कला

सुगन्ध छर्ने कस्तुरी मरेपछि दुर्गन्धित सिनो बन्दोरहेछ,

मुक्तक

–प्रकाश घायल

१)

एउटा साथीको  प्रगतिमा  जल्ने पनि साथी हुन्छ र,

मेहनत  अर्काको  फल मेरो भन्ने पनि साथी हुन्छ र।

अगाडि बेजोडसँग शब्दशब्दमा तारिफ गर्दागर्दै ,

प्रशंसाको खोल ओडेर छुरा धस्ने पनि साथी हुन्छ र?

 २)

कतिपय कुरा जितेर पनि हार्नुपर्छ,

आइपर्ने चुनौतीलाई अस्विकार्नुपर्छ।

मित्रताको महा–सागरमा पौडी खेल्दा,

केहीलाई वर केहीलाई पर सार्नुपर्छ ।

३)

कहिले हँसाउछ्न् कहिले धुरुधुरु रुवाउँछन्,

विश्वास कपडाझैं निचोरेर घाममा सुकाउँछ्न्।

घायल मनलाई पटकपटक नचलाए हुन्थ्यो नि,

दुख्छ भो भन्दाभन्दै झन् साह्रो पो दुखाउँछ्न्।

४)

उहाँ त मेरो आत्मीय मित्रमा  पर्नुहुन्छ,

झुठ र भ्रमको खेतीपाती खुब गर्नुहुन्छ।

क्षणिक  प्रशंसाको  ओइरो  लगाउँदै,

ऐन मौकामा चौका हान्न अघि सर्नुहुन्छ।

     ५)

सुगन्ध छर्ने कस्तुरी मरेपछि दुर्गन्धित सिनो बन्दोरहेछ,

मिलनमा महझैं  गुलियो बिछोडमा अमिलो बन्दोरहेछ।

भुंग्रोको माछाझैं छट्पटिएर रात काट्न मुस्किल भो ,

आधा–रातमा बिउँझिदा आखिरमा रात अनिदो बन्दोरहेछ।

प्रकाशित: ८ वैशाख २०७८ ०२:०० बुधबार

अक्षर