चन शरीर

फेदीमा

बिनाछानो

टलपल–टलपल

सहस्र तरंग निकालेर

आफूसँग आफैं

एकतमास तरंगिरहेको

तरंगको मन्द मुस्कानबाट

अर्को मुस्कान  

खोज्न दौड्न्छ क्वै ?

 

हरिया पातहरूका साम्राज्य

प्रेमका पिङ्गल प्रणयधारमा

अन्तहीन अनन्तको

मन्द पवन

आत्मस्थ गरेर

सृष्टिको

सभ्य

सुन्दर

सौजन्यराग भर्दै गरेको

निस्पट्ट तर उजेलो

सुनसान  

तर गुञ्जनमय कोलाहल

चिर्विर चरीको

ध्वननशील अन्तर्नाद

ब्रह्मरन्ध्रको

भित्री उघ्रेको कानन गुफाबाट

एकएक निस्केर

उन्माद उफ्रन चाहने

हुन सक्छ क्वै ?

 

ढलपल –ढलपल

शीतका थोपामा

अमृत भरेर

विशाल धरा आफू बन्दै

अलिकति

लाल किरण मुछेर

बच्चासँग खेल्दै गरेको

गरेको कर्कला पातबाट

तर्सेर

अनायास धुलोको

पाउडर पोत्न चाहन्छ क्वै ?

 

लतावेष्ठित

कुञ्जको खोपीमा

मुक्तिका रंग मुछेर

मौलिक गीत ‘कुहु’का

संगीतमा

पखेटा फट्फटाइरहेका

क्वैलीका आवाजबाट झस्केर

मनमुटु नै हल्लिने

मन्दिरको शंखघण्ट

र चर्चको गीतार  

सुन्न खोज्छ क्वै ?

 

उघ्रेको  

आकाश तन हो

नीलो रंग मुछिएको किरण

मन हो

वासन्ती वन

तन हो

परागभित्रको रहस्य

मन हो

पहराको सुनगाभा

संघर्ष हो

–वासना

–यश

–कीर्ति

भर्दै÷छर्दै

स्वतन्त्र यात्रा

निरपेक्ष यात्रा

निर्विकार यात्रा

निर्वैयक्तिक यात्रा

निरन्तर

अनन्त हिँड्न सरेका

पाइतालाका डोबहरू हुन्

संगत

आफैमा छ्याङ्ग उघ्रेको

आकाश हो

र किरणहरू

सुकिला मान्छेका  

शरीर हुन्

शीतको थोपो

पवित्र मान्छेको मन हो

संगतदार यिनै

सप्तरंगी इन्द्रेनी मनका

–लहरहरू हुन्

–जमातहरू हुन्

–उन्नत यस्ताका शिविर हुन्

र शीतल छहारीका

–मान्छेका मनहरू हुन्

–तनहरू हुन्!

प्रकाशित: १० वैशाख २०७८ ०२:२५ शुक्रबार

अक्षर