कला

घमन्ड

कविता

देविश अर्याल 

यहाँ घमन्ड केही गर्नु छैन  

एक सेकन्ड, एक मिनेट, एक दिनमा  

सिद्धिन्छन् पूरै दिनहरू  

यात्रा बाटो, उद्देश्य लामो छोटो मात्र न हो  

सबैलाई जानु छ्,  

राजा–फकिर, धनी–गरीब, दुखी–सुखी

सबैलाई जानु छ  

खरानी भएर, माटो भएर, त्यही बाटो भएर  

पैसा र चामलहरू छर्दै,

धोत्रे सिमलको नजिक,

ढुंगामाटो, पानीबालुवा र बगरमा  

अन्तिम खाट बिस्तारा र चिता र दाउरामाथि सिद्धिनु छ  

विभूति धनसम्पत्ति भएर तिमी घमन्ड

पैसा, बैंस, शक्ति, जवानी, मोज र मस्ती किन गर्छौ ?  

वास्तविक फिलिम हेर

बुद्धले जस्तै बचपन, जवानी र बुढ्यौलीहरू,

सुहागरातमा निकालिएका कपडा र गहनाजस्तै

निस्किनेछन् एकदिन तिम्रा ज्ञानेन्द्रिय र इन्द्रियहरू

एक गाँस खान,  एक सास फेर्न  

आउनेछ एक पाइलो हिँड्न पनि गाह्रो हुने समय  

तिम्रो आकाशभन्दा ठूलो, समुन्द्रभन्दा गहिरा सपनाहरू,

चन्द्रसूर्य भेटाऊन्, मोती खोज्न खोज्दाखोज्दै,  

अधूरो छोडेर जानु छ  

सेता कपडा र हरिया बाँसहरूसँग  

आफ्न्तहरूले रुँदै,  

साथीहरूले मेटाएर फर्किनेछ्न घाटबाट

सँगै बाँच्दा, खेल्दा, हाँसेर रोएका क्षणहरू सम्झेर  

तिमीले के गर्यौ, के छोड्यौ,

पार्टीपौवा, मन्दिर विचार र स्कुलहरू  

या घरभित्र सजिएका छन्, गहना, मालसमान र बैंकमा पैसाहरू

केका लागि घमन्ड गर्छौ ?  

जिन्दगी,

हेर्दाहेर्दै, हिँड्दाहिँड्दै,  

खेल्दाखेल्दै, बोल्दाबोल्दै

कपालहरू फुलेर, आँखाहरू पुरिएर,

छालाहरू चाउरिएर, हातहरू कामेर

जिन्दगीहरू सिद्धिन्छ्,

जिन्दगी खेल न हो,  

कतिबेला कहाँ कसरी सिद्धिन्छ्,  

कसैलाई थाहा छैन  

पानीको फोकाजस्तै हिजोको मान्छे आज छैन,  

आजको भोलि छैन, भोलिको पर्सि नहुन पनि सक्छ्,  

त्यसैले नगर घमन्ड,  

अन्त्यमा सबै खरानी भएर, माटो भएर

त्यहीँ बाटो जानु छ।

प्रकाशित: ८ वैशाख २०७८ ०३:०२ बुधबार

अक्षर