कला

नयाँ वर्षको यात्रा

नियात्रा

   वियोगी  बुढाथोकी 

जिन्दगी छोटो छ थाहा छ । छोटो जिन्दगीले लामो यात्रा रोज्न खोज्छ। नयाँनयाँ ठाउँमा पुग्न खोज्छ। प्रायःलाई नयाँ र नौलो अनुभव र अनुभूति बटुल्ने भोक जगाउँछ। सोहीमध्येको एउटा यायावर मनका इच्छाको भोक लागिरहनेमध्ये आफूलाई पनि एकमा गणना गर्ने गरिएको छ। नयाँ र नौलो भन्दाभन्दै प्रत्येक वर्ष पुरानै बाटो हिँड्ने गरेको पनि केही दशक बितिसकेको अवस्था हो। तर पनि कागजमा लिपिबद्ध गरिएन । किन गरिएन थाहा छैन। 

०७७ सालमा भने कोरोनाको कहरले बाटो छेक्यो। मन्दिरहरूका ढोका बन्द गरिए। भगवानसमेत थुनिए। ढोकामा भोटे ताल्चाले पहरेदारको काम पायो। यस्तो अवस्थामा मनुष्यले घरभित्रै बन्दाबन्दीको अवस्था झेल्नुपरयो। सामाजिक चेतना र धार्मिक आस्था पलाएको दिनदेखि नै चैत मसान्तको साँझबाट  हात्तीगौंडा, बूढानीलकण्ठ, वाग्द्धार, नाप्दै नयाँ वर्षको उज्यालो भेट्दा डाँडागाउँ पुग्नु अगावैको विष्णु पादुका वा सोही आसपासको ओरालोमा घिस्रिदै भष्मथली, चण्डेश्वरी, सपनतीर्थ, टोखा, साङ्ला हुँदै फुटुङ पुगेर  नयाँ वर्ष मनाउने गरिएको हो। 

चढ्दो उमेरको कुनै समय लगातार चैत मसान्तको साँझबाट यात्रा नापिन्थ्यो। रातरातभर हिँडिन्थ्यो। तर, त्यतिखेरको आँट र त्यो समय, अवस्था र परिस्थिति कहाँ पुग्यो! कहाँ हरायो! कसले खोस्यो ! समय मौन छ। चूपचाप किन बस्छ वर्तमान वाग्द्धारमा पुग्नका लागि ठाडै उकालो उक्लिनुपथ्र्यो। सजिलोका लागि सहायताका लागि लौरोले साथ दिन्थ्यो। एकजना बनपालेको भरमा शिवपुरीको जंगलको हेरचाह हुन्थ्यो। अहिलेसमय परिवर्तन भएर शिवपुरी निकुञ्ज भएको छ । शाही नेपाली सेनाको ठूलै जत्था पहरेदारको रूपमा तैनाथमा रहेका छन्। सहाराको रूपमा प्रयोग गरिएको लौरो (लट्ठी) वाग्द्धार, शिवपुरीको शिखर हुँदै विष्णुपादुकाको ओरालोमा घस्रिदै चण्डेश्वरी भगवतीको मन्दिरमा दर्शन गरेर सपन तीर्थमा नुहाएर झन्डै चौबीस घण्टाको यात्रापछि नयाँ वर्षको दिन भक्तपुरमा आयोजना गरिने बिस्केट जात्रामा लगेर चढाउँदा मनोकांक्षापूर्ण हुने विश्वास गरिन्थ्यो । त्यो विश्वास, त्यो धारणा कहिलेदेखि थला परयो खै!  

     प्रस्थान – 

     घाम झुल्किनुअगावै शिवपुरी सन्देश निवास, हात्तीगौैंडाबाट वैशाख १ गते बुधवारको दिन यात्रा नापियो । प्रायः जसो हात्तीगौंडा निवासबाट बूढानीकण्ठसम्म बिहानको हिँडाइलाई छुट्याएका कारण बानी पर्नुको अर्थमा हुनुपर्छ त्यति धेरै हिँडेजस्तो थकान लाग्दैन, लागेन । थकाइको ‘थ’ कहाँ वास बस्यो कुन्नि  भेउ पाइएन । बूढानीलकण्ठबाट चल्ने यातायातको साधनको सहायता लिइएन । कारण थियो हिँड्ने प्रबल इच्छा नै हो । वर्षको पहिलो दिन हिँडेमा वर्षैभरि हिँडेर स्वास्थ्यलाई ठीकठाक राख्न सकिन्छ भन्ने विश्वास पनि हो । सडक पेटीमा उभिएको देख्नासाथ गाडीहरू भाडा असुल्ने आँखाले हेर्थे । सहचालक जाने हो बा, काका वा हजुर भनेर फकाउँथ्यो । थाहा छ गाडीमा चढ्नेबित्तिकै त्यो आदरार्थी शब्द गौण हुन्छ र कर्कश आवाजको सामना नचाहेर पनि गर्नै पर्छ । अनुभव हुँडुलिएर आयो । तथापि कसैलाई केही नभनेरै लखरलखर हिँडियो। 

            गरियो परिक्रमा –

बूढानीलकण्ठ मन्दिरभित्र प्रवेश गरेपछि अपरिचितको लर्कोमा केही परिचितहरू भेटिनु आफू स्थानीय भएका कारण अनौठो मान्न सकिँदैन । त्यस्तै भयो । मन्दिर पुगेको प्रमाणस्वरूप एकल रूपमा मोवाइलमा तस्बीर कैद गर्न खोज्दा सँगै थपिए राजु अधिकारी र मुना अधिकारी अर्थात् दम्पती । अर्का थिए कमलबहादुर थापा । कतिपयलाई नयाँ वर्षको शुभकामना भन्दै हिँडियो । कालो चस्मा र माक्सका कारण पनि कतिपयले चिन्न नसक्नु स्वाभाविकै हो । त्यो अवस्था त्यता मात्रै नभएर यता पनि अर्थात् दोहोरै मर्का हो भन्दा फरक पर्दैन । एक्लै मनमा खै केके कुराहरू खेलाउँदै जाँदा विहानको ७ः३० मा छाप टुसालको उकालो उक्लिन पुगियो । उमेरले उकालो उक्लिन सहयोगी भूमिका निर्वाह गर्न छाडेको हो कि भन्ने अनुभूत गरायो । जमाना थियो सल्लोको सुसाइले स्वागत गर्दाको कताकता रोमान्चक हुन पुगिन्थ्यो । कहाँ गए ती सल्लोको सुसाइ ! कंक्रिटको जंगल निर्माण गर्ने क्रममा ओरालो होस् कि भिरालो ठाउँ नै किन नहोस् जग्गा टुक्राटुक्रा पारेर बगडेले मासु भाग लगाएझैंको अवस्थामा पुर्‍याइएका छन् खेतीयोग्य भीरबारी र पाखोबारी 

               नामाकरण भएछन् –  

     स्थानीयहरू पलायन हुँदै जानुको अर्थमा अन्यत्रकाहरूको प्रवेश हुनु नै हो । अन्यत्रजस्तै यहाँ पनि यस्तै भएछन् । पुरानो नामलाई विस्थापित गर्दै आफू अनुकूलको नामाकरण गर्ने सिलसिलामा जताततै अस्वस्थ प्रतिस्पर्धा बढ्दो छ । सोही अनुसार देखिए २०३७ सालमा स्थापना भएको श्रीपञ्चकन्या माविबाहेक स्वर्गद्धारी कोलोनी, बाइदोङ, नमुना बस्ती, घुम्ती खाजा घरलगायत । तथापि पहिलापहिला हिँड्नै कठिन धुवाँ र धुले सडक भने संघीयताको उपलब्धिपछि कालोपत्रेमा रूपान्तरण भएका कारण हिँड्न सजिलो भने भए छ । बुझ्नुस् भस्मथलीको अनुहार फेरिएछ । खर, टायल र जस्तापाताले सिंगारिएका घरहरू विस्थापित भएर आधुनिक बंगला र बंगलामा निजी गाडीले स्थान सुरक्षित गरिसकेको अवस्था । तर दुर्भाग्य प्रायः सबै जसो भेटिएका अनुहारहरू अपरिचित अर्थात् नूतन नयाँ र नौला । उनीहरूको नजरमा हामी नै नवीन र नौला ठहरिने कहालीलाग्दो अवस्था । मनमा अनेक कुरा केलाउँदै र खेलाउँदै जाँदा पुगिएछ चण्डेश्वरी। 

                   सम्झिएँ तर भेटिएनन् – 

             भस्मथलीलाई जन्मथलो र कर्मथलो बनाउने साहित्यकार भाइहरू धु्रव खनाल र श्याम संकल्पको बसाइँ त्यतै हो । भेटिन्छन् कि भन्ने आश थियो तर भेटिएनन् । उनीहरूको नयाँ बनेका निर्जीव घरले ट्वाँ परेर हेरयो मात्र । मोबाइलबाट सम्पर्क गर्ने योजना पनि असफल भएका कारण भेटिएनन् । केही रमाइलो गर्ने क्षण आफैबाट समयले हरण गरयो । केही पश्चाताप बोकेर ओरालो ओर्लिएँ । नव वर्षको पहिलो दिन वर्षभरिलाई पुग्ने शुभकामना दिन नपाएकोमा लागेको थकथकलाई साथमै गुम्स्याएँ मैले। 

                चण्डेश्वरीलाई भनिन्छ –

टोखा चण्डेश्वरी र टोखा सरस्वतीलाई मात्रै चिनाउने व्यक्तिको नाम होइन गजराज जोशी । उनी देशकै लागि खेलकुदको परिचित नाम हो । देशको गौरव हो । उनै गौरवले आफू चण्डेश्वरी निर्माण समितिको संयोजक भएर निर्माण गरेका हुन् कालीमाता । चण्डेश्वरी त्यही गौरवशाली नाम हो । काठमाडौं जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित टोखा चण्डेश्वरी राष्ट्रिय निकुन्जसँग जोडिएको प्रसिद्ध धार्मिकस्थल हो । स्वस्थानीवास डाँडा गाउँको फेदमा अवस्थित भएकाले प्राचीनकालको कथन, सत्ययुगको कथामा आधारित, स्वस्थानी कथामा चर्चित स्थान हो । दक्ष प्रजापतिले अश्वमेध यज्ञ गरेको स्थल र श्री माता भगवतीले राक्षसलाई सम्हार गरेको आदि जनश्रुति रहेको छ । किंवदन्ती नै किन नहोस् हाम्रो संस्कारको बलियो आधार हो । सोही सिलसिलामा उक्त यज्ञमा समस्त देवगण, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा, दैत्य, नन्दीभृङ्गी जम्मा भएका थिए स्वस्थानीमा हामीले पढेकै र बर्सेनि वाचन गरिएकै हो।  

               ४ दिनसम्म चल्छ – 

       प्रत्येक नववर्षको अवसरमा टोखाको सपनतीर्थमा नुहाउन हजारौं भक्तजनको घुइँचो लाग्छ । गाउँ विकास समितिबाट टोखा नगरपालिकाको न्वारन गर्नु अगावै झोर महांकाल, चण्डेश्वरी, सरस्वती, धापासी लगायतका गाविसहरू मिलेर बनेको टोखा नगरपालिकामा वैशाख १ गतेदेखि ऐ. ४ गतेसम्म टोखामा विस्केट र रथजात्रा मनाइन्छ । चाकुका लागि प्रसिद्ध शहरको नाम हो टोखा । अहिले पन्चायत, गाविस हुँदै नगरपालिकामा रूपान्तरण भएपछि पुरानो मूल्य र मान्यता पनि हराउँदै गएका छन् । खेतीयोग्य र प्रशस्त मात्रामा धान, गहुँ, जौ, आलु, मकै, कोदो लगायतको अनाज उत्पादन हुने जमिन कंक्रिटको जंगलमा रूपान्तरण भएको छ । स्थानीयवासीहरू विस्थापित भएका छन् । जमानामा भूतखेलचौरबाट साङ्लासम्म जाने गोरेटो बाटोसम्म थिएन । खेतका आलीकान्लामा टेकेर साङ्लासम्म पुग्नुपथ्र्यो । पूरै कहिले हरियाली त कहिले पहेँलपुर र हराभरा देखिने जमिन अब एकादेशको कथा भएको छ । खर्पन हराएको छ । चाकु उत्पादन स्वात्तै घटेको छ । पहिलाको तुलनामा यहाँ सपनतीर्थ, चण्डेश्वरी, विभिन्न चाडपर्व र कार्तिक पूर्णिमाको दिनमा पनि एक दिन चण्डेश्वरी र मुस्खारेश्वर महादेवको पूजाअर्चना गर्ने चलन छँदै छ । बरु यो मामलामा पहिलाको तुलनामा हालका वर्षहरूमा सिंगो दुई वटा गाउँबाट मात्र नभएर टोलटोलबाट आफ्नो पहिचान बोकेको नेवारी पोशाकमा विभिन्न बाजागाजाका साथ पर्वहरू मनाउने गरिन्छ । यसलाई भने जो कसैले पनि स्वागत योग्य मान्नै पर्छ । आफ्नो धर्म, संस्कृति र संस्कार जोगाउनु मानवको कर्तव्य हो ।  

         टेकियो भत्केको पुल –  

 मनमा अनेक कुरा खेलाउँदै र नालीबाट निस्केको गन्धले नाक छोप्दै जाँदा केही हराएर केही पाएझैं भत्केको पुलछेउ पुगिए छ । पुगिएको मात्रै होइन अपरिचित मेघा सिटी समुदाय, सरस्वती साङ्लाले स्वागत गरिसकेको रहेछ । एउटा अचम्म विष्णुमतिदेखि नै देखिएका प्रायः नयाँ र नौला घर, बस्ती र समुदाय सबैसबै दायाँ पर्नु पनि एक किसिमको संयोग नै पो हो कि बुझ्न सकिएन । बूढानीलकण्ठ नगरपालिकाबाट थालिएको नववर्षको यात्रा सिंगो टोखा नगरपालिका नापेर तारकेश्वर नगरपालिकाको वडा नं. ७, नयाँ पुल (सुन्दर थापा गाउँ) ले स्वागत गरेको रहेछ पत्तै भएन । नहुनुको कारण थियो त्यो जमानाको चोखो र निश्चल अनि फराकिलो साङ्ला खोला दोहनका कारण खुम्चिएर सानो मात्रै होइन प्रदूषित पानी बगेका कारण रहेछ । त्यतै ठडिएछन् संगम फाँट टोल सुधार समिति र नजिकै रहेछ सूर्योदय आवास टोल विकास संस्था।

यसरी हात्तीगौंडाबाट थालिएको नव वर्षको पहिलो दिनको यात्रा मध्यान्ह समयलाई टेक्नु अगवै फुटुङको दैलो उघार्न पुगिएछ। थाकेको शरीरलाई विश्राम दिनु अगावै आफू हिँड्दै आएको बाटो, धार्मिकस्थल भेटिएका वा नभेटिएका सबै सबैलाई यो कोरोनाको कहरबाट मुक्त राख्न नयाँ वर्ष सफल होस् भन्ने कामना गर्दै गर्दा कतिखेर पो दिउँसै सपना देख्न पुगिएछ। अस्तु।

प्रकाशित: १० वैशाख २०७८ ०१:५९ शुक्रबार

अक्षर